
कविता
प्रेमको आभाष
डा.सिर्जना शर्मा
साँझको निस्तब्ध गानले
उज्यालोको कोलाहलमा
साथ दिनेहरूको
मखुण्डो उधार्दै गरेको आभासले
आक्रान्त हुँदैगर्दा
सम्झन्छु त्यो पल,
जब म सफलता र समृद्धिको सिँढी चढिरहेकी थिएँ
अचानक उज्यालो मुहार,
कुटिल मुस्कान
र छद्म संवेदना बोकेर
कसरी तिमीले मेरो बाटो
रोकेका थियौ।
कसरी बाटो र लक्ष्य मोड्न
लालयित ती छद्म भेष
र,गुलिया वचन
अनि सपनाको हवाई महल उचालेर
मलाई सबैभन्दा टुप्पोमा पुर्याएर
अन्धो विश्वास र प्रेममा मलाई लट्ठ्याएर
अचानक एकदिन
हुत्याउने तिम्रो मनसाय थियो।
अहो ! उज्यालोमा मदहोस् तुल्याउने ती गुलिया, चिप्ला लोलोपोतो
धन्न मैले चिनिन रहेछु समयमै
यसैले त अझै पनि
सद्भाव, सहृदय, सदाचार र सत्यप्रति
उत्तिकै आस्था र निष्ठा राखिनै रहेको छु म।
नत्र पुन: विश्वास, प्रेम र सद्भावको सतबीज मेरो
हृद्तन्तुमा कहाँ हरियो रहन्थ्यो र?
धन्न!तिम्रा बिटुला मनसायले पनि
मेरो हृदयको स्वच्छता
अझै धमिल्याइसकेको छैन रहेछ।
यसैले त यो गहिरिँदै गएको रातमाझमा पनि
अझै म बिहानीको सूर्यको
लालिमा, कान्ति र प्रकाशको शक्तिप्रति
उत्तिकै आस्थावान् छु।
मलाई थाहा छ-अँध्यारो छद्म हो, भ्रम हो।
यसको आयु त्यति नै छ जहिलेसम्म प्रकाश पुन आफ्नो राज्य
स्थापनाका लागि उदाउँदैन।
प्रकाशको अनुपस्थितिमा जति नै अँध्यारो कुर्लिए पनि
प्रकाशको आगमनसितै हट्नेछ यो कलुसित तिमिरको चुरीफुरी र
उज्यालोको साम्राज्यले देखाउनेछ आफ्नो प्रताप।
यसैले त तमसोमा ज्योतिर्गमयको मूलमन्त्रले
मलाई असत्यको मार्गबाट सदैव विमुख गराई
डोहोर्याई रहेछ सत्य, प्रेम र निष्ठाको मार्गमा।
बुद्धको अमर वाणी’अप्प दीपो भव:’
मेरो मार्गको साक्षी हो।
यसैले यो निस्तब्ध रातको तिमिरमा पनि
म प्रतीक्षा उज्यालोकै गर्दैछु…
प्रतीक्षा…म उज्यालोकै गर्दैछु।



