
काठमाडौं। भाषा,साहित्यको क्षेत्रमा क्रियाशिल विभिन्न पाँच दर्जनभन्दा बढी संघसंस्थाहरुले देशमा चलिरहेको विकृति र विसंगति विरुद्धको जेनजी आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
संयुक्त रुपमा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले देशमा संस्थागत रुपमा वढ्दै गएको भ्रष्टाचार,बेथिति र अनियमितता तथा सामाजिक सन्जाल बन्दको विरोधमा हिजोदेखि शुरु भएको शान्तिपूर्ण आन्दोलनमा प्रजातान्त्रिक भनिएको सरकारबाट १९ जना युवाको हत्या गरी झण्डै चारसयको हाराहारीमा युवाहरुलाई घाइते बनाएको प्रति भत्र्सना गरेका छन् ।
संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ- ” सरकारले गरेको यस्तो अन्याय र अत्याचारको विरुद्धमा नेपाली भाषा,साहित्य,कला,संस्कृतिको विस्तार अभियानमा क्रियाशील साहित्यिक संस्थाहरुबाट भत्सर्ना गर्दछौ।”
“१०४ वर्षको राणा शासनको अन्त्य गर्ने आन्दोलनमा चारजना शहीद भएका थिए ।तीसवर्षे पञ्चायती व्यवस्थाको विरुद्धमा दुई महिनासम्म भएको आन्दोलनमा २३ जना शहीद भएका थिए ।हजारौं वर्षदेखिको राजतन्त्र फाल्ने आन्दोलनमा १९ जनाले ज्यानको आहुति दिनुपरेको थियो ।अहिले जननिर्वाचित सरकारले जेन जी आन्दोलन शुरु गरेको केही घण्टामा नै युवाहरुको टाउका र छातीमा ताकीताकी १९ जना युवाको क्रुरतापूर्वक हत्या गरिएको छ ।”
वर्तमान सरकारले राणा शासन,पञ्चायती व्यवस्था र राजतन्त्रलाई विर्साउने गरी तानशाही भएको आरोप पनि उनीहरुले लगाएका छन् । उनीहरुले इतिहासकै सवैभन्दा बढी कलंकित,नालायक र अक्षम प्रमाणित भएको बताएका छन् ।
विभिन्न पाँच दर्जनभन्दा बढी संघसंस्थाका अध्यक्ष तथा महासचिवहरुले हस्ताक्षर गरी निकालेको संयुक्त विज्ञप्तिमा -“हिजोदेखि स्वतस्स्फुत रुपमा बढ्दै गइरहेको आन्दोलनलाई समाधान गर्नका लागि तत्काल केपी सरकार र संसदको विघटन गरेर स्वतन्त्र व्यक्तिहरुको नेतृत्वमा चुनावी सरकार गठन गर्नलाई जोडदार माग गर्दछौं” भनिएको छ ।