
बिशेष सम्पादकीय
प्रदीप सापकोटा
नेपालको राजनीति आज एक ऐतिहासिक मोडबाट गुज्रिरहेको छ । विगतको जेन्जी आन्दोलन र त्यसपछिको आमनिर्वाचनले राजनीतिमा दशकौँदेखि नेतृत्व गरेर बसेको परम्परागत शक्तिलाई चूनौती दिँदै नयाँ पुस्ताको उदय भएको छ ।
यसै सन्दर्भमा आज हामी गणतन्त्र दिवस मनाईरहेका छौँ । वर्तमान सत्तामा जनताले मतको माध्यमबाट रास्वपा नेतृत्वको झण्डै दुई तिहाई बहुमतको सन्निकट मत दिएर सरकार बनाउने जनमत दिएका छन् । जनताको अपेक्षा केवल पुराना दलको स्थानमा नयाँ दल र पुरानो राजनीतिक नेतृत्वको ठाउँमा नयाँ राजनीतिक नेतृत्व मात्र खोजेका होइनन् ।जनताले त राजनीतिमा नविन संस्कार र नैतिकता खोजेका छन् । कार्यशैलीमा नयाँपन खोजका छन् । जनताको ठूलो आशा र अपेक्षा छ । जनताले सस्तो नारा होइन साँच्चै परिवर्तनको आभास हुने गरी परिणाम खोजका छन् ।
अमेरिका र इरान युद्ध,रुस यूक्रेन युद्ध लगायतका युद्धको परिणाम हामी पनि आर्थिक मन्दिमा परेका छौँ ।उच्च महँगीको मार जनताले भोग्नु परिरहेको छ । अभाव र बेरोजगारीमा जीवन व्यतित भैरहेको छ । यसैले युवा पलायन रोकी स्वदेशमै रोजगारीको अवसर दिने भनेर लोकप्रिय बनेको सरकारले युवा पलायन रोक्न सकेको देखिँदैन् ।अर्थतन्त्र परनिर्भर नै छ । उत्पादनमुखी बनाउने तर्फ पहल गरेको पाइँदैन् । संस्थागत भ्रष्टाचारका कुराहरु अहिले पनि आएकै छन् । यी सबै हाम्रा देश विकासका बाधक हुन् । यसतर्फ ठोस कदम चालिनुपर्छ । कानूनी शासनको प्रत्याभूति भएको अनुभुत जनताले गर्न सक्नुपर्छ । सुशासनको ग्यारेन्टी पनि देखिएको छैन । सुशासन र पारदर्शिता पहिलो शर्त हुनुपर्छ ।
लोकप्रिय नाराले मात्र देश चल्न सक्दैन् । व्यवहारिक कार्यान्वयनलाई विचार गर्नुपर्दछ ।निर्वाचनमा ल्याइएका घोषणापत्रहरु तर्फ पनि सरकारको ध्यान जानुपर्दछ । संवैधानिक निकाय र निजामती सेवालाई सुधारको नाउँमा अघोषित हस्तक्षेप गर्नुहुँदैन् । संस्थागत सुदृढीकरणको नीति अबलम्बन गरिनुपर्दछ । नागरिकले पाउँने सेवालाई अझैबढी प्रभावकारी र झँझटमुक्त बनाउने नीति अख्तियार गरिनुपर्दछ ।
आज गणतन्त्र दिवस । गणतन्त्रको मूल मर्म भनेको जनता मालिक हुनु हो । समानता,सामाजिक न्याय र सुशासन पाउनु हो । आम नागरिकको दैनिकीमा सहजता ल्याउनु र आर्थिक सम्बृद्धिको बाटो रोज्नु हो ।
व्यवस्था आफैँमा नराम्रो होइन । अबस्था नराम्रो भैरहेको हो । अब त्यस्तो नहोस । सुशासन गणतन्त्रको प्राण हो । भ्रष्टाचार र दलीय भागवण्डाले राज्यका विभिन्न निकायहरु कमजोर भैरहेका छन् । विधिको शासन कानूनमा मात्र हुने परिपाटीको अन्त्य जनताले चाहिरहेका छन् । हिजो र आज फरक होस । समय,दल,व्यक्ति मात्र फरक भएर भएन तिनका आचरण,व्यवहार,सोच र दृष्टिकोण पनि फरक हुनु जरुरी छ ।
देशमा संघीयता सहितको लोकतन्त्र छ । संसदीय प्रणाली अपनाईरहेको देशमा कार्यपालिका व्यवस्थापिका प्रति उत्तरदायी हुनै पर्छ । यो संवैधानिक व्यवस्था पनि हो । तर वर्तमान सरकारले यो कुरालाई गम्भीरतापूर्वक नलिएको केहि दिन अघिका विभिन्न घट्नाहरुले संकेत गरेका छन् । यो व्यवस्थामा यस्तो कुरा राम्रो हुँदै होइन । यस्ता कुरामा सरोकारवालाहरुको ध्यान जाओस ।
र अन्त्यमा,गणतन्त्र दिवस केवल बिदा वा औपचारिक समारोह मात्र होइन । यो दिनले सबै राजनीतिक दल र तिनका नेतृत्व तथा जननिर्वाचित सरकार र जनप्रतिनिधीहरुलाई आत्मसमीक्षा गर्ने प्रेरणा मिलोस । सत्तासिनहरुले जनमतको कदर गर्दै उनीहरुकै हितका खातिर सत्ता सञ्चालन गरुन । नागरिकले पनि आफ्नो अधिकारप्रति सचेत हुँदै लोकतन्त्रको पहरेदार बनुँन । गलत कुराहरु विरुद्धमा खवरदारी गरुन ।
गणतन्त्रको खुशी तब मिल्छ जब नागरिकको ओठमा मुस्कान फुल्छ ।
१८ औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।



