
काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि प्रत्यक्ष कार्यकारी निर्वाचित उपयुक्त नहुने बताएकी छन् ।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा राजधानीमा आइतबार आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
संविधान संशोधनको विषय उठान गर्दै उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’
‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन्, ‘तथापि जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् ।
उनले बदलिँदो पुस्ताको आकांक्षाबारे कम्युनिस्ट आन्दोलनले समयानुकूल निरन्तर परिस्कृत गर्नुपर्ने महसुस भएको बताइन्। ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ,’ उनले भनिन्, ‘बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपुर्छ ।विगतको उपलब्धिको स्मृरणमात्रै पर्याप्त हुँदैन ।’
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली,प्रचण्ड,माधव नेपाल र झलनाथ खनालले समेत आफ्नो विचार राखेका थिए ।