
नेपाली साहित्यमा अबको बाटो कता हुनुपर्ला ?
प्रदीप सापकोटा
लोकपरम्पराबाट प्रारम्भ भएर आधुनिकतवाद हुँदै उत्तरआधुनिकताको चरणमा प्रवेश गरीसकेको नेपाली साहित्यले ठूलै फड्को मारेको छ । २१औं शताब्दीको तेस्रो दशकमा छौँ हामी । अबको नेपाली साहित्यले तय गर्ने बाटो प्रबिधि,भूमण्डलीकरण र मान्छको बदलिँदो चेतनासंगै जोडिएको छ । यसो हुनुमा प्रविधि र डिजिटल दुनियाँको प्रभाव,भूमण्डलीकरण र डायस्पोरिक साहित्यको विस्तार,प्रयोगवाद हावी,विधागत सीमाहरुको भत्किने क्रम जस्ताकुराहरुले प्रभाव पार्दारहेछन् ।
यद्यपी कृत्रिम बुद्धिमत्ताले मात्र मानिसको संवेदना र भावना प्रतिस्थापन हुने कुरा चाँहि होइन । तर भाषा अनुवाद,अनुसन्धानमा यसले सहयोग गर्नसक्छ । नेपाल बाहिर छरिएका नेपालीहरुको साहित्य क्षेत्र फराकिलो नै छ । सर्जकमा धैर्यता र निरन्तर साधना महत्वपूर्ण कुरा हो ।
साहित्यको बाटो तय गर्नु भनेको केवल कलम चलाउनु होइन, यो आफूभित्रको संसारलाई बाहिरी दुनियाँसँग जोड्ने एक गहिरो साधना हो। लेखक बन्नु वा साहित्यमा आफ्नो बाटो कोर्नु एक निरन्तर प्रक्रिया हो।
अवलोकनसँगैको गहिरो अध्ययन,विविध विषयको पठन र गहिरो अवलोकनले साहित्यको स्तर बढाउन सक्छ । अर्काको अनुकरण गर्नु भन्दा आफ्नै मौलिकताभित्र सिर्जना राम्ररी बाँच्न सक्छ । इमान्दार प्रयासद्धारा आफ्नो भोगाइ,विचार र दृष्टिकोणलाई लेख्दा साहित्य सुन्दर हुन्छ । पाठकका प्रतिक्रियाहरुलाई सकारात्मक रुपमा लिने बानी गर्नाले पनि सोचाइ फराकिलो हुनसक्छ । यसले लेखनलाई थप परिष्कृत गर्न सघाउ पुर्याँउँछ ।
प्रविधिले हामीलाई पारेको सहजताको कारण प्रविधि र मानिसको सम्बन्धका बारेमा साहित्यमा लेखिनुपर्ला । विश्वभर छरिएको छ नेपाली जाती। त्यसैले पहिचान,विस्थापन र डायस्पोरा सिर्जनामा निरन्तरता हुनुपर्ला । सीमान्तकृत समुदायका आवाज घनिभूत ढंगले साहित्यमा लेख्नुपर्छ ।जहाँ सहानुभूतिमात्र हैन् समानुभूति होस ।विश्वव्यापी चेतयुक्त साहित्य आजको आवश्यकता हो । जलवायु परिवर्तन,सूचना प्रविधिको प्रभाव,आप्रवासन र मानसिक स्वास्थ्यजस्ता विषयहरुमा आफ्ना दृष्टिकोण स्पष्ट हुनुपर्छ ।
पुराना शैलीको भावुकता मात्र नभएर अथवा परम्परागत वर्णनमा मात्र नभएर नयाँ विषय,रुपक,प्रतिक र विम्बहरुको सहि प्रयोग अबको साहित्यमा जरुरी छ । अबको समयमा साहित्यमा जटिलता र क्लिष्टता हुनैपर्छ भन्ने भ्रममुक्त हुन जरुरी छ । जति सरल,सुलोलित,सहज र शक्तिशाली भाषा प्रयोग गरिन्छ,त्यसका पाठकहरु धेरै हुन्छन् । व्यस्त युगमा लम्बेतान भन्दा सोझै मनछुने गरी लेख्न सके वा छोटा सिर्जना गर्नु प्रभावकारी हुनसक्छ ।
अब लेखकले सोच्नुपर्छ मैले लेखेको कुराले कसैको जीवनमा सानो परिवर्तन ल्याउँछ ? मैले प्रयोग गरेको भाषा वर्तमान समयका पुस्ताले सहजै बुझ्न सक्छ ?मेरो लेखाइमा मेरो मौलिक शैली वा नक्कल के छ बुझन् सक्नुपर्छ ।कृतिम बुद्धिमत्ता,आप्रवासन पनि साहित्यका विषय हुनसक्छन् । अबको साहित्यमा लेखनमा गम्भीर अध्ययन गरि लेख्ने गर्नुपर्दछ । अब नेपाली साहित्य पनि रुपान्तरणको दिशमा अघि बढ्दैछ । किनकी साहित्य समाजसंगै बदलिन्छ ।



