
सन्दर्भ :२१३ औँ भानु जयन्ती
आदिकविको सम्झनामा केही शब्दहरु
राजीव श्रेष्ठ
भानुभक्त आचार्य नेपाली साहित्य आकाशका एक उज्यालो ताराका रूपमा चिनिन्छन्। उनी नेपाली भाषा र साहित्यप्रति समर्पित, सिर्जनशील र ऐतिहासिक व्यक्तित्व हुन्, जसले नेपाली साहित्यमा क्रान्तिकारी योगदान पुऱ्याए । विशेषगरी आषाढ २९ गते मनाइने उनको जन्मजयन्ती हामी सबै नेपाली साहित्यानुरागीका लागि गौरवजन्य अवसर हो ।
वि.सं. १८७१ मा तनहुँको रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्मरामायण’, ‘भक्तमाला’, ‘प्रश्नोत्तरी’, ‘वधुशिक्षा’ र ‘रामलिला’ जस्ता विशिष्ट रचनाहरू लेखे । उनको मौलिक तथा अनूदित कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । उनले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई नेपालीमा भावानुवाद गरेर आम् जनमानससम्म पुऱ्याए । यस कार्यले उनलाई नेपाली भाषामा भाषिक एकीकरण गर्ने व्यक्ति बनाएको छ ।
भानुभक्तले आफ्नो जीवनमा देखेका सामान्य घटनालाई असाधारण भावका कवितामा ढाल्ने अद्भूत क्षमता राख्थे । एउटा उदाहरणस्वरूप, आफ्ना मित्र गजाधर सोतिको घरमा बास माग्दा गजाधरकी पत्नीले अस्वीकार गरेको प्रसंगलाई उनले ‘गजाधर सोतिकी घरबुढी अल्छिनीकी रहिछिन’ भन्ने सन्देशमूलक कवितामार्फत प्रस्तुत गरेका थिए ।

उनी सुरुमा पेसागत कवि थिएनन् बरु भानुभक्त पेसाले सरकारी कर्मचारी थिए र सुरुमा कवि बन्ने उनको कुनै योजना पनि थिएन। मृत्युपछि पनि मानिसहरूले आफूलाई सम्झिरहून् भन्ने उद्देश्यले सार्वजनिक इनार खन्न चाहने एक सामान्य र विपन्न घाँस काट्ने मानिससँगको कुराकानीबाट उनी लेखनतर्फ प्रेरित भए। ती घाँस काट्ने मानिसको त्यो उच्च अभिलाषाले भानुभक्तलाई लज्जित तुल्यायो; एक शिक्षित व्यक्ति भएर पनि आफूले समाजमा कुनै उल्लेखनीय छाप छोड्न नसकेको महसुस उनले गरे अनि विविध कृतिहरू लेखे । यद्यपि उनको जीवन एक शान्त सार्वजनिक व्यक्तित्वको रूपमा चित्रित छ, तर उनको सबैभन्दा प्रसिद्ध कृति कुमारीचोक जेलमा बन्द हुँदा लेखिएको थियो। सरकारी कर र कोष कागजातहरूमा भएको गल्तीका कारण उनलाई गलत तरिकाले कैद गरिएको थियो।
कारागारमा रहँदा, उनको कानुनी मुद्दा निरन्तर ढिलाइ भइरहेको थियो, र उनको स्वास्थ्य बिग्रिएको थियो। पूर्ण निराशामा, उनले तत्कालीन प्रधानमन्त्रीलाई पूरै कविताको रूपमा निवेदन लेखे। कविताले सफलतापूर्वक उनको रिहाइ सुनिश्चित गर्यो र उनलाई सरकारबाट आर्थिक इनाम समेत प्राप्त भयो।
माथि उलिखित अत्यन्त नीजात्मक कारणले गर्दा साहित्यतर्फ होमिएका भएतापनि उनको कदम नेपाली साहित्यका निमित कोशेढुँगा साबित भएको छ ।
आजभन्दा २१३ वर्ष अगाडि जन्मिएका भानुभक्तको समयमा साहित्य रचना गर्नु चान्चुने कुरो थिएन । क्रूर शासकको रुचिमा भर परीकन लेख्न सक्नु तारिफकै विषय हो, त्यही भएर भानुप्रति श्रद्दा अर्पण गर्नु भनेको नेपाली साहित्य प्रति नै उदार हुनु हो।


