काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सन्तोष परियारलाई बोल्न दिएका थिए ।
‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद रोसन कार्कीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताइन् ।
उनले आफूहरूले संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गर्ने दिनको भत्ता पनि नलिने बताइन् । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

