
काठमाडौं।उपन्यासकार राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ लोकार्पण भएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडासहितले कृति लोकार्पण गरेका हुन् ।
कृति लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् जनताले न्यायालयबारे जान्न चाहेका छन् न्यायाधीशहरूको दिनचर्याबारे जनता थाहा पाउन चाहेका छन् । तिनले यस्ता विषय कृतिकार वाग्लेको उपन्यास पढेर थाहा पाउँछन्,ू ।
पूर्वन्यायाधीश खतिवडाले वाग्लेको उपन्यासभित्र जीवनको भोगाइ रहेको उल्लेख गर्दै उपन्यासमा यथार्थ र काल्पनिकताको मिश्रण रहेको बताए ।
समीक्षात्मक टिप्पणी गर्दै प्रमोद प्रधानले उपन्यासमा न्यायालयभित्रका विकृति विसंगतिका विषयहरू समेटिएको उल्लेख गरे ।
कार्यक्रममा साहित्यकारहरू राधेश्याम लेकाली, उपन्यासकार वाग्ले, अभिनेता सरोज खनाल, साहित्यकार विमल भौकाजीलगायतले बोले ।
त्यस अवसरमा वाग्लेद्वारा रचिएको गीत ‘आगो बनेर बल्न सक्छु, तुफान बनेर चल्न सक्छु’लाई पनि पूर्वप्रधान न्यायाधीश कार्कीले सार्वजनिक गरिन् । यसका गायक तथा संगीतकार सन्तोष श्रेष्ठ रहेका छन् ।
उपन्यास अन्तिम छाललाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।





