
जयराम बिडारी, काठमाण्डौ ।अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको दुई महिनाको अवसर पारेर सहित्य सदन नेपालको संयोजनमा २१ साहित्यिक संस्थाहरुद्वारा संयुक्त रुपमा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।
साहित्य सदन नेपाल रामहिटी बौद्धमा आयोजित उक्त कार्यक्रममा सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको सभापतित्व, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरुले चालिसेको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा कीर्तिशेष विजय चालिसेको स्मृतिमा मौन धारण गर्दै उपस्थित लब्धप्रतिष्ठित व्यक्तित्वहरुद्वारा चालिसेको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले विजय चालिसेकै अग्रसरतामा रमेश विकल साहित्य प्रतिष्ठानको निर्माण गरिएको प्रसंग स्मरण गर्दै उनको महत्वपूर्ण कार्य भनेकै साहित्य सेवा,पत्रकारिता र प्राध्यापन गर्दै गर्दा पनि रमेश विकल साहित्य प्रतिष्ठानको स्थापना गरी साहित्यानुरागीहरुका बीच सुयोग्य पितालाई अमरत्व प्रदान गर्नु रहेको उल्लेख गरे ।
सो समारोहमा वरिष्ठ समालोचक ठाकुर शर्माले चालिसेको ५१ वर्षको सक्रिय लेखन कर्ममा वहुविधामा ५६ कृतिहरू प्रकाशित भएको जानकारी दिंदै निबन्धबाट सुरु भएको उनको लेखन यात्रा पछिल्लो समयमा उपन्यासमा टुङ्गिएको बताए ।
यसैक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले स्कुले जिवनमा आफ्ना गुरु समेत रहनुभएका चालिसेसँग साहित्यिक, सामाजिक क्षेत्रमा काँधमा काँध जोडेर काम गर्ने अवसर पाएको स्मरण गरे।
सो समारोहमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले चालिसे राम्रा साहित्यकार प्राध्यापनमा सक्रिय र पत्रकारिताका क्षेत्रमा अब्बल रहेको उल्लेख गर्दै पत्रकारिता निष्पक्ष हुने भन्दा पनि संस्थागत रुपमा निर्दिष्ट हुने भन्दै सक्रिय पत्रकारिताका क्रममा एक अर्का प्रति सन्तुलित सहकार्य गरेको समेत बताए ।
यसैक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ ले चालिसे सँगको मित्रताको रहस्योद्घाटन गर्दै २८ सालदेखि छिटफुट रुपमा लेखनमा सक्रिय रहेका चालिसेले ३१ सालदेखि समयलाई कत्ति पनि खेर नफाली सक्रिय रुपमा लेखनकर्ममा लागेको बताए ।

उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्राध्यापक जगत उपाध्याय प्रेक्षितले स्वाभिमानका अग्ला धरोहर चालिसेलाई लक्ष्मीप्रसाद देवकोटा पुरस्कार प्रदान गर्नका लागि मागिएको वैयक्तिक विवरणका लागि ठूलो संघर्ष गर्नुपरेको प्रसंग उल्लेख गरे ।
यसैगरी कार्यक्रममा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले रमेश विकलको पदचापलाई राम्ररी पछ्याएका चालिसेका समाज उपयोगी साहित्य सृजना गरेको बताए।
कार्यक्रममा चालिसेका कान्छा सुपुत्र आलोक चालिसेले आफ्ना पिताले असल अभिभावकीय भूमिका निभाउँदै सामाजिक, शैक्षिक, पत्रकारिता र साहित्यको माध्यमबाट समाज उपयोगी कर्म गरेको बताए । उनले पिताको योगदानलाई चिरस्थायी बनाउन विजयलक्ष्मी ट्रष्ट स्थापना गर्न लागिएको समेत बताए ।
उक्त श्रद्धाञ्जली सभामा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलद्वारा श्रद्धाञ्जली कविता,राष्ट्रिय सुसेली फाउण्डेशनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ द्वारा शोक सुसेली तथा पोषण पाण्डे तीर्थ समाजका प्रतिनिधि रञ्जु पाण्डेद्वारा कविता वाचन गरिएको थियो । सभाका सभाध्यक्ष प्रा।डा। हेमनाथ पौडेलद्वारा साहित्य सदनको सम्योजनमा रमेश विकल साहित्य प्रतिष्ठान,भैरव पुरस्कार गुठी,अभिनव साहित्य समाज,सुरभि साहित्य प्रतिष्ठान, कंपन साहित्य समाज,कपनबानेश्वर साहित्यिक साप्ताहिक,घुम्ती कवि गोष्ठी नेपाल, शान्तिनगर उपभोक्ता समिति,स्रष्टा पदयात्रा नेपाल, मनोहरा साहित्य समाज, राष्ट्रिय सुसेली फाउण्डेशन, कल्पतरु प्रज्ञा(प्रतिष्ठान, अरुणिमा शैक्षिक प्रतिष्ठान, रिलायन्स साहित्य समाज, पोषण पाण्डे तीर्थ समाज, यात्री पुस्तकालय,मासिक सय अभियान, शैली साहित्य समाज, नियात्रा समाज नेपाल, तथा नेपाल वाङ्मय फाउण्डेशनका पदाधिकारी तथा प्रतिनिधि लगायत उपस्थित अभ्यागत एवं प्रमुख अतिथि र अतिथि हरुलाई उपस्थित भएर कार्यक्रमलाई सफल पारिदिएकामा आभार व्यक्त गर्दै चालिसेका व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा वरिष्ठ कवि तथा साहित्यकार प्रह्लाद पोखरेलद्वारा सहजीकरण गरिएको थियो ।







