
काठमाडौँ । कुरासाओले आफ्नो इतिहासमै पहिलो पटक विश्वकपमा अंक जोड्दै ठूलो उपलब्धि हासिल गरेको छ । समूह ई अन्तर्गत भएको खेलमा इक्वेडरको लगातार आक्रमण रोक्दै कुरासाओ बराबरीमा रोक्न सफल भयो ।
कुरासाओको जितसरहको यो बराबरीमा मुख्य नायक गोलकिपर एलोय रूम रहे । उनले उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ वटा बचाउ गरे र विश्वकप इतिहासमै एक खेलमा सबैभन्दा धेरै बचाउ गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान अमेरिकाका गोलकिपर टिम हावर्डको नाममा थियो । खेलको सुरुवातमै इक्वेडरले दबाब बनाएको थियो । तेस्रो मिनेटमै एनर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रूमले रोकेका थिए । त्यसपछि पनि उनले जोन येबोआह र भ्यालेन्सियाका थप प्रयास असफल बनाए ।
पहिलो हाफमा मात्र उनले ६ वटा महत्वपूर्ण बचाउ गरेका थिए । दोस्रो हाफमा पनि इक्वेडरले लगातार आक्रमण गरिरहँदा मोइसेस काइसिडो, पेड्रो भिटे, केभिन रोड्रिगेज, निल्सन एङ्गुलो र गोन्जालो प्लाटाका प्रयासहरू पनि रूमले रोकेका थिए ।
कुरासाओले पनि बीचबीचमा मौका पाएको थियो । एक घण्टा नजिक पुग्दा लेआन्ड्रो बाकुनाको प्रहार इक्वेडरका गोलकिपरले बचाए भने लिभियाना कोमेनेन्सियाको अर्को प्रयास पनि सफल हुन सकेन । इक्वेडरले कुल २७ पटक प्रहार गरे पनि गोल गर्न सकेन । अब समूह चरणको अन्तिम खेलमा जर्मनीलाई हराउन सके मात्रै उसले नकआउट चरणमा पुग्ने सम्भावना जिवित रहन्छ । अर्कोतर्फ, पहिलो खेलमा जर्मनीसँग ७-१ ले पराजित भएको कुरासाओले अब आइभरी कोस्टलाई हराएमा अन्तिम ३२ मा पुग्ने सम्भावना कायम रहनेछ ।

