
काठमाडौ ।एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले दुवईलाई हराएर उत्कृष्ट सुरूवात गरेको छ।
शुक्रबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। एसिया कपमा नेपालले पहिलो जित निकालेको हो। यसअघिका दुई संस्करणमा नेपाल सबै खेलमा पराजित भएको थियो।
शुक्रबार युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गरिन्। उनले ४५ बलमा ११ चौका सहित नटआउट ७२ रन जोडिन्।
यो नेपाली महिला ब्याटरले टी २० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर हो। यस्तै नेपालले टी २० मा पार गरेको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो।
सम्झना खेलको प्लेयर अफ दि म्याच बनिन्।
पूजा महतो ७ रनमा नटआउट रहिन्। अर्की ओपनर सीता रानामगर ७ रनमा आउँदा कविता कुँवरले २ रन मात्र जोड्न सकिन्। कप्तान इन्दू वर्मा ६ रनमा आउट हुँदा रुबिना क्षेत्री १० रनमा बोल्ड भइन्।



