
काठमाडौं। हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलले विद्यालय तहमा कला र साहित्यको संस्कार बसाल्दै ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’ को तेस्रो संस्करण भव्यताका साथ सुरु गरेको छ।
बिहीबारदेखि सुरु भएको दुईदिने महोत्सवले विद्यार्थीलाई केवल अक्षर र रङसँग मात्र जोडेको छैन, बरु उनीहरूलाई सिर्जनात्मक सोच, बौद्धिक विमर्श र अभिव्यक्तिको सशक्त मञ्च पनि प्रदान गरेको छ।
शुक्रबारसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन विशिष्ट अतिथि बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले पानसमा दीप प्रज्वलन गरे । कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवसले गरे ।
उद्घाटन समारोहमा बोल्दै साहित्यकार तुलसी दिवसले कला र साहित्यले मानव जीवनलाई संवेदनशील, सृजनशील र संस्कारित बनाउने उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्ना मौलिक सिर्जनासँग जोड्न यस्ता महोत्सवको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउ।साहित्यिक सिर्जनशीलतालाई प्राथमिकता दिनु भनेको मानवीय मूल्य र चेतनालाई सम्मान गर्नु हो भन्दै इम्पेरियलले थालेको सिर्जनात्मक अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले विद्यालयको प्रशंसा गर्दैभनिन् – “इम्पेरियल वर्ल्ड स्कुलले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा गरेको लगानीले भविष्यमा देशलाई सक्षम र जिम्मेवार जनशक्ति दिने विश्वास जगाएको छ।”
विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले कला र साहित्यको संरक्षण, प्रवर्द्धन तथा विद्यार्थीहरूमा यसको महत्व उजागर गर्ने उद्देश्यले विगत तीन वर्षदेखि महोत्सव आयोजना गर्दै आएको जानकारी गराइन।
महोत्सवको विशेष आकर्षणका रूपमा इम्पेरियलका विद्यार्थीहरूद्वारा सिर्जित तीन साहित्यिक कृतिहरू— नेपाली कविता संङग्रह ‘शब्द बगैँचा’ , नेपाली कथा संङग्रह ‘उडान कथा’ र अग्रेजी कथा संङग्रह ‘माई पेन माई वर्ल्ड’— को औपचारिक विमोचन गरिएको थियो। यसले विद्यार्थीहरूमा लेखन संस्कारको विकास र आत्मविश्वास अभिवृद्धि गरेको विद्यालयले जनाएको छ।
महोत्सवको पहिलो दिन साहित्य र कलाका विविध आयामलाई समेट्दै सात वटा फरक सत्र तथा एउटा बृहत् प्यानल छलफल सम्पन्न भएको थियो। ‘साहित्य : पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्वर’ शीर्षकको प्यानल छलफलले विशेष आकर्षण पाएको थियो।
लेखक तथा पत्रकार वसन्त बस्नेतको सहजीकरणमा सम्पन्न उक्त छलफलमा लेखकहरू नयनराज पाण्डे, केशव दाहाल, बिना थिङ तामाङ र कुमारी लामाले साहित्य कसरी पुस्तान्तरण हुँदै समाजलाई जीवित राख्छ भन्ने विषयमा गहिरो विमर्श गरे। प्यानलिस्टहरूले नलेखिएका कथा र नसमेटिएका पात्रहरूलाई साहित्यमा स्थान दिनुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थी र अभिभावकमा साहित्यप्रतिको नयाँ उत्साह जगाएको देखिन्थ्यो।

महोत्सवमा आयोजित विभिन्न सत्रहरूमा कवितादेखि कथा वाचनसम्म सिर्जनात्मक गतिविधिहरू सञ्चालन भएका थिए।
साहित्यकार अभय श्रेष्ठले ‘काव्य साधना’ मार्फत कविताको गहिराइ प्रस्तुत गरे । नीलम नीहारिका कार्की ले ‘आवाजको जादु’ शीर्षकमा वाचन कलाको महत्वबारे जानकारी गराईन्।
जोय रोबिन्सन ले कथा लेखन तथा वाचन सम्बन्धी अनुभव साझा गरे । यसैगरी डा. अशोक थापाले ‘पानामा लुकेको संसार’ शीर्षकमा साहित्यको गहिरो आयामबारे प्रस्तुति दिए।
पहिलो दिनको कार्यक्रममा डा. शिव रिजाल, महेश पौड्याल, उषा आचार्य र साबित्रा पाण्डेले पनि छुट्टाछुट्टै विषयमा सत्र सञ्चालन गरे ।
महोत्सवको दोस्रो दिन शुक्रबार कला र साहित्यका विविध विधामा केन्द्रित १२ वटा अन्तरक्रियात्मक छलफल तथा सिर्जनात्मक सत्रहरू सञ्चालन भएको आयोजकले इखबरनेटलाई जानकारी दिए।




