चर्चामा पुस्तक
‘जिन्दगी’का शय टुक्रा
‘जिन्दगी’का अनेकानेन अवयव बारे गरिएका चिन्तनहरु,कविका घोत्लाईहरुको समुच्च रुपमा काव्यात्मक चेत सहित आएका छन् कवि शिव त्रिपाठी ।
जीवनका हर पाटाहरुमा आउने उतारचढाव,जटिलता,निस्सारता मुक्तकहरुमा व्यक्तिएका छन् ।
जीवनको सरल र गहन अर्थबोध गराउने मुक्तकहरु कृतिमा छन् । झट्ट हेर्दा जीवन दर्शन आउँछ मुक्तकहरुमा । जीवनका समष्टीलाई व्यक्त गर्ने शक्ति छ कविमा ।
भाषा सहज छ,सरल छ,बिम्वात्मक प्रस्तुति छ ।
‘जिन्दगी’ का शय टुक्रालाई हेमजा साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३००। रहेको छ ।
विमानघाट
रुद्र ज्ञवाली नेपाली कथाक्षेत्रमा लामो समयदेखि क्रियाशिल कथाकार हुन् ।प्रायःजसो आम मान्छेका दुःखपीडाहरु कथामार्फत उजागर गर्ने कथाकारले यस कृतिमा अठसठ्ठी थान लघुकथाहरु समावेश गरेका छन् ।
लघुकथाहरु चोटिला छन् । उनले वि.सं.२०४६ सालदेखि २०८० सम्मको समय अबधिमा सिर्जना गरेका लघुकथाहरु यसकृतिमा परेका छन् ।
लघुकथाका बिषयवस्तुहरु समकालीन समाज र यसका अनेकौं अवयवहरुबाट टिपिएका छन् । वर्तमान समाजका विद्रुप चरित्रहरु उजागर गरिएका छन् । राजनीति लगायत विभिन्न क्षेत्रमा देखिएका विसङ्गतिहरु तर्फ लक्षित गरिएका लघुकथाहरु यसमा परेका छन् । देशप्रेम दर्शाउने,स्वैरकल्पनाले भरिएका,भ्रष्टाचारप्रति प्रहार भएका ,भाषा र साहित्यसँग सम्बन्धित रहेका र सामाजिक विभेदहरुका लघुकथाहरु पनि यसमा परेका छन् ।
आयामका हिसावले सुन्दर,सरल भाषा,मर्मस्पर्शी,चोटिला लघुकथा बनेका छन् । बिम्व र प्रतिको प्रयोग पनि राम्रो छ ।
विमानघाट लघुकथासङ्ग्रहलाई शहीद स्मृति पुस्तकालय,सिद्धार्थनगरले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३५०। रहेको छ ।
मिल्किएको मणि
हरिदेवी कोइराला गायनमा समेत चर्चित स्रष्टा हुन् । कोइरालाको यसकृतिभित्र १७१ थान मुक्तकहरु समावेश गरिएको छ । रुवाई शैलीमा सृजित विषयगत विविधताले भरिएका मुक्तकहरुमा समकालीन समाजको चित्र पढ्न पाईन्छ । जीवन,प्रेम,वर्तमान समाजको विकृति,गाउँशहरको अबस्था,देशप्रेम लगायतका यावत विषयहरुमा मुक्तकहरु कोरिएको पाइन्छ ।
थोरै शब्दमा धेरै बोल्न सक्ने मुक्तकमा कोइरालाले सरल शब्दशैली र बिम्बात्मक रुपमा आफ्ना मुक्तक लेखेकी छिन् ।
रमेश श्रेष्ठको चित्ताकर्षक आवरणमा सजिएको मिल्किएको मणिलाई रामबहादुर कोइरालाले प्रकाशनमा ल्याएका हुन् । यसको मूल्य रु.३००। रहेको छ ।




