
व्यक्तित्व
पर्वतीय पर्यटनका एक अथक साधक
रमेश धमला
‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ, केही मानिस जन्मदै आफ्नो नियति र कर्मक्षेत्रको सङ्केत लिएर आएका हुन्छन् । उनीहरूको पाइलाले आफैँ गोरेटो बनाउँछ र सङ्घर्षले भावी पुस्ताका लागि राजमार्ग कोर्छ । यस्तै एक व्यक्तित्व हुन्, कुलबहादुर गुरुङ, जसको जीवनको कथा नेपालको पर्वतीय पर्यटनको विकासको कथासँगै जोडिएको छ; जसको यात्रा गणेश हिमालको काखबाट सुरु भएर विश्व पर्यटनको अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ ।
प्रकृतिको पाठशालामा कोरिएको बाल्यकाल
वि. सं. २०३२ साल पुस १३ गते, धादिङको उत्तरी भेगमा अवस्थित, प्रकृतिको अनुपम उपहारले सिँगारिएको रुबी भ्याली गाउँपालिका–४, चालिस गाउँमा एउटा शिशुले आँखा खोल्यो । त्यो शिशु, जसलाई पछि दुनियाँले कुल गुरुङ भनेर चिन्यो, उनको जन्म कुनै सामान्य भूमिमा भएको थिएन । त्यो भूमि थियो, जहाँ गणेश हिमाल मुस्कुराउँथ्यो, जहाँ पहाडहरूले हरेक बिहान सुनौलो घामको पहिलो टीका लगाउँथे र जहाँ खोलानालाहरू कलकल गर्दै जीवनको अनन्त सङ्गीत सुनाउँथे । चालिस गाउँ, आफ्नो नामजस्तै चालीस घरधुरीको सानो, सुन्दर बस्ती उनको संसार थियो । त्यहाँको हावामा हिउँको चिसो र माटोको न्यानोपन एकैसाथ घोलिएको थियो; जीवनशैली हिमाली हावापानी जस्तै कडा तर उत्तिकै स्फूर्तिदायी थियो ।
उनको बाल्यकाल हिमालका अग्ला, अटल टाकुराहरू र पहाडका गहिरा, रहस्यमयी कन्दराहरूसँग लुकामारी खेल्दै बित्यो । ती निर्जीव देखिने पहाडहरू नै उनका पहिला गुरु थिए, जसले उनलाई मौन भाषामा दृढता, अटल रहनुकोमहत्व र साहसको पाठ सिकाए । जब उनी ती भिरालो जमिनमा दौडन्थे, उनको शरीरमा स्फूर्ति र मनमा आत्मविश्वास भरिन्थ्यो । प्रकृतिको यही विशाल र उदार काख उनको पहिलो पाठशाला बन्यो, जहाँ उनले किताबी ज्ञानभन्दा कैयौँ गुणा महत्वपूर्ण जीवनको ज्ञान आर्जन गरे । खोलाको चिसो पानीमा खुट्टा डुबाउँदा होस् वा गुराँसको फूल टिपेर मुस्कुराउँदा, उनले प्रकृतिको लयसँग आफ्नो जीवनको लय मिलाउन सिके ।
गाउँकै एक सामान्य प्राथमिक विद्यालयबाट उनले आफ्नो शैक्षिक यात्राको पहिलो पाइला चाले । धुलो र माटोले भरिएको त्यो सानो विद्यालयको प्राङ्गणमा उनले ‘कखरा’ कोरेर अक्षरको संसारमा प्रवेश गरे । वि. सं. २०४९ सालमा बच्छलादेवी माध्यमिक विद्यालयबाट तत्कालीन समयको फलामे ढोका मानिने एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्नु उनको जीवनको पहिलो महत्वपूर्ण कोशेढुङ्गा थियो । त्यो समयमा, जहाँ शिक्षाको ज्योति मुश्किलले पुग्थ्यो, त्यस्तो विकट गाउँको सामान्य विद्यालयबाट यस्तो नतिजा ल्याउनु आफैँमा एउटा सानोतिनो क्रान्ति थियो । तर, उनको ज्ञानको भोक यतिमै सीमित हुनेवाला थिएन । हिमालको उचाइ नाप्ने सपना देख्ने उनले अब ज्ञानको उचाइ नाप्ने अठोट गरे । उच्च शिक्षाको तीव्र अभिलाषाको जहाजमा चढेर उनी अवसर र चुनौतीको सहर काठमाडौँ हानिए ।
सङ्घर्षको भट्टीमा खारिएको व्यक्तित्व
काठमाडौँ सबैका सपनाको सहर तर उनका लागि सुरुमा अनौठो र अपरिचित थियो । गणेश हिमालको खुला काखमा हुर्केका उनलाई यहाँका साँघुरा गल्लीहरू र मानिसको भीडले निसास्साउँथ्यो । तर, उनको भित्र एउटा यस्तो आगो थियो, जसलाई कुनै पनि चुनौतीले निभाउन सक्दैनथ्यो । ‘दुःख नगरी सुख पाइँदैन’ भन्ने आमाको अर्तिलाई मनमा गाँठो पारेर उनले सङ्घर्षको महासागरमा पौडिन सुरु गरे । दिनहरू कठोर थिए; कहिले आर्थिक अभावले सताउँथ्यो, कहिले आफन्तको यादले मन भारी बनाउँथ्यो । तर, उनले कहिल्यै हरेस खाएनन् । बरु, हरेक चुनौतीलाई अवसरको रूपमा लिए र आफ्नो पढाइलाई निरन्तरता दिइरहे ।
यो सङ्घर्षको भट्टीले उनलाई भित्रैदेखि तताएर एउटा बलियो र चम्किलो धातुमा परिणत गरिरहेको थियो । उनको अथक मेहनत र कहिल्यै नथाक्ने लगनशीलताले उनलाई एकपछि अर्को सफलता दिलायो । उनले बिजनेस स्टडीमा स्नातकोत्तर (एमबीएस) गरेर व्यापारको सैद्धान्तिक ज्ञान आर्जन गरे । तर उनको मन त हिमाल र पर्यटनमै थियो । त्यसैले, पर्यटन अध्ययनमा स्नातकोत्तर (एमटीएस) गरेर आफ्नो रुचिको विषयलाई प्राज्ञिक उचाइ दिए । यतिमा मात्र उनी रोकिएनन्; कानुनमा स्नातक (एलएलबी) गरेर उनले आफ्नो व्यावसायिक ज्ञानलाई कानुनी जग पनि प्रदान गरे । हाल उनी विद्यावारिधिका शोधार्थी (पीएचडी स्कलर) हुन्, जसले उनको ज्ञानप्रतिको अनन्त प्यासलाई प्रमाणित गर्छ ।

हिमालको काखमा जन्मे–हुर्केको मान्छेले आफ्नो कर्मक्षेत्र पनि हिमाललाई नै नबनाओस् पनि कसरी ! उनको शोधको विषय पनि हिमाल र पर्यटनसँगै जोडिएको छः ‘नेपालको पर्वतीय पर्यटनमा भएका चुनौती, अवसर र समाधानका उपाय’ । यो शीर्षक केवल एउटा प्राज्ञिक अनुसन्धानको विषय मात्र होइन, यो त उनको सम्पूर्ण जीवन–अनुभव, भोगाइ र शैक्षिक योग्यताको अनुपम त्रिवेणी हो, जसले उनको प्राज्ञिक यात्रालाई थप अर्थपूर्ण र सान्दर्भिक बनाएको छ ।
शिक्षाको उज्यालोले खारिएका उनी स्वभावले अत्यन्तै भद्र, शालीन र मिजासिला छन् । यो सायद गुरुङ जातिको नैसर्गिक गुण पनि हो, जसले उनको व्यक्तित्वमा सुनमा सुगन्ध थपेको छ । त्यही शिक्षित, सङ्घर्षशील एवम् शालीन व्यक्तित्वको नाम हो– कुलबहादुर गुरुङ ।
कर्मपथमा पहिलो पाइलाः जरादेखि शिखरसम्म
एसएलसी सकेर काठमाडौँ पसेपछि, जीविका चलाउन र पढाइलाई निरन्तरता दिन उनले व्यावसायिक यात्रा सुरु गरे । नेपाल भिजन ट्रेकिङ कम्पनीको कार्यालय सहायकको भूमिकाबाट उनको पर्यटन क्षेत्रमा औपचारिक प्रवेश भयो । तर उनको मन अफिसको चार दिवारमा मात्र सीमित थिएन । उनी पर्यटनलाई किताबमा पढेर होइन, आफ्नै आँखाले देखेर, आफ्नै खुट्टाले हिँडेर र आफ्नै मुटुले महसुस गरेर बुझ्न चाहन्थे । यही हुटहुटीले उनलाई पदयात्रामा सहयोगी र पथप्रदर्शकका रूपमा समेत काम गर्न प्रेरित ग¥यो ।
त्यो अनुभव उनको जीवनको सबैभन्दा महत्वपूर्ण विश्वविद्यालय साबित भयो । रुकस्याक बोकेर अग्ला पहाड चढ्दा उनले पर्यटकको मात्र होइन, जीवनकै भारी बोक्न सिके । पदमार्गमा विदेशी पर्यटकहरूसँग कुरा गर्दा उनले भाषा मात्र होइन, भिन्न संस्कृति र मानिसको मनोविज्ञान बुझ्न सिके । अन्नपूर्णको आधार शिविर होस् वा सगरमाथाको काख, हरेक पदयात्रा उनका लागि एउटा नयाँ कक्षा थियो । यस अनुभवले उनलाई पर्यटन व्यवसायको तल्लो तहको पीडादेखि माथिल्लो तहको व्यवस्थापनसम्मको अमूल्य व्यावहारिक ज्ञान दियो । उनले बुझे कि पर्यटन भनेको केवल घुमफिर मात्र होइन, यो त मानवीय सम्बन्ध, विश्वास र अनुभवको आदान–प्रदान हो ।
कुलबहादुरको नेपाल भिजन ट्रेक्ससँगको यात्रा एक दशक लामो रह्यो । यो अवधि केवल समयको मापन मात्र थिएन, बरु उनको लगन, मेहनत र पर्यटन क्षेत्रलाई नै आफ्नो पाठशाला बनाउने एक सुनौलो अवसर थियो । उनको कामप्रतिको लगाव र इमानदारीलाई कम्पनीले चिन्न समय लागेन । सहयोगी, गाइड हुँदै अफिसको जिम्मेवारी सम्हालेका उनलाई कम्पनीले महाप्रबन्धक (जीएम) जस्तो गरिमामय पदमा आसीन गरायो । यो उनको व्यक्तिगत सफलता मात्र थिएन, यो त ‘कर्म गरे फल मिल्छ’ भन्ने भनाइको ज्वलन्त उदाहरण थियो ।
कुलबहादुरको व्यक्तित्वमा एउटा अनौठो चुम्बकीय आकर्षण थियो । उनको मिठो र प्रभावकारी बोलीले जो कोहीलाई पनि सजिलै मन्त्रमुग्ध पाथ्र्यो । यही वाक्पटुता र ग्राहकको मनोविज्ञान बुझ्ने अद्वितीय क्षमताले गर्दा उनी ग्राहकहरूसँगको व्यवहार र आफ्नो सेवा बेच्नमा माहिर भएर निस्किए । उनी केवल पदयात्राको प्याकेज बेचिरहेका थिएनन्, उनी त नेपालको सौनदर्य, यहाँको आतिथ्य र अविस्मरणीय अनुभव बेचिरहेका थिए, जसले गर्दा ग्राहकहरू सधैँ सन्तुष्ट र खुशी हुन्थे ।
उनको काम गर्ने शैली निकै व्यावसायिक र अनुकरणीय हुन्थ्यो । पदयात्रामा जाने हरेक पर्यटकको सानोभन्दा सानो आवश्यकता, उनीहरूको खानपान, बसोबासदेखि लिएर सुरक्षासम्मका सबै कुरामा उनको सूक्ष्म ध्यान पुगेको हुन्थ्यो । यही गुणले गर्दा उनी पर्यटकहरूमाझ मात्र नभई कम्पनीका सहकर्मीहरू र फिल्डमा काम गर्ने गाइड तथा सहयोगीहरूमाझ पनि उत्तिकै लोकप्रिय थिए । उनको नेतृत्वदायी क्षमता र समस्या समाधान गर्ने सीपले गर्दा नेपाल भिजन ट्रेक्सले उनको कार्यकालमा नयाँ उचाइ हासिल गर्न सफल भयो ।
उद्यमशीलताको नयाँ अध्यायः ‘एलायन्स ट्रेक्स’को उदय
एक दशक लामो अनुभवबाट खारिएर कुलबहादुर अब एउटा परिपक्व र दूरदर्शी व्यवसायी बनिसकेका थिए । ‘आफ्नो हात, जगन्नाथ’ भनेझैँ, उनले अब जागिरको सुरक्षित चौघेराबाट बाहिर निस्केर आफ्नै उद्यमको आकाशमा पखेटा फिँजाउने सपना देखे । यही सपनालाई साकार पार्न, उनले सन् २००४ मा ‘एलायन्स ट्रेक्स एन्ड एक्सपेडिसन’ नामक आफ्नै कम्पनीको स्थापना गरे । यो उनको उद्यमशीलताको यात्राको आरम्भ मात्र नभई, उनको व्यावसायिक जीवनको त्यो महत्वपूर्ण मोड थियो, जहाँ उनी कर्मचारीको भूमिकाबाट माथि उठेर एक उद्यमी, एक सर्जक र एक नेताको भूमिकामा प्रवेश गरे । ‘एलायन्स’ अर्थात् सहकार्य; यो नामले नै उनको दर्शन बोकेको थियो– पर्यटनमा एक्लै होइन, सबै मिलेर अघि बढ्नुपर्छ । कम्पनीको स्थापनासँगै उनले नेपालको पर्वतीय पर्यटनमा आफ्नो अमूल्य योगदानको अध्याय सुरु गरे, जुन आजपर्यन्त अटुट रूपमा जारी छ ।
संस्थागत नेतृत्वः एक बहुआयामिक व्यक्तित्व
कुलबहादुर गुरुङ त्यस्ता दुर्लभ व्यक्तित्व हुन्, जसमा व्यावसायिक, व्यावहारिक र सामाजिक जीवनको त्रिवेणी एकैसाथ बगेको पाइन्छ । उनको कर्मक्षेत्र केवल आफ्नै कम्पनीको सिमानामा बाँधिएन । उनी समग्र पर्यटन उद्योगको हित र विकासका लागि सधैँ चिन्तित र क्रियाशील रहे । पर्यटनप्रतिको उनको लगाव केवल व्यवसायमा मात्र सीमित छैन, संस्थागत नेतृत्वमा समेत उत्तिकै मुखरित भएको छ ।
उनले आफ्नो समुदाय र क्षेत्रको पर्यटन विकासका लागि खेलेको भूमिका अविस्मरणीय छ । उनी गुरुङ पर्यटन व्यवसायी सङ्घ (जीटिन) र गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष हुन्, जसको नेतृत्व उनले वि. सं. २०६८ देखि २०७२ सम्म सफलतापूर्वक सम्हाले । यो उनको आफ्नो जराप्रतिको सम्मान र समुदायप्रतिको दायित्वबोधको प्रमाण हो । यति मात्र नभई, उनी लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ (निट) र हिमाली समुदाय जलवायुमैत्री संगठन (सीएएचसी) का संस्थापक सचिव पनि भए, जसले उनको लोकतान्त्रिक मूल्यमान्यता र वातावरणीय चेतनालाई दर्शाउँछ ।
उनको नेतृत्वदायी भूमिका राष्ट्रिय स्तरमा पनि उत्तिकै प्रशंसनीय र प्रभावशाली रह्यो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), जुन नेपालको पदयात्रा व्यवसायको छाता संगठन हो, त्यसमा कार्यसमिति सदस्य (२००९–२०११) र द्वितीय उपाध्यक्ष (२०१३–२०१५) जस्तो गरिमामय पदमा रहेर उनले महत्वपूर्ण नीतिगत योगदान दिए । त्यसैगरी, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को महासचिव (२०१७–२०२०) को महत्वपूर्ण भूमिकामा रहँदा उनले नेपालको पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न र यस क्षेत्रका समस्या समाधान गर्न उल्लेख्य पहल गरे ।
उनको योगदानको सुगन्ध राष्ट्रिय सिमाना नाघेर अन्तर्राष्ट्रिय स्तरसम्म फैलियो । उनले अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासङ्घ (युआईएए) को व्यवस्थापन समिति सदस्य (२०२०–२०२४) जस्तो प्रतिष्ठित पदमा रहेर विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गरे । यो उनको व्यावसायिक जीवनको एउटा चम्किलो नक्षत्र थियो, जसले नेपालको पर्वतीय पर्यटनको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय रूपमा उँचो बनायो ।
कुलबहादुर गुरुङ आफूलाई उद्यमशीलतामा मात्र सीमित नराखी, आफ्नो ज्ञान र अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्नमा पनि विश्वास राख्छन् । ‘ज्ञान बाँडे बढ्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा एक प्रशिक्षकका रूपमा संलग्न छन् । त्यहाँ उनी नयाँ पुस्तालाई पर्यटनको व्यावहारिक र सैद्धान्तिक ज्ञान सिकाउँछन्, जुन उनको सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो ।
कुनै पनि संघ–संस्थामा कुलबहादुरको नेतृत्वको विशेषता भनेकै ‘सामूहिक आवाज’ र ’सामूहिक नेतृत्व’ माथिको अटुट विश्वास हो । उनी ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उखानमा विश्वास गर्छन् । त्यसैगरी, ‘दिगो र जिम्मेवार पर्यटन’ उनको कार्यशैलीको मूलमन्त्र नै बनेको छ, जसलाई उनी हरेक पाइलामा आत्मसात् गर्छन् । दिगोपन र जिम्मेवारीबोधजस्ता कुरा कुलबहादुर गुरुङको व्यावसायिक दर्शनका मूलमन्त्र हुन् ।
जीवन–दर्शन र प्रेरणाका स्रोत
कुलबहादुरको व्यावसायिक दर्शन दुईवटा प्रमुख स्तम्भमा टिकेको छः पहिलो, पर्यटनमा स्वच्छ प्रतिस्पर्धाको आधारशिला तयार गर्नु, र दोस्रो, देशको सबैभन्दा ठूलो सम्पत्ति अर्थात् मानव पुँजीलाई स्वदेशमै संरक्षण गर्नु । युवा प्रतिभाहरू अवसरको खोजीमा विदेश पलायन भएको देख्दा उनी निकै चिन्तित हुन्छन् । उनका अनुसार, जबसम्म हामी हाम्रा दक्ष र ऊर्जावान युवालाई आफ्नै देशमा भविष्य देखाउन सक्दैनौँ, तबसम्म कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । यो एउटा यस्तो रक्तश्राव हो, जसले देशलाई भित्रभित्रै कमजोर बनाइरहेको छ । यही पीडाबोधलाई उनी एकै वाक्यमा व्यक्त गर्छन्, “हामीले हाम्रो सबैभन्दा ठूलो पुँजी, हाम्रो भविष्य, हाम्रा दक्ष जनशक्तिलाई टिकाउनै सकेनौँ ।”
कुलबहादुर गुरुङको व्यक्तित्वमा दुई फरक धारका प्रेरणाको सङ्गम पाइन्छ । उनका लागि राजनीतिक आदर्श स्वर्गीय बीपी कोइराला हुन्, जसको प्रजातान्त्रिक समाजवादको दर्शनले उनलाई सधैँ समाज र देशप्रति उत्तरदायी बन्न प्रेरित गर्छ । अर्कोतर्फ, जीवन र कर्मको मार्गदर्शनका लागि उनी वास्तु आचार्य राजाबाबु शाहप्रति उत्तिकै आस्था र सम्मान व्यक्त गर्छन्, जसबाट उनले जीवनमा सकारात्मक ऊर्जा र सन्तुलनको महत्व सिकेका छन् ।
उनको चरित्र निर्माणको पहिलो कार्यशाला उनको आफ्नै घर थियो, जहाँ उनका बाबुआमा पहिलो शिक्षक थिए । उनले आफ्नो पिताबाट हन्डर र ठक्करबाट अनुभवको बलियो ढाल बनाउन सिके, जसले उनलाई व्यावसायिक जीवनका आँधीबेहरीहरूको सामना गर्न अदम्य साहस दियो । त्यसैगरी, आमाबाट उनले ‘फलको आशा नगरी कर्म गरिरहने’ निष्ठा र धैर्यको अमूल्य शिक्षा पाए, जसले उनलाई हरेक परिस्थितिमा शान्त र स्थिर रहन मद्दत ग¥यो । यो गीताको निष्काम कर्मयोग जस्तै थियो ।
यी दुई विपरीत तर परिपूरक शिक्षाहरूको जगमा उभिएर नै उनी जीवनलाई निरन्तर सिक्ने र आफूलाई निखार्ने एक अनन्त प्रक्रियाका रूपमा लिन्छन् । उनका लागि ज्ञानको क्षितिज कहिल्यै साँघुरो हुँदैन; बरु उनी जीवनपर्यन्त ज्ञानको खोजीमा रहने एक अनवरत यात्री हुन् ।
जीवनका अविस्मरणीय पलः सुख–दुःखको सङ्गम
आम मानिसको जीवनझैँ कुलबहादुरको कथामा पनि खुशीका उत्कर्ष र पीडाका गहिरा खाडलहरू छन् । सन् १९९३ को वर्ष उनका लागि केही अविस्मरणीय क्षणहरू लिएर आयो, जसले पर्यटन जीवनको यथार्थलाई उजागर गर्छ । जब एक विदेशी पदयात्रीले उनको कामबाट प्रभावित भएर हातमा रू. १२०००।– को बक्सिस थमाइदिए, त्यो खुशीको आवेगलाई उनले थाम्न सकेनन् । त्यो रकम मात्र थिएन, त्यो उनको मेहनतको पहिलो मीठो फल थियो, उनको कामको कदर थियो । तर त्यही साल, क्वाङ्दे बेस क्याम्पमा स्लिपिङ ब्यागविना टेन्टभित्र रात बिताउनु पर्दाको क्षण उनको जीवनको सबैभन्दा कठिन परीक्षामध्ये एक थियो । हाडै कठ्याङ्ग्रिने जाडोमा कक्रिएर, मृत्युको मुखमा पुगेझैँ गरी रातभर जाग्राम बस्नुपरेको त्यो क्षण उत्तिकै तीतो छ । “दुःख नभोगी सुखको पहिचान हुँदैन” भनेझैँ, भोलिपल्ट निद्राले धङ्धङिएको शरीर घिसार्दै हिँड्नुको त्यो कारुणिक तर रोचक अनुभवले उनलाई जीवनको मूल्य र सङ्घर्षको गहिराइ सिकायो ।
यी प्रारम्भिक अनुभवका साथै प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्दाको त्यो निश्छल खुशी होस् वा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासङ्घ (युआईएए) को सचिवालय सदस्यमा चुनिनुको व्यावसायिक सन्तुष्टि, यी सबै क्षणहरू उनका लागि ऊर्जाका स्रोत बने, जसले उनलाई निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो ।
तर, जीवनको सबैभन्दा कठिन र अँध्यारो मोड तब आयो, जब उनकी स्नेहमयी आमाले केवल पैँतालीस वर्षको अल्पायुमा यो संसारबाट बिदा लिइन् । त्यो पीडा उनको जीवनको सबैभन्दा ठूलो रिक्तता थियो, एउटा यस्तो घाउ जो कहिल्यै पुरिँदैन । यद्यपि, मृत्युको शाश्वत सत्यलाई स्वीकार्दै उनले जीवनलाई हेर्ने दृष्टिकोणलाई अझ परिपक्व बनाए । उनले बुझे, सुख उत्सव हो भने दुःख जीवनलाई गहिराइमा बुझ्ने एक अवसर ।
निष्कर्षः भविष्यको प्रकाश–स्तम्भ
जब कुनै संस्था दिशाविहीन बन्छ, जब व्यक्तिवादले जरा गाड्छ र समग्र उद्योग नै चुनौतीको कालो बादलले ढाकिन्छ, तब साँचो नेतृत्वको खोजी हुन्छ । यस्तै सङ्कटको घडीमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र समग्र पर्वतीय पर्यटन क्षेत्रले एक नयाँ नेतृत्वको अपेक्षा गरिरहेको छ । यो महत्वपूर्ण क्षणमा तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय, जरादेखि शिखरसम्मको अनुभवले खारिएका र प्रष्ट दृष्टिकोण भएका कुलबहादुर गुरुङ नै त्यो सूर्यको किरण बन्न सक्ने आशा जागेको छ ।
गुरुङ, जो व्यवसायीहरूमाझ एक ’एकेडेमिक व्यक्तित्व’ का रूपमा परिचित छन्, उनी नेपाल पर्वतारोहण संघका पूर्व महासचिव पनि हुन् । उनको जीवन यात्रा आफैँमा एउटा प्रेरणाको ग्रन्थ हो, जसले देखाउँछ कि दृढ इच्छाशक्ति, निरन्तर मेहनत र सकारात्मक सोच भयो भने एक सामान्य व्यक्ति पनि विश्व मञ्चमा आफ्नो देशको झण्डा फहराउन सक्छ । हाल, सङ्घको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै उनले केवल पदको मात्र आकाङ्क्षा देखाएका छैनन्, बरु एक स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन् । उनको प्रतिबद्धता “दिगो, पारदर्शी र समावेशी नेतृत्व” मार्फत संस्थागत सुधार गर्नु, श्रमिक तथा व्यवसायीको हकहित संरक्षण गर्नु र नेपालको पर्वतीय पर्यटनलाई केवल हिमाल चढ्ने माध्यम मात्र नभएर समुदाय सशक्तिकरण, श्रमिक अधिकार र वातावरण संरक्षणको स्रोत बनाउनु हो ।
अहिले नेपालको पर्यटन क्षेत्र राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार र जलवायु परिवर्तनजस्ता गम्भीर चुनौतीहरूसँग जुधिरहेको छ । यस्तो अवस्थामा, ‘धेरै बोल्नेभन्दा एक्सनमा जाने’ प्रतिबद्धता जनाउने गुरुङजस्ता अनुभवी र कर्मठ व्यक्तित्वको नेतृत्व अपरिहार्य देखिन्छ ।
आखिर, अँध्यारो जति गहिरो हुन्छ, हीराको चमक उति नै प्रखर देखिन्छ । कुल गुरुङ त्यो हीरा हुन्, जसलाई समय र अनुभवको पत्थरले रगडेर झनै चम्किलो र मूल्यवान बनाएको छ । उनको नेतृत्वमा नेपालको पर्वतीय पर्यटनले नयाँ उचाइ मात्र चुम्ने छैन, बरु विश्वव्यापी रूपमा एक दिगो, जिम्मेवार र सम्मानित गन्तव्यको रूपमा स्थापित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।







