
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी उपाध्यक्ष एवम प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार आज बस्ने बैठकले केन्द्रीय सचिवालय बैठकले पारित गरेका विषयलाई अनुमोदन गर्दै केन्द्रीय समितिको बैठकमा पठाउने छ ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटीको भर्चुअल बैठक विहिबारका लागि बोलाएको छ ।
यसअघि असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसङ्ग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने, वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने र प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने लगायतका निर्णय गरेको थियो ।







