
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ ।
बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अधिवेशन स्थगित गरिएको हो ।
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर बुधवार बिहान मतदान समेत सुरु भएको थियो । तर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिए ।
निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरेर कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको छ । समितिको सो निर्देशन लगत्तै प्रहरीले कार्यक्रम स्थल खाली गराएको छ ।
यस्तै करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका छन्।
प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको आयोगको भनाइ छ।
‘भ्रमवश फर्किनुभएका लगायत सबै प्रतिनिधिहरूलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक सुविधाजनक समय प्रदान गर्ने मनसायका साथ, यी प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुनासाथ स्थगित भएको अधिवेशन अगाडि बढाइ बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराइनेछ,’ विज्ञप्तिमा भनिएको छ।
