
काठमाडौँ । कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’माथि परिचर्चा सम्पन्न भएको छ ।
कृतिमाथि चर्चा गर्ने सबैजसो समीक्षक एवं वक्ताहरुले कृति शक्तिशाली रुपमा आएको बताए ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कविले यो शीर्षक राखेर चुनौती स्वीकार गरेको बताउँदै यो कविताकृति कविताका पाठकमात्र नभएर राजनीतिज्ञ, प्रशासक सबैको हातहातमा पुर्याउनु पर्नेमा जोड दिए । उनले अनिलका कविताको शक्ति र सिर्जनाको यथोचित सम्मान हुन नसकेको विचार व्यक्त गरे ।
समीक्षक विष्णु ज्ञवालीले ६७ वटा कविताहरू समेटिएको यस कृतिमा सामाजिक, राजनीतिकलगायत अनेक विकृति विसंगतिमाथि कविले खरो प्रहार गरेको बताए । उनले कम्युनिष्ट आन्दोलनका समस्या पनि कवितामा आएको उल्लेख गरे ।
अमृता शर्माले नेपाली समाजको वर्तमान यथार्थप्रति क्रुर र कडा प्रहार गरिएको कृतिको रुपमा कृतिको चर्चा गरिन् । उनले अनिलका कविता विचार र विम्बको सुन्दर संयोजनमा आएको भन्दै सुन्दर र सभ्य समाज निर्माणको अभियानमा अनिलका कविता लामबद्द भएको बताईन् ।
समीक्षक बद्रीप्रसाद ढकालले अनिलका कविताले समाजको यथार्थ चित्रण गरेको बताए । ढकालले कवितामा कविले भुइँमान्छेको आवाज बोलेको बताए । उनले कृतिको शिर्षक निर्मम भएको भन्दै कविताहरु शक्तिशाली भएको बताए ।

कवि अनिल श्रेष्ठले आफुले इमान्दार भएर समयबोधका कविता लेख्ने गरेको बताए । साथै उनले शिर्षकृत कविताको रचना गर्भबारे जानकारी दिए ।
कार्यक्रममा प्रा.कपिल अज्ञात,मातृका पोखरेल , विमल भौकाजी,मित्रलाल पंगेनी,बन्दना ढकाल लगायतले समेत आफ्नो विचार राखे ।
आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कविहरुले कृतिभित्रका कविता समेत वाचन गरे ।
केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तेजविलास अधिकारीले गरे ।

