
लघुकथा
गुनासो
प्रार्थना खनाल, जोशी
‘म किन गम्भीर भएको हो? आफैँभित्र प्रश्न उब्जियो ।
मेरो मन मष्तिष्कले मौनतालाई जोड्दै छन् । जङ्गलका बोट,विरूवा ती हरिया डॉडा पनि मौन छन् । हावाका बहावले पनि वहन अल्छी गरेझैं लाग्छ। यो मौनतालाई प्रकृतिले पनि झुकेर समर्थन गरे झैं लाग्छ।
मेरा मौनतामा मेरी आमा पनि मौन भैदिन्छिन्। यो सन्नाटाभित्र एउटा शून्य भेटिएझैं अनुभूत हुन्छ। खान , हिड्न,बस्न,सबै कर्म विथोलिएको छ। ‘यो विचल्लित मनःस्थितिको औषधी के होला?’ म आफैं आफूलाई प्रश्न गर्छु। उत्तरहरू पनि मौन बसिदिन्छन् ।
रूख विरूवालाई सोध्छु,’म त विचल्लित भएँ,भएँ तर तिमीहरू किन सुस्तायौ त ?’
ठूलो धुपी संधै हरियो भएर मुस्कुराएर बसेको छ । उसका हॉगाहरूले हल्लिदै ‘केही भएको छैन।’भनेझैं प्रतीत हुन्छ।
मलाई लाग्छ’मानिस पनि प्रकृतिको रूप नै त हो।’
हरिया डॉडाहरूसंग म भन्छु,’मेरो नजिक आऊ ।’
ऊ सुनेको नसुनेझैँ गर्छ ।कारण ऊ पनि मजस्तै मनःस्थिति बिगारेर बसेको छ।
नदी नजिक गएर गुनासा पोख्छु। उनका कुरा सुन्न खोज्छु । उनी हिउँदको रूखो वहावमा रूमल्लिएकी छिन् । उनी बोल्न अन्कनाएको देखेर म महसुस गर्छु,’मजस्तै प्रकृतिका छटा पनि आखिर निशब्द भूँमरीमा लटपटिंदा रहेछन्।’
त्यही बेला आमालाई मेरा गुनासा पोख्छु,’आमा ! यो बिग्रेको मनलाई शान्त बनाउने उपाय के होला?’
आमा सम्झाउने भावमा भन्नुहुन्छ,’तन बढ्दा व्यायाम,मन बढ्दा ध्यान र धन बढ्दा दान गर।’





