
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई पदमा बसिरहने नैतिक अधिकार नरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा प्रतिक्रिया दिएका हुन् ।
रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने प्रधानमन्त्रीले उल्टै नेपालले भारतको भूभाग मिचेको झुटा कुरा संसद्मा गरेको आरोप लगाएका छन् । उनले यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन् ।
रावलले लेखेका छन्, ‘आज २०८३ साल जेठ १७ गते नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ । किनकि देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले “प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ” भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ । नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’
उनले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिले प्रकारान्तरले आफ्नो भूभाग अरू देशलाई सुम्पने किसिमको संकेत गरेको आरोपसमेत लगाएका छन् ।
रावलले प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको हो भन्नेबारे तत्काल नेपाली जनतालाई जानकारी दिनुपर्ने माग गरेका छन् ।
कहिल्यै कसैको अधीनमा नरहेको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नागरिकले प्रधानमन्त्रीसँग तत्काल जवाफ माग्नुपर्ने रावलको भनाइ छ ।उनले झन्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका सांसद र सदस्यहरूले पनि यस विषयमा आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

