
काठमाडौं । साहित्य चौतारी झापाले आज अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो ।
सोही कार्यक्रममा श्रीमती महाकाली घिमिरेलाई सम्मान पनि गर्यो ।सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि हार्तम्छाली, विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, दार्जिलिङका सर्जक जीवन अधिकारी, साहित्य चौतारीका अध्यक्ष /संरक्षक देवीभक्त श्रेष्ठले प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि राधेश्याम लेकालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको बारे प्रकाश पार्दै संस्मरणहरु सुनाउनु भयो ।
कार्यक्रममा राष्ट्रकविले सिर्जना गर्नु भएका कालजयी गीतहरु गायकहरु जीवन अधिकारी, लोचन भट्टराई, लाक्पा शेर्पा, प्रदीप देवान, समीर खरेल, धना राई लगायतले गाउनु भएको थियो ।

संचारिका समूहकी अध्यक्ष कवि विमला तुम्खेवाले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश अध्यक्षर संरक्षक देवीभक्त श्रेष्ठले साथै उहाँले कवि कुन्ज संग्रहालयको थप व्यवस्थापनमा साहित्य चौतारीको चासो व्यक्त गर्नु भयो । उहाँले संग्रहालयको उचित व्यवस्थापन गर्न प्रतिष्ठान र नेपाल सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि कुलपति हार्तम्छालीले साहित्य चौतारीको योगदानको चर्चा गर्दै नेपाली कला, साहित्य र संस्कृतिको उन्नयन र विकासको लागि प्रज्ञा प्रतिष्ठानहरुले पुर्याएको योगदानबारे उल्लेख गर्नु भयो । साथै नेपाली साहित्यमा राष्ट्रकवि घिमिरेको योगदानको पनि चर्चा गर्नु भयो ।

साहित्य चौतारीका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले संचालन गर्नु भएको सो कार्यक्रममा लोचन भट्टराई, सम्मानित महाकाली घिमिरे लगायतले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
सो अबसरमा सर्जकहरुले राष्ट्रकविको सङ्ग्रहालयको अवलोकन पनि गर्नु भएको थियो ।





