
काठमाडौं। नेपाली भाषा,साहित्यमा क्रियाशिल राष्ट्रिका साहित्य प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी सवारी साधनहरुमा प्रयोग गर्न लागिएको इम्बोस्ड नम्बर अंग्रेजी नबनाई नेपाली भाषामै राख्न ध्यानाकर्षण गराएको छ ।
‘नेपाली भाषा नेपालको संविधान अनुसार राष्ट्रभाषा र सरकारी कामकाजको भाषा मात्र नभै बहुसंख्यक नेपालीले बुझ्ने, बोल्ने जनसम्पर्कको भाषा पनि हो ।’
अगाडि भनिएको छ -‘नेपालको संविधान विपरित इम्बोष्ड नम्बरमा नेपाली भाषालाई विस्थापित गरी अंग्रेजी भाषामा मात्र इम्बोष्ड नम्बर राख्ने सरकारको निर्णय अत्यन्त खेदजनक देखिन्छ ।नेपाली भाषाको रक्षा गर्नुपर्ने सरकारबाट नै नेपाली भाषाप्रति गरिने अपमान र बारम्बार भइरहने प्रहार अत्यन्त आपत्तिजनक र निन्दनीय छ । ‘
‘प्रविधिसम्बन्धी पूर्वाधार नै नभएको अवस्थामा इम्बोस्ड नम्बर प्लेट राख्न जबर्जस्ती गर्ने सरकारी रवैयाबाट आम जनसमुदाय आक्रोशित भई विरोधमा उत्रेको तथ्य पनि सर्वविदितै छ । संसारका विभिन्न मुलुकका सवारीसाधनमा प्रयुक्त इम्बोस्ड नम्बर प्लेटमा आफ्नै भाषा प्रयोग गरिएको पाइए पनि नेपालमा भने नेपाली भाषा हटाएर अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय कुनै पनि दृष्टिबाट उपयुक्त छैन ।’

प्रतिष्ठानका अध्यक्ष ऋषवदेव घिमिरेद्धारा जारी विज्ञप्तिमा सरकारी निर्णय तत्काल सच्याएर प्रचलित रङ्गअनुरूपकै प्लेटमा नेपालीपन झल्किने गरी अनिवार्य रूपमा नेपाली भाषामा राख्न जोडदार माग गरिएको छ ।





