
काठमाडौं । इरानले होर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ ।
इरानले स्वीकृत समुद्री मार्गभन्दा बाहिर सञ्चालन भएको एक जहाजलाई रोकेर कारबाही गरिएको दाबी गरेको छ । इरानले अमेरिकी हस्तक्षेप कायम रहेसम्म जलमार्ग बन्द रहने आइतबार जनाएको हो ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सको नौसेनाले जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षा जोखिममा पार्ने उद्देश्यले आफ्नो ट्रयाकिङ प्रणाली बन्द गरेको एक जहाजलाई नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । यद्यपि, उक्त जहाजको परिचय सार्वजनिक गरिएको छैन ।
आईआरजीसीका अनुसार, केही जहाजहरूले स्वीकृत मार्गको सट्टा अनधिकृत मार्ग प्रयोग गरेर जलमार्ग पार गर्ने प्रयास गरेका थिए । चेतावनी दिँदा समेत ती जहाजहरूले मार्ग परिवर्तन नगरेपछि कारबाही गरिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यदि थप आक्रमण भए क्षेत्रमा रहेका शत्रु पक्षका नयाँ सैन्य अड्डाहरूलाई पनि निसाना बनाइनेछ ।”



