
काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न ११ औँ महाधिवेशनमा पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकमा पोखरेलले अध्यक्षमा औपचारिक रुपमा दाबी पेश गरेका हुन् ।
पोखरेलको घोषणापछि एमाले नेतृत्व चयनका लागि महाधिवेशनमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । एमाले सचिवालयकै केही सदस्यहरूबीच बुधवार अनौपचारिक छलफल भएपछि पोखरेलले बिहीबार सचिवालय बैठकमा महाधिवेशनमा नेतृत्व दाबी गर्ने बताएका हुन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सहमति मै नेतृत्व चयन गर्नु उपयुक्त हुने भएपनि महाधिवेशनमा सबैका लागि प्रतिस्पर्धा खुला रहेको बताएका थिए ।
‘पार्टी र आन्दोलन संकटमा रहेको बेला सकेसम्म पार्टीमा सर्वसम्मतिमा नेतृत्व चयन गरौँ र पार्टीलाई एकताबद्ध गरौँ’ ओलीले बैठकमा भने, ‘अहिले मैले नेतृत्व छाड्ने कुरा सम्भव छैन । कसैले प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने नगर्नुहोस् भन्दिन, प्रतिस्पर्धा खुला छ ।’





