लेख
नेपालको समकालीन राजनीति र बौद्ध दर्शन
सुषमा आचार्य
नेपालको समकालीन राजनीति एउटा निर्णायक मोडमा उभिएको छ। संविधान निर्माण, संघीयता कार्यान्वयन र गणतन्त्र स्थापनाजस्ता ऐतिहासिक उपलब्धि पछि पनि देश स्थायित्व, सुशासन र जनविश्वासको संकटबाट मुक्त हुन सकेको छैन। सरकारहरू बन्छन् र भत्किन्छन्, गठबन्धनहरू फेरिन्छन्, तर आम नागरिकको जीवनमा परिवर्तनको अनुभूति न्यून छ। यही दुरी राजनीतिक सत्ता र नागरिक यथार्थबीचको दूरी आजको नेपाली राजनीतिक संकटको मूल समस्या हो। यस संकटलाई केवल दल, नेता वा सरकारको असफलतामा सीमित गर्नु अपूरो विश्लेषण हुनेछ। समस्या अझ गहिरो छ यो राजनीतिक संस्कार, नैतिक चेतना र राज्य–समाज सम्बन्धको संकट हो। यही पृष्ठभूमिमा दुई शक्तिशाली प्रवृत्ति एकैसाथ देखापरेका छन्। पहिलो, युवापुस्ताको तीव्र असन्तुष्टि र आन्दोलन, विशेषतः Gen Z द्वारा अभिव्यक्त राजनीतिक विद्रोह। दोस्रो, यति ठूलो राजनीतिक उथलपुथलका बीच पनि नेपाली राजनीतिमा बौद्ध दर्शनजस्तो गहिरो नैतिक–राजनीतिक चिन्तनको अनुपस्थिति । यी दुई प्रवृत्ति एक–अर्कासँग मिलिरहेका छैन । वास्तवमा, यी एक–अर्कालाई व्याख्या गर्ने चाबी हुन्। युवाको आन्दोलन किन यति तीव्र छ भन्ने बुझ्न बौद्ध दर्शन आवश्यक छ, र बौद्ध दर्शन आज किन सान्दर्भिक छ भन्ने बुझ्न युवाको चेतना अनिवार्य छ।
१. नेपाली राजनीतिमा संरचनागत संकटः व्यक्ति होइन, प्रणाली
नेपाली राजनीतिमा असन्तुष्टिको भाषा प्रायः व्यक्ति–केन्द्रित हुन्छ फलानो प्रधानमन्त्री असफल, फलानो नेता भ्रष्ट। यस्ता आलोचनाहरू सत्यका केही अंश हुन्, तर समग्र सत्य होइनन्। समस्या व्यक्तिमा सीमित होइन; समस्या राजनीतिक संरचनामा निहित शक्ति अभ्यासको ढाँचामा छ। आजको राजनीतिक संरचना सत्ता प्राप्ति र संरक्षणमा केन्द्रित छ। नीति निर्माण, दीर्घकालीन दृष्टि र सार्वजनिक सेवा दोस्रो दर्जामा परेका छन्। संसद् विचारको मञ्चभन्दा शक्ति सन्तुलनको थलो बनेको अनुभूति हुन्छ। सरकार गठन र विघटनको प्रक्रिया यति सामान्य भइसकेको छ कि राजनीतिक अस्थिरता नै स्थायित्वजस्तो लाग्न थालेको छ। यस संरचनाले तीनवटा गम्भीर परिणाम निम्त्याएको छ। पहिलो, नैतिक उत्तरदायित्व कमजोर भएको छ। सत्ता पाएपछि जवाफदेहिता बोझजस्तो लाग्ने प्रवृत्ति मौलाएको छ। दोस्रो, संस्थागत अविश्वास बढेको छ। संसद्, न्यायपालिका, प्रशासन र निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास क्रमशः घट्दै गएको छ। तेस्रो, युवापुस्ताको राजनीतिप्रति दूरी गहिरिँदै गएको छ। यही नै पछिल्लो समय विस्फोटको रूपमा देखा परेको हो।
२. बौद्ध दर्शनः राजनीति बाहिर राखिएको गहिरो चिन्तन
नेपाल बुद्ध जन्मभूमि हो भन्ने तथ्य हरेक औपचारिक समारोहमा दोहोरिन्छ। लुम्बिनीलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिन्छ। तर विडम्बना के छ भने, बौद्ध दर्शनलाई राज्य सञ्चालन र राजनीतिक संस्कारसँग जोडेर हेर्ने प्रयास अत्यन्त कमजोर छ। बौद्ध दर्शनलाई प्रायः धर्म, पूजा र व्यक्तिगत मोक्षको मार्गमा सीमित गरिन्छ। तर वास्तवमा बुद्धको शिक्षाको मूल प्रश्न व्यक्तिगत मात्र होइन, सामाजिक र राजनीतिक हो। बुद्धले दुःखको कारण लोभ, मोह र अहंकार भनेका छन्। यी तीन तत्व व्यक्तिगत जीवनमा मात्र होइन, राज्य र शासनमा पनि समान रूपमा लागू हुन्छन्। आजको नेपाली राजनीतिमा लोभ—सत्ता र स्रोतको लालसा—स्पष्ट देखिन्छ। मोह—पद, कुर्सी र प्रभावप्रतिको आसक्ति—सामान्यीकृत छ। अहंकार—आलोचना नसहने, आफूलाई अपरिहार्य ठान्ने प्रवृत्ति—राजनीतिक संस्कार बनेको छ। बौद्ध दर्शनले यी सबैलाई दुःखको कारण मान्छ र समाधानका रूपमा आत्मसंयम, करुणा र विवेक को मार्ग देखाउँछ। बौद्ध राजनीतिक चिन्तनमा शासक “सर्वशक्तिमान” होइन, “धम्मराज” नैतिक रूपमा उत्तरदायी सेवक हुनुपर्छ। शक्ति स्थायी होइन, पद अस्थायी हो, र शासनको उद्देश्य जनताको दुःख न्यूनीकरण हो। यस्तो दर्शन सत्ता–केन्द्रित राजनीतिका लागि असहज हुन्छ। सायद यही कारण बौद्ध दर्शनलाई औपचारिक सम्मान दिइए पनि व्यवहारिक राजनीतिबाट टाढा राखिएको छ।
३. युवापुस्ताको असन्तुष्टिः किन Gen Z फरक छ ?
नेपालको इतिहासमा युवा आन्दोलन नयाँ होइन। २००७, २०४६ र २०६२/६३ का आन्दोलनहरूमा युवाको महत्वपूर्ण भूमिका थियो। तर पछिल्लो Gen Z आन्दोलन गुणात्मक रूपमा फरक छ । यो पुस्ता डिजिटल युगमा हुर्किएको भएर सूचना–सचेत छ, विश्वसँग तुलना गर्छ र अधिकारबारे स्पष्ट छ। यसले “धैर्य गर”, “व्यवस्था बलियो हुँदैछ” जस्ता परम्परागत राजनीतिक तर्कहरू सहजै स्वीकार्दैन। यसको राजनीतिक चेतना केवल राष्ट्रिय होइन, वैश्विक छ। यो पुस्ताको असन्तुष्टि केवल बेरोजगारी वा आर्थिक कठिनाइमा सीमित छैन। यसको मूल प्रश्न न्याय, अवसर र गरिमाको हो। किन केही सीमित परिवार र समूह सधैं सत्ता र स्रोतको केन्द्रमा छन् ? किन मेहनत र योग्यता भन्दा पहुँच र नाता निर्णायक हुन्छ ? किन अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई राज्यले असहज ठान्छ ? यी प्रश्नहरूले उनीहरुलाई सडकमा ल्यायो।
४. आन्दोलनः अराजकता कि नैतिक विद्रोह ?
युवा आन्दोलनलाई कतिपयले अराजक, भावनात्मक वा क्षणिक आवेगको परिणाम भनेर व्याख्या गर्ने प्रयास गरे। तर यो दृष्टिकोण सतही छ। आन्दोलनका नारा, माग र स्वरूप नियाल्दा स्पष्ट हुन्छ—यो नैतिक विद्रोह हो। युवाहरूले माग गरेका कुरा के थिए ? पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारविरुद्ध कडा कारबाही, अभिव्यक्ति स्वतन्त्रता र अवसरको समानता। यी कुनै पनि माग अराजक होइन यी त लोकतन्त्रका आधारभूत मूल्य हुन्। आन्दोलनको स्वरूप—डिजिटल सञ्जालको प्रयोग, स्वतःस्फूर्त संगठन, नेतृत्वविहीन तर साझा चेतना—परम्परागत राजनीतिका लागि चुनौती थियो। यसले देखायो कि राजनीतिक शक्ति अब केवल पार्टी संरचनामा सीमित छैन। नागरिक चेतनाले पनि सत्ता हल्लाउन सक्छ।
५. बौद्ध दर्शन र युवा चेतनाको संगम
रोचक कुरा के छ भने, धेरै युवा आफूलाई धार्मिक भन्दैनन्। उनीहरू धर्मप्रति आलोचनात्मक छन्। तर उनीहरूको माग—न्याय, करुणा, अहंकारविहीन सत्ता—बौद्ध दर्शनका मूल मूल्यसँग आश्चर्यजनक रूपमा मेल खान्छ। यस अर्थमा, यो आन्दोलन बौद्ध दर्शनको धर्मनिरपेक्ष, आधुनिक राजनीतिक अभिव्यक्ति जस्तै देखिन्छ। युवाले करुणा शब्द प्रयोग नगर्लान्, तर उनीहरू अन्याय र पीडाको अन्त्य चाहन्छन्। उनीहरूले मध्यम मार्ग भन्ने शब्द नबोल्लान्, तर चरम सत्ता दमन र अराजकता दुवै अस्वीकार गर्छन्। यस संगमले एउटा गहिरो सम्भावना देखाउँछ यदि बौद्ध दर्शनलाई आधुनिक, धर्मनिरपेक्ष राजनीतिक मूल्यका रूपमा पुनःव्याख्या गरियो भने, यसले युवा चेतनालाई वैचारिक गहिराइ दिन सक्छ।
६. वर्तमान राजनीतिक आन्दोलन र दलहरूको संकट
युवाको दबाबले परम्परागत दलहरूलाई गम्भीर संकटमा पारेको छ। दलभित्र पुस्तान्तरणको प्रश्न उठेको छ। पुरानो नेतृत्वमाथि अविश्वास बढेको छ। नयाँ वैकल्पिक शक्तिहरू उदाउँदैछन् तर दलहरूको प्रतिक्रिया अझै पनि प्रायः रक्षात्मक छ। युवालाई “अपरिपक्व” ठान्ने, आन्दोलनलाई “प्रेरित” भन्ने र संरचनागत सुधारभन्दा व्यवस्थापनमा सीमित रहने प्रवृत्ति देखिन्छ। यसले समस्या समाधान होइन, संघर्षलाई थप गहिरो बनाउँछ।
७. आगामी निर्वाचनः केवल सत्ता होइन, संस्कारको जनमत
आगामी निर्वाचन नेपालको लागि सामान्य राजनीतिक प्रक्रिया मात्र होइन। यो राजनीतिक संस्कारमाथिको जनमत हुनुपर्छ । मतदाताले केवल कसलाई प्रधानमन्त्री बनाउने भन्ने होइन, कस्तो राजनीति स्वीकार गर्ने भन्ने निर्णय गर्नुपर्छ । यो निर्वाचनमा केही मुख्य प्रश्न केन्द्रीय हुनेछन् । के मतदाताले पुरानै सत्ता–केन्द्रित शैलीलाई निरन्तरता दिनेछन् ? कि नैतिकता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने विकल्प खोज्नेछन् ? के युवा केवल मतदाता रहनेछन्, कि सक्रिय राजनीतिक सहभागी बन्नेछन् ? परम्परागत दलहरूका लागि यो निर्वाचन अस्तित्वको प्रश्न हो। यदि उनीहरूले युवा चेतना र नैतिक प्रश्नलाई आत्मसात् गर्न सकेनन् भने, सिट जिते पनि वैधता कमजोर हुनेछ।
८. सम्भावित भविष्यका तीन मार्ग
नेपालको राजनीतिक भविष्य तीन सम्भावित मार्गतर्फ जान सक्छ।
पहिलो, यथास्थितिः सत्ता फेरिन्छ, तर संस्कार उस्तै रहन्छ। यसले असन्तोषलाई दबाएर राख्छ, तर समाधान गर्दैन। दोस्रो, दमन र नियन्त्रणः आलोचनालाई अराजक ठहर गर्ने, अभिव्यक्ति संकुचित गर्ने। यसले अस्थायी शान्ति दिन सक्छ, तर दीर्घकालीन अस्थिरता निम्त्याउँछ। तेस्रो, नैतिक–राजनीतिक रूपान्तरणः बौद्ध दर्शनका मानवीय मूल्य आत्मसात् गर्दै, युवाको चेतनालाई राजनीतिक प्रक्रियामा समेट्दै, जवाफदेहितालाई संस्थागत बनाउने। यो मार्ग सबैभन्दा कठिन छ, तर दीगो पनि यही हो।
अन्त्यमा, राजनीति आत्माविहीन संरचना बन्ने कि पुनर्जीवित अभ्यास ? नेपालको समस्या विकासको अभाव होइन; दिशाको संकट हो। दिशा बिना विकास विनाशमा परिणत हुन्छ। आजको युवा आन्दोलनले यही दिशाको प्रश्न उठाएको छ। बौद्ध दर्शन कुनै धार्मिक एजेन्डा होइन। यो सत्ता, नैतिकता र मानव पीडाबीचको सम्बन्धबारेको गहिरो राजनीतिक चिन्तन हो। यो कुनै क्षणिक आवेग होइन; यो नैतिक प्रश्नको सार्वजनिक उद्घोष हो। यदि नेपाली राजनीतिले यी दुईलाई जोडेर बुझ्न सकेन भने, निर्वाचनहरू हुँदै जानेछन्, सरकारहरू बन्दै–भत्किँदै जानेछन्, तर लोकतन्त्र औपचारिक संरचनामा सीमित रहनेछ तर यदि यसलाई बुझ्न सकियो भने, यही असन्तोषबाट नयाँ राजनीतिक युग जन्मिन सक्छ—जहाँ सत्ता सेवा बन्छ, राजनीति नैतिक अभ्यास बन्छ, र लोकतन्त्र कागजमा होइन, जीवनमा अनुभूत हुन्छ ।