rasowpa
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले १६ सदस्यीय पदाधिकारी प्रस्ताव गरेको छ । सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यादलले पदाधिकारीसहित केन्द्रीय समितिको संख्याबारे प्रस्ताव गरेको हो ।
उक्त कार्यदलको प्रस्तावित मस्यौदा पारित गर्नका लागि केन्द्रीय समितिमा पेस भएको छ ।
प्रस्तावित मस्यौदा अनुसार १६ जना पदाधिकारीमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने उल्लेख छ । यस्तै केन्द्रीय समिति पदाधिकारी सहित १३६ जना रहने प्रस्ताव गरिएको छ । सचिवालय २५ जना रहने प्रस्ताव गरिएको छ ।
‘विधान संशोधन कार्यदलले १६ जनाको पदाधिकारी, २५ जना सचिवालय र १३६ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरेको छ । तर केन्द्रीय समिति र पदाधिकारी संख्या बढाउनुपर्ने कुरा पनि उठेको छ’, स्रोतले भन्यो, ‘पदाधिकारीमा अन्य संख्या यथावत राखेर सहमहामन्त्री ९ जना बनाउनुपर्ने भन्ने छ । केन्द्रीय समिति १५१ सदस्य हुनुपर्ने कुरा आएको छ । सहमहामन्त्रीको संख्या बढाउँदा प्रदेश इन्चार्ज तोक्नु नपर्ने तर्क आएका छन् ।’
प्रवक्ता सभापतिले नै नियुक्ति गर्ने व्यवस्था छ । तीन जना उपसभातिमा एक जना महिला अनिवार्य गरिएको छ ।
मौजुदा केन्द्रीय समिति १२९ सदस्यीय रहेको छ । पदाधिकारी ९ र सचिवालय १६ सदस्यको रहेको छ । उक्त कार्यदललाई जेठ १० गतेसम्म विधान मस्यौदा बुझाउन समय सीमा दिएको थियो ।
रास्वपाले प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।








