
अब आउने कार्तिकशुक्ल प्रतिपदाले ११४५ लाई बिदा दिएर ११४६ लाई स्वागत गर्दैछ वास्तवमा यही नेपालसंवत्को वर्ष हो । विश्वभरि छरिएर रहेका सारा नेपालीको लागि सर्ब स्वीकार्य नेपालसंवत् पनि यही हो । यसमा कुनै प्रकारको फरक मत देखिंदैन । केही वर्ष अघिसम्म नेपालसंवत् भनेको केवल नेवार समुदायको मात्र संवत् हो , त्यसकारण नेवार समुदायले यो संवत्लाई राष्ट्रिय मान्यता चाहियो, सरकारले मान्यता दिनु प¥यो भनी माग राख्दै गर्दा केही अतिवादी समूहले त्यो मागलाई दुस्साहस गरेको भन्दै हप्काउने गर्दै आएका थिए । जुन कुरा नेवार समुदायले त्यो हप्काईलाई कहिल्यै बिर्सेको छैन । आज आएर नेपालसंवत् राष्ट्रियसंवत् घोषित भइ सकेको मात्र होइन , जुनसुकै पार्टीको सरकार बन्दै आएतापनि सबै सरकारले मान्यता दिइकन सरकारी कामकाजमा समेत नेपालसंवत्को मिति पनि अनिवार्य लेख्नु पर्ने भइसकेको र दल बेगरको सरकारले पनि अन्यथा गर्ने छैन ।
यसरी नेपालसंवत्को वर्ष अंकमा कुनै फरक मत नदेखिएतापनि यसभित्रको बुझाईमा मात्र होइन दिन गणनाको सवालमा पनि फरक धारहरु उत्पन्न भई त्यो समस्या भने यथावत् रुपले आफनो ठाउँमा ज्यूँकोत्यूँ कै रुपमा रही आएको छ । यतातिर भने चासो राख्न खोजेको पटक्कै देखापरेको छैन । भलै कसैले यसमा चासो राखेनन् भनेपनि यो समस्याको विषय चाहिं अवश्य नै हो । अतः यो समस्याबाट निदान पाउन गम्भीर भएर नियालेर हेरी कारण पत्ता लगाउन अत्यावश्यक भइसकेको छ । नेपालसंवत्को विषयमा सबै फरक धारहरु एकत्रित राखी हेर्दा दुईवटा समूहमा छुट्याएर अध्ययन गरी यो लेख तयार गरिएको छ ।
पहिलो समूहमा विशुद्ध प्राज्ञिक जगत रहने गरेको छ भने अर्को समूहमा सर्वसाधारण जगत रहने गरेको छ । विशुद्ध प्राज्ञिक जगत भनेका तात्कालिक तथ्य प्रमाणमा मात्र टेकेर लेख्ने र बोल्ने इतिहासकारहरु पर्दछन् । सर्वसाधारण भनेका पनि लेखक नै हुन् तर इतिहासकार होइनन् उनीहरुले तात्कालिक हो होइन कुनै मतलव नराखी पछि सृजना भएको कथा कथुङ्ग्री भए पनि त्यसकै भावनामा बगेर लेख्ने र बोल्नेहरु पर्दछन् ।
पहिलो समूहका प्राज्ञिक जगतले पछि सृजना गरिएका कथा कथुङ्ग्रीहरुलाई कुनै स्थान दिंदैनन् र कोही रिसाउलान् कि समर्थकहरु नआउलान् कि भन्ने कुरालाई पनि कुनै परवाह नगरी यथार्थचित्र अघिसारी ऐतिहासिक घटनालाई न्याय दिने उद्देश्यले निर्णय दिने गर्दछ । अर्काे समुह भनेको यसको ठीक बिपरीत छन् । उनीहरु जनसमुदायको भीड जतातिर बढी छ , उतातिर ढल्किने मात्र होइन । पछि सृजना भएका स्रोत सत्य नभए किन? लेखियो होला भन्ने खालको तर्क राख्छन् । बालुवा सुनमा परिणत भएको असंभव कथालाई पनि मान्यता दिएर जता भीड जमात ठूलो छ त्यही सत्य भन्दै लेख्ने बोल्नेहरु पर्दछन् ।
पहिलो समूहका प्राज्ञिक जगतले मतलव राख्ने अरुले नराख्ने प्रमाण स्रोतहरु
१) सहोत्तर तन्त्रको पुष्पिका वाक्यका उद्धरणहरु
(क) समाप्तेञ्चेदं सहोत्तरतन्त्रमिति…………..
राज्ञि श्रीमानदेवे पृथुसितयशसि प्रोद्यदिन्दुप्रकाशे
कालेपुण्याज्र्जनस्य सकलजनमनोह्लादिरम्ये वसन्ते ।।
( लिच्छविकालका अभिलेख ,पृष्ठ ५९९)
( पृथुले जस्तो यश पाएका चन्द्रमाको जस्तो शीतलता दिने, हरेक समय गुणको चर्चा हुने सबैको मनमा बस्न सक्ने वसन्त जस्तो भनी राजा मानदेवको प्रशंसा सहोत्तरतन्त्र समाप्त गर्दा गरिएको कुरा यस उद्धरणले बताउँछ )
यस पुष्पिकामा संवत् ३०१ वैशाखमा मानदेव नाम गरेको राजा शासन गरिरहेका थिए भनेर स्पष्ट बोलेका छन् । धनवज्र वज्राचार्यकाअनुसार संवत् ३०१ मा राजा मानदेवको समयमा यो ग्रन्थ सारेर सिद्ध्याइएको हो र यो नेपालसंवत् शुरु हुनु भन्दा ३ वर्ष अघिको हो भनिएको छ । यस पुष्पिकाको केही भाग पं बुद्धिसागर पराजुलीबाट प्रकाशित भएको छ भने डिल्लीरमण रेग्मीको एनशेण्ट नेपालको पृष्ठ २०८ मा पनि प्रकाशित छ भनी पादटिप्पणीमा खुलाइएको छ ।
पहिलो समूहका प्राज्ञिक जगतले सहोत्तरतन्त्रको पुष्पिका वाक्यमा भएको संवत् साँच्चै नै नेपालसंवत् शुरु हुनु भन्दा ३ वर्ष अघिको हो भन्ने पक्षमा छैन र त्यही कुरा प्रमाणको रुपमा अघि सार्छ । दोस्रो समूहका लेखक जतिले धनवज्रले पनि ३ वर्ष अघिको भनेको छ , संशोधन मण्डलले पनि ३ वर्ष अघिको भनेको छ र अरु पनि थुप्रै लेखकले ३ वर्ष अघिकै भनेको हुनाले यही ठीक छ भनी निर्णय गर्छ र गरी आएको पनि यही हो । यहाँ यी दुई समूह बीचको फरक नै यही हो ।
अर्को कुरो नेपालसंवत् शुरु हुनु भन्दा डेढ वर्ष अघिसम्म मानदेव नाम गरेका राजा शासन गरिरहेका थिए भने नेपालसंवत् शुरु भएको समयमा नेपालमा कुन चाहिं राजाले शासन गरिरहेका थिए भन्ने कुरा तथ्य एवं भरपर्दो स्रोतको आधारमा निर्णय गर्ने काम पहिलो समुहले गर्दछ । दोस्रो समूहले चाहिं भाषा वंशावलीमा आनन्ददेव थिए भनेको हुनाले त्यसमै टेकेर ठोकुवा गर्दै आए । यहाँ पनि पहिलो समूह र दोस्रो समूहको भिन्नता प्रष्ट छुट्टिन्छ ।
(ख) वर्षे चैकोत्तरस्मिंस्त्रितयशतगते माधवे मासि शुक्ले
सप्तम्यां पुष्यऋक्षे दश(श)तकिरणे वासरे सिद्धियोगे ।।
( संवत् ३०१ वैशाख शुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार सिद्धयोग)
( लिच्छविसंवत्को निर्णय ,पृष्ठ १९)
यो सहोत्तरतन्त्रको मिति हो यसमा संवत् ३०१ दिइएको भनेको अंशुवर्माको पालामा ५०० तष्ट भएर आएकोले ३०१ भनेको लिच्छविसंवत् ८०१ वैशाखशु्क्ल सप्तमी आइतवार तिष्य नक्षत्र सिद्धयोग परेको भनी बुझ्नु पर्दछ ।
लिच्छविसंवत् ८०१ भनेको शकपूर्व २ को भएको हुनाले यो शक ७९९ को कार्तिकदेखि शक ८०० को आश्विनसम्म रहने हुन्छ भनेर समेत बुझ्नु जरुरी हुन्छ ।
अव यसको तारिख गणना
अभिलेखको संवत् ८०१(३०१)= शक ७९९ को कार्तिकदेखि शक ८०० आश्विनसम्म बस्ने हुंदा
३०१ वैशाख = शक ८०० वैशाख हुने भयो ।
यहाँ लिच्छविसंवत् ८०१ चाही कार्तिकादि वर्ष हो र शकसंवत् चैत्रादि भएको हुनाले शक ७९९ को कार्तिकदेखि शक ८०० को आश्विनसम्म रहन्छ भनी फेरि प्रष्ट पार्न खोजेको हो ।
तिथिगण= चैत्रशुक्ल प्रतिपदा देखि इष्टदिनसम्मका तिथि
=चैत्रादि गतचान्द्रमास ह्३० +वर्तमान चान्द्रमासका शुक्लादि वर्तमान तिथि
= चैत्र १ + वैशाख शुक्ल सप्तमी ७
=१ह्३०+७ =३०+७=३७
यहाँ शकसंवत् चैत्रादि सिद्धान्तबाट गरिएकोले चैत्रको मास ३० दिन र वैशाख शुक्लको सप्तमी ७ सात समेत गरी चैत्र शुक्ल प्रतिपदादेखि इष्ट तिथि भनेको वैशाख शुक्ल सप्तमीसम्म दिन गन्दा ३७ भएको हो । यदि शकसंवत्लाई कार्तिकादि भनियो भने कार्तिकशुक्ल प्रतिपदादेखि वैशाखशुक्ल सम्म गन्नुपर्दा १८७ दिन हुनजाने हुनाले त्यो किमार्थ मिल्दैन । अतः शकसंवत् चैत्रादि नै हो कार्तिकादि होइनन् भन्ने यसले पुष्टि गर्दछ ।
यसको इष्ट शक = शक ८०० भयो । इष्ट इश्वी ८०० + ७८ गर्दा = इश्वी सन् ८७८ भयो ।
तिथिगण = चैत्र १ + वैशाख ७ =३०ह्१+७ = ३७ । ३७—१८=१९(मेषतिथ्यन्तको १८लाई घटाएको )

१.प्राचीन रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
प्रायः सबै जसो लेखकहरुले नेपालसंवत्को शुरु कीलहर्नका अनुसार इश्वी ८७९ अक्टोवर २० तारिखमा भएको हो भन्दै आएका छन् भन्ने कुरा सर्बविदित नै छ । नेपालसंवत् शुरु हुनुभन्दा ३ वर्ष अघि भनेको ८७९–३=८७६ हुन आउँछ । त्यसकारण ३ वर्ष अघिको इस्वीसंवत्को मिति ८७८ होइन । तब सहोत्तरतन्त्रमा भएको संवत् ३०१ वैशाख भनेको नेपालसंवत् शुरु हुनु भन्दा ३ वर्ष अघिको मिति होइन भन्ने स्पष्ट हुन्छ । त्यही भएर इतिहासकार धनवज्र वज्राचार्यले सहोत्तर तन्त्रमा भएको संवत् ३०१ लाई नेपालसंवत् शुरु हुनु भन्दा ३ वर्ष अघिको मानेको हुनु बिल्कूल गलत सिद्ध छ तर तमाम लेखकहरुले धनवज्रले पनि ३ वर्ष अघिको भनेको छ , संशोधन मण्डलले पनि ३ वर्ष अघिको भनेको छ र अरु पनि थुप्रै लेखकले ३ वर्ष अघिकै भनेको हुनाले सारा लेखकहरुले जे भन्दै आए त्यही कुरा सत्य मानी सकार्दै आएका छन् । त्यो नितान्त गलत हो । पहिलो समूहका प्राज्ञिक जगतले यसता गूढ कुरा समात्छ भने दोस्रो समूहका लेखकहरुले त्यसलाई मतलव नै राखेको छैन । अभिलेखको संवत् ३०१ लाई नेपालसंवत् शुरु हुनु भन्दा ३ वर्ष अघिको भन्ने उता ३०१ को समानान्तर इस्वी ८७८ हुने र नेपालसंवत् शुरुको समानान्तर ८७९ मान्दा ३ वर्ष नदेखिएपनि भयो होला भनेर पत्याउँदै आए । वास्तवमा पहिलो समूह र दोस्रो समूह बीचको भिन्नता यहीं स्पष्ट छुट्टिन्छ ।
२. नेपालसंवत्को नामाकरण
सहोत्तरतन्त्र सारिएको मितिको तारिख गणना गर्दा इश्वी ८७८ अप्रील १३ तारिख आइतवार आएको र कीलहर्नले भनेको नेपालसंवत् शुरु भएको मिति ८७९ अक्टोवर २० तारिख बीच केवल डेढ वर्षको फरक हुनाले डेढ वर्ष अघिसम्म लिच्छविकालदेखि चल्दै आएको संवत् व्यवहारमा थिए । लिच्छविकालमा व्यवहार भएको संवत्लाई लिच्छविसंवत् भन्नु कुनै नाजायज होइन । यही लिच्छविसंवत् जयवर्माको पालामा १०७ थियो भने मानदेव प्रथमको पालामा ३८६ भयो र शिवदेव अंशुवर्माको पालामा ५२६ भयो । त्यस उपरान्त अंशुवर्माको एकल शासन शुरु भयो । उनले आफनो एकल शासनको समयमा ५२९ संवत्लाई २९ मात्र गरी संक्षिप्त रुपमा व्यवहार गरेर हेरे यसमा कसैले आपत्ति जनाएनन् । यद्यपि यसरी संक्षिप्त गरिएकै संवत् नै व्यवहार हुनुपर्दछ भन्ने बाध्यात्मक पनि गरिएको थिएन भन्ने कुरा स्वयं अंशुवर्माको लगन ज्यावहालको अभिलेखमा संवत् ५३५ जनिएको साथै गोकर्ण वालुवा गाउँ र पाटन मंगलवजारमा भेटिएको अभिलेखमा स्वयं अंशुवर्माले ५३६ को ठाउँमा संवत् ३५ र ३६ भनेर संक्षिप्त गरिएन यही यसको ज्वलन्त प्रमाण हो । यस कुरामा पनि पहिलो समूह र दोस्रो समूह बीच समान धारणा विकास हुन सकेको छैन । यद्यपि दोस्रो समूहले यो कुरा होइन भनी सिद्ध गर्न सक्ने सामथ्र्य देखाउन सकेको पनि छैन ।
जेहोस ५२९ को सट्टा २९ मात्र गरेर ५०० अव्यक्त गरिएको संवत् अन्तमा आएर ३०१ पुग्यो । यही ३०१ सहोत्तरतन्त्रको पुष्पिका लेख्दासम्म प्रयोग भएको प्रमाण बन्यो । त्यसको डेढ वर्ष पछि नयाँ संवत्को थालनी भयो । त्यो नयाँ संवत् पनि लिच्छविकालमा कुनै विशेषण जोडे बिना प्रयोग भएर आए जस्तै गरी कुनैपनि विशेषण जोडे बिना संवत् मात्र जनीकन प्रयोग भएर आए । कालान्तरमा यो नयाँ संवत्को नाम विशेषण बनाउने प्रयास हुन थाल्यो ।
नयाँ संवत्को नामलाई विशेषण जनाउने क्रममा हालसम्म प्राप्त भएको जानकारीमा अष्टसाहस्रिका प्रज्ञापारमिता नामक बौद्धग्रन्थमा राजा रुद्रदेवको पालामा संवत् १४८ लाई नेपालवत्सर भनेर नाम विशेषण जनाइयो यो कुराको पहिलो प्रकाश लुसियानो पेतेकले आफनो पुस्तकको पृष्ठ ३७ मा उल्लेख गरेको छ । यो ग्रन्थ कलकत्तामा बस्ने एस.के. सरस्वतीको संग्रहमा छ भनेर पनि जनाइएको छ । यो कुरा नेपाली जनमानसमा हालसम्म धेरैले व्यापक प्रचार गराइ सकेको हुनाले त्यो कुरा नौलो रहेन ।
त्यस्तैगरि पेतेकले प्रकाशमा ल्याएका अरु थुप्रैग्रन्थ सूचीमा राष्ट्रिय अभिलेखालयमा रहेको संवत् २९० को शिवधर्मशास्त्रमा राजा रुद्रदेवको पालामा नेपालसंवत्सर जनिएको प्रमाण अघिसारेको छ । उहाँले अघिसारिएका अरु पनि थुप्रै स्रोतहरुमा नेपालसंवत्सरे उल्लेख भइरहेको पहिलो प्रकाश उहाँले नै गर्नु भएको देखिन्छ । त्यस्तै कुनैमा नेपालसंवत्सर,नेपालाव्द संवत् ,नेपालकिसंवत्, नेपालहायन भन्दै अनेक अनेक विशेषणहरु दिंदै आउन थालियो । त्यस्तैगरि ३०४ को एक ग्रन्थ पुष्पिकामा नेपालदेशीय संवत् भनेर उल्लेख गरिए । अर्को उदाहरणमा ३६६ को अभयमल्लको पालाको ग्रन्थ पुष्पिकामा नेपालदेशीयाभिलिख्यमान संवत् भनेर उल्लेख गरिएको छ । यहाँ सबभन्दा ध्यानाकृष्ट हुने कुरा भनेको जयाज्र्जुनदेव र जयस्थिति मल्लको पालाको स्वयम्भुको एक शिलालेखमा संवत् अंक ४९२ लेख्दा स्पष्ट रुपले नेपालसंवत् भनेर उल्लेख गर्न पुगे । त्यसकारण अहिले हामीले जसरी नेपालसंवत् ११४५ भन्ने गरेका छौं त्यस्तैगरि नेपालसंवत् भनेर संवत्को नाम विशेषण यो बेलादेखि भएको भन्ने प्रमाण दृष्टान्त भएर रहेको छ । अर्को कुरा नेपालसंवत् ४९२ सम्म शंखधरको नाम कुनै कतैमा नामो निशान भेटिएको छैन । त्यतिमात्र होइन शंखधर कुन समय ताकाको भन्ने कुरा पनि नेपालसंवत् शुरु भए यता ४९२ सम्म पनि कहीं कतै स्रोतमा देखापरेको छैन निक्कै कालान्तरमा आएर लेखिएको भाषा वंशावलीमा देखा परेको हो । यदि नेपालसंवत् शंखधरले चलाएकै हो भने यो संवत् शुरु भएदेखि ४९२ भित्र कहीं न कहीं देखिएकै हुनुप¥यो अन्यथा पहिलो समूहले पत्याउने वाला छैन । अतः शंखधरको नाम नेपालसंवत्लाई गरिमामय बनाउनमा योगदान दिने कालान्तरका व्यक्ति सायद हुन सक्छ तर उनले चलाएको भनेर मान्ने पक्षमा पहिलो समूह छैन र ती कुरालाई प्रामाणिक मान्दैन । दोस्रो समूहकाले भने यसको कुनै मतलव राख्दैन र शाहकालमा आएर लेखिएको राजभोगमाला र भाषावंशावलीमा नेपालसंवत् शंखधरले नै चलाएको भनेर लेखेकोले त्यही कुरा प्रयाप्त मानेको छ । यहाँ पनि पहिलो समूह र दोस्रो समूह बीचको अन्तर स्पष्ट छुट्टिन्छ ।
काशीनाथ तमोटका अनुसार तिव्वतको एउटा तञ्जूर ग्रन्थमा २५१ हो कि २९१ स्पष्ट नभएको एक ठाउँमा बुलोङ्खो भन्ने शव्द उल्लेख छ त्यो भनेको ऋणमोचन हो भनेर तर्क अघिसारेको छ । यो भोट्विद्हरुको कथन अनुसार हो र त्यस तञ्जूरमा शंखधरको नाम पनि छ कि खोज्न भने सक्नु भएन र पाउनु भएन । यसको मतलव उक्त तर्कमा कुनै दम छैन भनी स्वतः प्रमाणित हुन्छ । उहाँले लेख्नु भएको शङ्धरकृत नेपालसंवत् नामको पुस्तकमा भक्तपुर जेलाँ टोलको पाटीमा रहेको शिलालेखमा नेपालसंवत् ८२७ मा शंख्वासंवत् लेखिएको पाइयो भनी बडो दृढताका साथ झ्याली पिटाइयो तर यो शिलालेख बनावटी एवं कृतिम नक्कली शिलालेख हो । यो कुरा उक्त पुस्तकको ६२ र ६३ पृष्ठ पल्टाएर हेरियो भने राष्ट्रिय अभिलेखालयमा रहेको प्रति र पाटीमा रहेको शिलालेख प्रति उही हो भनेर देखाइयो ।
यो केवल उहाँको आँखाले मात्र उही देख्ने हो अरुको आँखाले त्यसो भन्दैन । तैपनि यस कुराको प्रतित नमान्ने होभने पाटीको शिलालेखको उतार छापा निकालेर अभिलेखालयमा भएको प्रति संगै राखेर दाँजेर हेर्न त जसले पनि सक्छ ,दाँजेर हेरे भइ हाल्छ । तर बुद्धिमानलाई इशारा नै काफी छ भने झै शिलालेखमा संवत्को अंकको अलावा शव्दात्मकबाट पनि दिइएको छ त्यो हो शंख्या जोग वसु । यो भनेको नेपालसंवत् ८२९ हो किनकि शंख्या ९,जोग २,वसु ८ यसलाई अंकानां वामतोगति सूत्र अनुसार ८२९ हुने हो । त्यसरी कृतिम बनावटी शिलालेख तयार गर्न लगाउँदा ८२७ भनेर जनाउन लगाइएबाट स्वतः सिद्ध हुन्छ कि यो नक्कली ठहर हुन्छ । यो हरकतलाई भावि पुस्ताले यो पुस्तालाई अवश्य धिक्कार्ने छ । यहाँ पनि पहिलो समूहका इतिहासकारले यस्तो कृतिम बनावटी शिलालेखलाई प्रामाणिक स्रोत मान्दैन भने दोस्रो समूहका लेखकले यसलाई वाह! वाह! गर्दै तारिफ गर्दै आएका छन् ।
३. नेपालसंवत्को वर्षमा हुनुपर्ने दिन
ज्योतिष शास्त्रहरुमा संवत्सर पाँच प्रकार छन् भनी दिइएका हुन्छन् । यो कुरा ज्योतिषका हरेक पुस्तकमा पाइन्छन् । ती पाँच प्रकार भनिएका १ सावनवर्ष,२ सौरवर्ष,३ चान्द्रवर्ष, ४ नाक्षत्रवर्ष र ५ बार्हस्पत्यवर्ष । यी मध्ये नाक्षत्रवर्ष र बार्हस्पत्यवर्षको गणना विशुद्ध ज्योतिषगणनामा मात्रै प्रयोग हुन्छ । सावन संवत्सरमा ३६० दिन हुन्छ जसमा हरेक महिना ३० दिनले १२ महिनाको ३६० दिन मानेर गणना गरिन्छ । सौर संवत्सरमा ३६५ दिन हुन्छ यसमा सूर्य मेषसंक्रान्तिबाट शुरु भएको मानेर फेरि मेषसंक्रान्ति आउने बेलासम्म ३६५ दिनको वर्ष मान्छ भने चान्द्र संवत्सरमा ३५४ दिन हुन्छ । यसमा हरेक ३ वर्षमा अधिमास सहित गनेर हरेक सौर वर्षको ३६५ गुणा ३ बरावर १०९५ दिन भए बमोजिम चान्द्रवर्षको ३५४ गुणा ३ गर्दा १०६२ हुन्छ । हरेक वर्ष ११। ११ दिन नपुग भएको ११ गुणा ३ गरेर आएको ३३ दिन समेत १०६२ मा जोड गरेर १०९५ बराबर गरिन्छ । यसरी ३३ दिन लिने गर्दा ३ दिन घटाउँदै गएपछि क्षयमास पर्न आउने गर्दछ । यहाँ भ्रम यो छ कि नेपालसंवत् भनेको चान्द्र वर्ष हो भन्ने परेको छ । त्यही भएर नेपालसंवत्को क्यालेण्डर बनाइ आउँदा हरेक वर्ष ३५४ दिनको बनाई आएका छन् । वास्तवमा ३५४ दिनको स्वतन्त्र चान्द्र वर्षको अस्तित्व हुँदैन किनकि सौरवर्ष ३६५ दिन भित्रको ३५४ दिन हो । यो पनि ज्योतिषीय गणनामा मात्रै प्रयोग हुने हो । त्यही भएर अधिमास नभएको वर्षमा तिथिको व्यवहार गर्दा १० दिन अगावै वार्षिक तिथि पर्न आउँछ भने अधिमास भएको वर्षमा वार्षिकतिथि २० दिन पर सर्नजान्छ । यसले ३६५ दिन भित्रको ३५४ दिन हो भन्ने कुरा प्रष्ट हुन्छ । सौर वर्षको क्यालेण्डरमा अधिमास परेको वर्षमा पनि ३६५ दिन भए जस्तै नेपालसंवत्को क्यालेण्डर बनाउनेहरुले पनि अधिमास भए पनि ३५४ दिन र अधिमास नभएको वर्षमा पनि ३५४ दिनको बनाई आएको छ । वास्तवमा व्यवहारमा ३५४ दिनको वर्ष हुँदैन वर्ष दिन हुन ३६५ दिन नै चाहिन्छ । साँच्चै भन्नु पर्दा १३ महिना भनियो कि ३९० दिन हुन्छ तर एउटा कुनै वर्षमा १३ महिना याने ३९० दिन भएको क्यालेण्डर भने आजसम्म एउटा पनि देखाउन सकेका छैनन् । त्यस किसिमको हावादारीहरुको पक्षमा पहिलो समूहका लेखकहरु कहिल्यै लाग्दैन । दोस्रो समूहका लेखकहरु भने अधिमास परेको वर्षमा १३ महिना हुन्छ भन्दै १३ महिना भनेपछि ३९० दिनको वर्ष हुन्छ भन्दै आँखा चिम्लेर पछ्याउँदै आएका छन् र उनीहरुले भनेकै कुरा सत्य हो भन्दै आफूले आफैलाई प्रकाण्ड विद्वान हुँ भन्दै घोषणा गर्दै आइरहेका पनि छन् ।
निष्कर्षः
संसारको जुनसुकै कुनामा गएर हिसाव गरे पनि दुइ र दुइ जोड्दा चार नै हुन्छ । त्यो नै सत्य र यथार्थ हो भने विद्वान पनि ती नै हुन सत्य र यथार्थको पक्षमा मात्रै बोल्छ । जसले दुइ र दुइ जोडेर लम्बेतान हिसाव गरी पाँच हुन्छ भनी देखाउँछ भने त्यो जाली हो । त्यसकारण एउटै वर्षमा १३ महिना हुन्छ र १३ महिना बराबर ३९० दिन हुन्छ भनी जति सुकै लम्बेतान हिसाव देखाइ आइरहेको छ भने पनि त्यसलाई पहिलो समूहका लेखकले कुनै हालतमा समर्थन गर्दैन । कोही मान्छे त्यस्तो यथार्थ र सत्यको पक्षमा नलागी अरुको हाँ मा हाँ मिलाइ पछि लाग्दै आएका छन् भने पनि कलिगत संवत् शकसंवत् , विक्रमसंवत्मा तिथि व्यवहार भइरहेको छ तर ती संवत् चान्द्र वर्ष होइनन् भन्ने हेक्का रहोस् । त्यस्तै नेपालसंवत्मा तिथिको अलावा १२ संक्रान्तिको संस्कार र गणना समावेश भएर आइरहेको छ भने यो पनि चान्द्र वर्ष बिल्कूलै होइन भन्ने स्वतः सिद्ध हुन्छ । यस्तो ध्रुवसत्य कुरा केवल पहिलो समूहका इतिहासकारले मान्दछ भने दोस्रो समूहका लेखकहरुले सँधै उपेक्षा गर्दै आइरहेका छन् । अतः यी दुई बीचमा अन्तर देखिनुको मुख्य कारण नै यही हो ।



