
काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५का मतदातासँग भेटघाट सकेर बिहीबार काठमाडौं फर्किएका छन् ।
एमालेको चुनावी घोषणापत्र तयारीको लागि उनी फर्किएको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए ।
निर्वाचनको मिति नजिकिँदै जाँदा झापा–५ ले धेरैको ध्यान तानेको छ । खासगरी पूर्वप्रधानमन्त्री ओली र काठमाडौं महानगरपालिकाका निवर्तमानमेयर शाहबीचको प्रतिस्पर्धाले यसपटक झापाको यो क्षेत्रले सबैको ध्यान तानेको हो ।
अघिपछि उतिसाह्रो निर्वाचन क्षेत्रमा समय व्यतित नगरेका एमाले अध्यक्ष केपी ओलीले यो पाली भने समय दिएका छन् ।
मतदाता भेटघाटका क्रममा ओलीले कमल गाउँपालिका र गौरादह नगरपालिकामा दुई–दुई दिन बिताएका थिए । एक दिन गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडाहरू पुगेर मतदाताको गुनासो सुने ।
झापा ५ बाट २०४८ सालयता भएका हरेक संसदीय निर्वाचनमा झापाबाट चुनाव लड्दै आएका ओलीले २०६४ सालको पहिलो संविधानसभा चुनावबाहेक पराजय बेहोरेका छैनन् । यो पाला भने बालेन्द्र शाहको उम्मेदवारीले उनी दबावमा देखिएका छन् ।
