
काठमाडौं। कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा आज चैत १३ गते साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार समर्पण गरिएको छ।
त्यसैगरी वासु शशी स्रष्टा पुरस्कार २०८२ साहित्यकार जयदेव भट्टराई र कृष्ण- सरस्वती साहित्य पुरस्कार २०८२ साहित्यकार हरि मञ्जुश्रीलाई समर्पण गरिएको छ।
वासु शशी स्मृति परिषदद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा ती पुरस्कारहरू समर्पण गरिएका हुन्। वासु शशी साहित्य पुरस्कारको राशि नगद रू. २५,०००/-, वासु शशी स्रष्टा पुरस्कारको राशि नगद रू २१,०००/- तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारको राशि नगद रू २५,०००/- रहेको छ।
परिषद्का अध्यक्ष गीतकार कालीप्रसाद रिजाल सभापति रहेको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गीतकार तथा चलचित्र निर्देशक यादव खरेल रहेका थिए।
पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गर्दै वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे। गद्य पद्य दुबैमा उनका थुप्रै कृतिहरू भएको उल्लेख गर्दै उनले वासु शशीका कृतिहरू रि-प्रिन्ट गरी पुन:बजारमा ल्याउनुपर्ने बताए।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र योगदान बारे श्रीओम श्रेष्ठ रोदनले चर्चा गरेका थिए ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखे ।
कार्यक्रमको सञ्चालन ठाकुर वेलबासेले गरे ।





