जनकपूर।पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँसँगै किसानमा केही खुशी बढेको छ।
पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ।
यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ।
‘सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ,’ निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने।
उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताए।
यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानलाई खेती प्रयोजनका लागि स्यालो टयुवबेल वितरण प्रक्रिाय सुरु गरेको छ।
निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।



