
दोलखा । साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि जिरीमा परिचर्चा गरिएको छ ।
जिरी समुदायिक पुस्तकालयमा हालै आयोजित कार्यक्रममा जिरी माविका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलले उपन्यासका मुख्य पात्र नै ‘किवाहाङ’ रहेको बताए । किवाहाङ अर्थात् बाघको राजा भनेर किरात भाषाबाट पात्रको नाम चयन गरिएको हो’उनले भने । विगतमा ब्रिटिस गोर्खाहरूले मलेसिया, सिंगापुर, ब्रुनाई, बेलायत, हङकङमा भोगेका कथाले उपन्यास पठनीय बनेको उनको भनाइ थियो ।
यो उपन्यास ६० वर्षअघि समुद्रपारि देशहरूमा नेपालीहरूको डायस्पोरिक जनजीवनमा आधारित छ । यस्तै, युद्ध इतिहास, किरात संस्कृति, लाहुरे संस्कृति, आञ्चलिकताजस्ता विषय पनि यस कृतिमा समेटिएको छ । यस कृतिले नेपाल र ब्रिटिसले गोर्खाहरूमाथि गरेको विभेद,शोषण, तत्कालीन मलेसिया, हङकङ, ब्रुनाई, सिंगापुर गृहयुद्ध, त्यहाँका जनजीवन, गोर्खाहरूको भूमिकालाई उजागर गरेको छ ।
पुस्तक परिचर्चा तथा पुस्तकालय पुस्तक हस्तान्तरण कार्यक्रममा जिरी नगरपालिकाका पूर्वनगर प्रमुख टंकबहादुर जिरेल, वडा नम्बर ६ का वडाध्यक्ष मरीचबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार कार्की, नगर कार्यपालिकाका सदस्य वीरबहादुर जिरेलको उपस्थिति थियो । यस्तै, अभिभावक, शिक्षाप्रेमी, विभिन्न विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी सहभागी थिए । केशवकुमार कार्कीको सभापतित्वमा सञ्चालित कार्यक्रममा जिरी माविका प्रधानाध्यापक कुमार जिरेलले स्वागत मन्तव्य राखेका थिए ।

सहायक प्रधानाध्यापक खिम्बक विकलगायत वक्ताले ज्ञानको भण्डार पुस्तक र पुस्तकको भण्डार रू १ लाख मुल्य बराबारको हाम्रो जिरी सामुदायिक पुस्तकालय जिरी माविलाई उपलब्ध गराएकोमा साहित्यकार राईप्रति आभार व्यक्त गरेका थिए ।





