
मानव जीवनको वास्तविक उद्देश्य मानवको आन्तरिक विकास र समाजको समग्र प्रगतिसँग जोडिएको हुन्छ। भगवद्गीतामा प्रस्तुत कर्मयोगले यही सन्देश दिन्छ व्यक्ति आफ्नो कर्तव्यमा दृढ रहँदै, निःस्वार्थ भावमा कर्म गर्दा मात्र व्यक्तिगत सन्तोष र सामाजिक स्थायित्व सुनिश्चित गर्न सक्छ। आधुनिक समाजमा जहाँ प्रतिस्पर्धा, स्वार्थ, आर्थिक असमानता र सामाजिक द्वन्द्व गहिरिँदै गएको छ, त्यहाँ कर्मयोगका सिद्धान्तहरूले व्यक्तिलाई आन्तरिक शान्ति दिने मात्र होइन, सामाजिक सुधारमा पनि योगदान पुर्याउँछन्।
दिगो समाज केवल विकासका सूचकाङ्कहरूले मात्र निर्माण हुँदैन। यो चेतना, कर्तव्य, र नैतिक जिम्मेवारीको आधारमा उभिएको संरचना हो। जब व्यक्ति आफ्नो कर्मलाई केवल व्यक्तिगत लाभको साधन होइन, समाज र प्रकृतिप्रतिको उत्तरदायित्वका रूपमा बुझ्छ, तब त्यही सोच कर्मयोगको मूल भावना बन्छ।
कर्मयोगले सिकाउँछ फलको आशामा होइन, कर्तव्यको शुद्धतामा कर्म गर। यो विचार आजको आधुनिक समाजमा झन् सान्दर्भिक छ, जहाँ प्रतिस्पर्धा, उपभोगवाद, र व्यक्तिगत स्वार्थले सामाजिक सम्बन्धलाई कमजोर बनाइरहेको छ। जब मानिस “म के पाउँछुरु” भन्ने सोचमा मात्र सीमित हुन्छ, तब समाज असन्तुलित बन्छ। तर जब सोच “म के योगदान दिन सक्छु” भन्ने हुन्छ, तब समाज दिगो र सन्तुलित बन्छ।
दिगो समाजको पहिलो आधार नै जिम्मेवार नागरिक हो। जिम्मेवार नागरिक भनेको आफ्नो काम इमान्दारीपूर्वक गर्ने व्यक्ति हो चाहे त्यो किसान होस्, शिक्षक होस्, कर्मचारी होस् वा विद्यार्थी। कर्मयोगले यही शिक्षा दिन्छ कि हरेक काम पवित्र हो, यदि त्यो निष्ठा र सचेततासाथ गरिएको छ भने।
आजको विश्व जलवायु परिवर्तन, सामाजिक असमानता र नैतिक संकटसँग जुधिरहेको छ। यी सबै समस्याको मूल कारण केवल प्रविधिको कमी होइन, बरु कर्तव्यबोधको कमी हो। जब मानिसले प्रकृतिलाई दोहनको स्रोत मात्र ठान्छ, तब वातावरण असन्तुलित हुन्छ। तर जब प्रकृतिलाई सहअस्तित्वको आधार मानिन्छ, तब दिगोपन सम्भव हुन्छ। कर्मयोग यही सहअस्तित्वको चेतना हो।
कर्मयोगले व्यक्तिगत जीवनलाई पनि अनुशासित बनाउँछ। अनुशासन बिना दिगो विकास सम्भव छैन। जब व्यक्ति आफ्नो कर्तव्य समयमै, सही रूपमा र निष्ठापूर्वक पूरा गर्छ, तब त्यो व्यवहार सामाजिक संरचनामा पनि प्रतिबिम्बित हुन्छ। यसरी व्यक्तिगत अनुशासन सामूहिक स्थिरतामा रूपान्तरण हुन्छ।
सामाजिक दृष्टिले हेर्दा, कर्मयोगले समानताको भावना विकास गर्छ। कुनै पनि काम सानो वा ठूलो हुँदैन। सबै कामको आफ्नै मूल्य हुन्छ। यही सोचले श्रमको सम्मान बढाउँछ र सामाजिक विभाजन घटाउँछ। जब श्रमको सम्मान हुन्छ, तब समाज न्यायपूर्ण बन्छ।
कर्मयोगले अहंकार घटाउँछ। मानिसले बुझ्छ कि ऊ केवल कर्ता होइन, माध्यम पनि हो। यसले आत्मकेन्द्रित सोचलाई घटाएर सेवा भाव बढाउँछ। सेवा भाव नै दिगो समाजको आत्मा हो।
वेदान्त अनुसार, व्यक्ति आफ्नो सुख र सफलता मात्र खोज्नु हुँदैनस उसले आफ्नो कर्ममार्फत समाज र मानवताको हित गर्नु पर्छ। आधुनिक समाजमा यो दृष्टान्त शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण र सामाजिक न्यायका क्षेत्रमा स्पष्ट देखिन्छ। उदाहरणका लागि, जलवायु परिवर्तनको चुनौतीमा युवा पुस्ताले स्वच्छ वातावरण र दिगो विकासको लागि गरेका पहलहरू कर्मयोगकै आधुनिक रूप हुन्। उनीहरूले व्यक्तिगत सुविधा वा आरामको सट्टा सामाजिक कल्याणका लागि सक्रिय भूमिका निर्वाह गरेका छन्। यसरी कर्मयोगले व्यक्तिगत नैतिकता र सामाजिक जिम्मेवारीलाई एउटै धारा मार्फत जोड्छ।
कर्मयोगको आधुनिक आयाममा निःस्वार्थ सेवा अत्यन्त महत्त्वपूर्ण छ। आजको व्यस्त, प्रविधिनिर्भर र प्रतिस्पर्धात्मक युगमा मानिस आफ्नो व्यक्तिगत समय, साधन र ऊर्जा समाजको हितमा लगाउने अवसर पाउँछ। स्वास्थ्यकर्मीले महामारीको समयमा अनगिन्ती जीवन बचाएका छन्, शिक्षकहरूले बालबालिकालाई गुणस्तरीय शिक्षा दिएका छन्, र सामाजिक कार्यकर्ताहरूले गरीब, वञ्चित र पीडित वर्गको जीवन सुधार्न योगदान दिएका छन् यी सबै कर्मयोगको प्रत्यक्ष अभ्यास हुन्। निःस्वार्थ कर्मले मात्र व्यक्तिलाई वास्तविक आत्मसन्तोष दिन्छ, र समाजमा विश्वास, सहकार्य र स्थायित्व निर्माण हुन्छ।
अठार अध्यायमा विभक्त भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फल स्पष्ट रूपमा व्याख्या गरिएको छ। प्रथमदेखि छैटौँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्रौँसम्म भक्तियोग, र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञानयोगमार्फत साधकले आत्मचिन्तन र आत्मसाक्षात्कारमा उन्नति पाउँछ। गीताले साधकलाई सिकाउँछ कि चित्तवृत्ति निरोधको अवस्थामा पुग्नुअघि भोग्नु पर्ने अनुशासन र त्यसपछि प्राप्त हुने फलका बारेमा स्पष्ट मार्गदर्शन दिन्छ। भक्तियोगमा कर्म र ज्ञान एकसाथ मिलेर साधकलाई परमात्माको अनन्तरूप दर्शन गराउँछ र आत्मज्ञान प्राप्त गराउँछ।
कर्मयोग र सामाजिक धर्मबीच गहिरो सम्बन्ध छ। कर्म केवल भौतिक क्रिया मात्र होइन, यसले व्यक्तिगत नैतिकता र समाजिक सुधारको मार्ग प्रदान गर्दछ। निष्काम कर्ममार्फत व्यक्ति आफ्नो स्वार्थभन्दा माथि उठेर धर्मअनुसार कार्य गर्दा समाजमा न्याय, सदाचार र समृद्धि स्थापना गर्न सहयोग पुग्छ। शिक्षक, चिकित्सक वा सामाजिक कार्यकर्ताहरूले आफ्नो कर्तव्य निष्काम भावमा पालन गर्दा व्यक्तिगत मात्र होइन, सामाजिक कल्याणमा पनि योगदान पुर्याउँछन्।
व्यक्तिगत नैतिकता बिना समाजिक सुधार असम्भव छ। आफ्नो इन्द्रिय र इच्छालाई नियन्त्रण गर्दै कर्ममार्ग अपनाउने व्यक्ति मात्र स्थायी परिवर्तन ल्याउन सक्छ। सामाजिक धर्मले समुदायको कल्याण, समानता र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्छ। कर्मयोगले मानिसलाई स्वार्थ र लोभभन्दा माथि उठेर समाजिक जिम्मेवारी बोध गराउँछ। जब कर्म निष्काम र धर्मपरायण हुन्छ, तब व्यक्तिगत सुधारले स्वतः समाजमा सुधारको ढोका खोल्छ।
गीतामा भनिएको छ कि चित्त स्थिर राखेर परमात्मामा लीन व्यक्ति धर्म–अधर्म, शुभ–अशुभ जस्ता भेदबाट मुक्त हुन्छ। यसले वास्तविक आनन्द र मोक्षको अनुभव गराउँछ। कर्मयोगले जीवनलाई भौतिक सुख–दुःखबाट मुक्त गर्दै आत्मिक आनन्द र स्थिरता दिन्छ। जब मानिस आफ्नो कर्म भगवानलाई अर्पण गर्दछ, तब भोग्ने सुख–दुःखलाई पनि आध्यात्मिक दृष्टिले अनुभव गर्न थाल्छ।
मनुष्यले आफ्नो जीवनलाई भौतिक इच्छामा केन्द्रित राख्दा असंतोष जन्माउँछ। निष्काम भावमा कर्म गर्दा, तत्त्वज्ञानको अनुभव गर्दै, भगवानको स्मरण गर्दा वास्तविक मोक्ष प्राप्त हुन्छ। जन्म–मरण, सुख–दुःख, समृद्धि–अभाव—बिि संसारिक नियमको हिस्सा मात्र हुन्। जीवनमा आउने उतार–चढावले मानसिक शान्तिमा बाधा पुर्याउन सक्दैन यदि हामी कर्मयोग अपनाउँछौं।
जीवनलाई भय, मोह र आसक्तिबाट मुक्त गर्दै निष्काम भावमा कर्म गर्नु, व्यक्तिगत नैतिकता र समाजिक धर्मको अभ्यास गर्नु, र ज्ञानमार्गबाट समाजमा योगदान पुर्याउनु। यसले नागरिक चेतना, नैतिक संस्कार र सामाजिक सुधारमा सहयोग पु¥याउँछ। गीताको ज्ञानले मानव हृदयका सद्गुण जागृत गर्दै जीवनलाई सुखी, शान्त र समृद्ध बनाउँछ।
व्यक्तिगत नैतिकता र समाजिक सुधारबीचको सन्तुलन पनि कर्मयोगले सिकाउँछ। बाह्य प्रगति र प्रतिस्पर्धामा अडिग रहने व्यक्ति आन्तरिक सन्तोष र शान्ति पाउँदैन। यसको विपरीत, ध्यान, योग वा आत्मचिन्तनमा डुबेका व्यक्ति समाजसँगको सम्बन्धमा प्रभावकारी योगदान दिन सक्दैन। कर्मयोगले भन्छ—“योगस्थः कुरु कर्माणि”—आत्मबोधमा स्थिर रहँदै कर्म गर्नु नै जीवनको सर्वोत्तम मार्ग हो। यस सन्दर्भमा, व्यक्ति आन्तरिक मूल्य, नैतिकता र उद्देश्यसँग सम्बद्ध रहँदा मात्र समाजमा दीर्घकालीन स्थायित्व र सुधार सम्भव हुन्छ।
कर्तव्यपरायण जीवन र दिगो समाज बीचको सम्बन्ध स्पष्ट छ। जब व्यक्ति आफ्नो कर्मलाई धर्म, नैतिकता र मानव कल्याणसँग जोड्छ, तब उसले न व्यक्तिगत शान्ति र सन्तोष पाउँछ, तर समाजमा स्थायित्व, न्याय र समानताको वातावरण पनि निर्माण हुन्छ। कर्मयोगका आधुनिक आयामहरूले यही सन्देश दिन्छन्—आधुनिक समाजको जटिल चुनौतीहरू सामना गर्न, व्यक्तिगत नैतिकता र सामाजिक उत्तरदायित्वको मेल अपरिहार्य छ। यो मेलले मात्र मानवता र समाजलाई दीगो, न्यायपूर्ण र शान्तिपूर्ण बनाउँछ।
आजको डिजिटल युगमा मानिसहरू छिटो परिणाम चाहन्छन्, तर कर्मयोगले धैर्य सिकाउँछ। धैर्य बिना दिगो निर्माण सम्भव छैन। कुनै पनि सामाजिक परिवर्तन दीर्घकालीन प्रक्रिया हो, जसमा निरन्तर प्रयास आवश्यक हुन्छ।यदि व्यक्ति, समुदाय र राज्यले कर्मयोगको सिद्धान्त अपनाउने हो भने समाज केवल समृद्ध मात्र होइन, सन्तुलित, नैतिक र दिगो पनि बन्न सक्छ।यसैले भन्न सकिन्छ कर्मयोगको प्रकाशमा दिगो समाज निर्माण कुनै आदर्श सपना होइन, बरु सम्भव र व्यवहारिक मार्ग हो, जसले मानवता, प्रकृति र भविष्यलाई एउटै सूत्रमा बाँध्छ।
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् । )

