
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीबीच द्विपक्षीय वार्ता भएको छ । वार्तामा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षबारे विस्तृत छलफल भएको बेइजीङस्थित नेपाली दुताबासले जनाएको छ ।
भेटवार्तामा दुवै पक्षले मित्रता, सद्भाव र सहकार्यमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका छन् ।
नेपाल पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको छ भने चीन पक्षले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दै सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा पूर्ण सहयोग रहने आश्वासन दिएको छ ।
दुवै पक्षले आपसी सम्मान र प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा समझदारीका आधारमा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेको दुताबासले उल्लेख गरेको छ । यसमा पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलकरण, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्र समेटिएका छन् ।
यसअघि भएका सहमति तथा कार्यक्रमहरूको छिटो कार्यान्वयनमा दुवै पक्षले जोड दिदै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा सहकार्य थप विस्तार गर्ने विषयमा पनि सहमति भएको दुताबासले जानकारी दिएको छ ।
वार्तापछि मन्त्री खनालको सम्मानमा चीनका परराष्ट्रमन्त्री वाङ यीले रात्रिभोज आयोजना गरेका थिए ।
यसअघि सोमबार नै मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइशिङसँग पनि भेटवार्ता गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्ध र पार्टी–पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
त्यस्तै मन्त्री खनालले बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको पनि भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले त्यहाँका गतिविधिबारे जानकारी लिँदै त्रिभुवन विश्वविद्यालयलगायत नेपाली संस्थासँग भइरहेको सहकार्यबारे ब्रिफिङ लिएका थिए । उनले विज्ञान तथा प्रविधि क्षेत्रमा दुई देशबीच सहकार्य अझ गहिरो बनाउनुपर्ने आवश्यकता समेत औँल्याएका थिए ।
मन्त्री खनाल आफ्नो चीन भ्रमण पुरा गरेर बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

