
चिनी पनि छैन, मिश्री पनि छैन,तर त्यहाँ कमिला स्याऊँ स्याऊँति देख्दा मान्छेहरु आम्मै के अचम्म यो भन्दै जिब्रो टोक्न थाल्छन् । हुन पनि हो चिनी नभएको ठाउँमा कमिला लाग्नु नपर्ने नै हो । वास्तवमा आश्चर्य भनेकै यही हो कसको के लाग्छ ? भने झैं नेपालमा अहिले वेदाङ्गज्योतिषका पिता कहलिएका विद्वान जसको “लिच्छविसंवत्को निर्णय” नामक पुस्तकले गर्दा एक समय टहल्का नै मच्चिएको थियो । यो पुस्तक दुनियाँमा प्रकट हुनासाथ आकाशबाट पुष्पवृष्टि भए सरि पुरस्कार र सम्मानको वर्षा ह्वाराराऽऽऽवर्षेको पनि थियो । वास्तवमा पुस्तकको महत्व र गरिमा बढेको पनि ती पुरस्कारहरुले गर्दा मात्र भएको हो त्यसको मजबून खँदिलो भएर होइन ।
यो पुस्तकलाई हरेक पुस्तकालयमा मात्र होइन हरेक घरघरमा जसो संकलित राखिएका होलान् । यो पुस्तक कति जनाले पढ्यो होला त्यो भने थाहापाउने कुरा भएन । तर जति जनाले यो पुस्तकको उत्पात प्रशंसा गरे । तिनीहरुले यसको छेउटुप्पो केही बुझेको होइन रहेछ भन्ने झलक छर्लङ्ग देखिन आएकोले, जहाँ तथ्य छैन त्यहीँ मान्छेको आकर्षण भएको हुनाले यो हुनु भएन भन्ने बोध गराउने उद्देश्यले यो लेख तयार गरेको हो ।
यो पुस्तकको उत्तरपक्ष खण्ड १८ अध्यायमा विभाजित छ जसमध्ये ४ अध्याय देखि १३ अध्यायसम्म वेदाङ्गज्योतिषको बेलिविस्तार लाइएको छ । यसरी १० वटा अध्यायमा वेदाङ्गज्योतिषको मुक्तकण्ठले तारिफ गरिएको छ । तर यसरी गरिएको तारिफको कुनै औचित्य सावित हुन भने सकेन । फलस्वरुप लेखक आफैले वेदाङ्गज्योतिषलाई देखाउने दाँतको रुपमा मात्र प्रयोग गरे त्यो भन्दा बढी केही होइन । किनभने अरुले बेंकटेश केतकरको सौरार्य ब्राह्मपक्षीय तिथिगणितबाट गणना गरेको देखेर त्यसबाट गर्ने होइन वेदाङ्गज्योतिषबाट गर्नु पर्छ भनेको कुरा पूर्णिमा अंक ३४ र ३७ पल्टाएर पढ्न सकिने कुरो हो । यसरी पूर्णिमा अंकमा भनिएको कुरा लिच्छविसंवत्को निर्णयमा लागु नगरी केतकरकै गणना पद्धति लागु गरिएपछि यो किन ? भनेरसम्म पनि सोध्न नसक्नेले उत्पात तारिफ गरेको हुनुले कुनै मतलब सिद्ध हुने होइन । वेदाङ्गज्योतिष त यसरी देखाउने दाँत पो बनाएको रहेछ भन्ने पनि कुनै अत्तोपत्तो थाहा नहुनेले तारिफ गरेको कुनै अर्थ हुँदैन ।
चिनी नभए पनि कमिलाको ताँती लागेकोे देख्दा अचम्म भए झैं वेदाङ्गज्योतिष नबुझेपनि मान्छे बग्रेल्ती पछि लाग्नेहरुको ताँती अहिले जनमानसमा देखा परेको छ । स्वयं वेदाङ्ग ज्योतिषका पिताले लिच्छविसंवत्को निर्णयको उपसंहार खण्डको अन्तिम पृष्ठमा व्यक्त गरेको कुरा यसप्रकार छ ।
वेदाङ्गज्योतिष त अहिलेसम्म जम्मै आफैले बुझेको छैन, अरुलाई पढाउने कुरा त
परै जावस् ।
( लिच्छविसंवत्को निर्णय ,पृष्ठ ५७५)
यही पृष्ठको अन्तिम अनुच्छेदमा व्यक्त गरेको यस प्रकार छ ।
जे भए पनि अलिअलि वेदाङ्गज्योतिष म प्रतिदिन पढ्छु । कहिले उदाहरण पाइन्छन्
? पाणिनिका सूत्रबाट वेदाङ्गज्योतिषका पद साध्न कहिले सकिन्छ ?
सिद्धान्तशिरोमणिका सूत्रबाट वेदाङ्गज्योतिषका सूत्रका अर्थ गर्न कहिले सकिन्छ ?
त्यस अर्थबाट मानदेवहरुका अभिलेखमा देखिएका अधिमासलाई कहिले गन्न
सकिन्छ ? जे भएपनि म एक्लै भएपनि नमरेसम्म यो काम चलाई नै रहने छु ।
उपरोक्त अभिव्यक्तिले वेदाङ्गज्योतिषका पिता स्वयले ंत वेदाङ्गज्योतिष जम्मै बुझेको छैन अरुलाई सिकाउन सकिने संभव भएन तैपनि घोकेर बस्ने गर्दछु । यसरी घोकेर बस्ने उनी आफु एक्लै सिवाय अरु कोही थिएन भन्ने प्रष्ट हुन्छ । उनले आफु नमरेसम्म वेदाङ्गज्योतिष घोकेर बस्ने काम चलाई रहने छु भने पछि त्यसपछि वेदाङ्गज्योतिष घोकेर बस्ने अरु कोही छैन भन्ने प्रष्ट हुन्छ ।
अहिले जनमानसमा वेदाङ्गज्योतिष र बालगंगाधर तिलकको नाउँ लिएर जान्नेसुन्ने बन्न खोज्ने मान्छे स्याऊँस्याऊँति देखिन थालिएको छ । वेदाङ्गज्योतिषका पिता र वेदाङ्गज्योतिषका पितामह बालगंगाधर तिलकले त कुनै टुङ्गोमा पु¥याएर छोड्न नसकेको वेदाङ्गज्योतिषलाई अहिलेका ठेट्ना बालकहरुले टुङ्गोमा पु¥याउला भनी आशा र भरोसा लिने ठाउँ छैन । ती ठेट्नाहरुले वेदाङ्गज्योतिष कस्तो होला ? अनुमान पनि गर्न सकेको देखिंदैन ।
यही पृष्ठमा यस्तो पनि भनिएको छ
वेदाङ्गज्योतिषको प्रामाणिक प्राचीन व्याख्या पाईंदैन । बालगंगाधर तिलकले आफू
भन्दा लगत्तै भनेजस्ता अघिका वेदाङ्गज्योतिषका व्याख्याता बार्हस्पत्य र सुधाकर
आदिका व्याख्या परीक्षा गरी एउटा निबन्ध अंग्रेजीमा लेखेका छन् । उनको
निबन्धले कुरो टुङ्गो लाउन त सकेको छैन तैपनि त्यस निबन्धबाट वेदाङ्गज्योतिष –
विषयको सामान्य ज्ञान जिज्ञासुको मनमा चढ्छ ।
यहाँ औंल्याउन खोजेको कुरा यही कि वेदाङ्गज्योतिष अप्रामाणिक भनेर थाहा हुँदाहुँदै यसका पिता र पितामहले आफनो जीवन त्यही घोक्नमा बिताएर अमूल्य समय खेर फालेर गए भने अहिलेका ठेट्नाहरु वेदाङ्गज्योतिष तिर के देखेर आकर्षित भइरहेका हुन् ?अचम्म छ ।
जे भए नि वेदाङ्गज्योतिषका पिताले लिच्छविसंवत्को निर्णय लेख्दा त लेख्नासाथ पुरस्कारको वर्षा भएको थियो भने यही निर्णयले गौरव मानेको वेदाङ्गज्योतिषको पछि लागेको खण्डमा फेरि त्यस्तै वर्षा होला कि भनी आशा लिएर लागीरहेको हो भने बेग्लै कुरा नत्र वेदाङ्गज्योतिष नमच्चिने पिङ्को सय झड्का सिवाय अरु देखिएको होइन ।
लिच्छविसंवत्को निर्णयमा लेखकले गौरव मानेको विषय भनेको तीन वटा तत्व मुख्य देखिएका छन् । जसमा पहिलो तत्व वेदाङ्गज्योतिष, दोस्रो तत्व सुमतितन्त्र र तेस्रो तत्व भनेको विष्णुपादुका फेदीको अधिमास उल्लेखित मानदेवको अभिलेख हुन् ।
१.वेदाङ्गज्योतिष
राजनीतिक वृत्तमा धेरै चलेको सुनेको उखान भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ संसद भने जस्तै वेदाङ्गज्योतिषलाई पनि विद्वान भनाउँदाहरुले त्यसरी नै प्रयोग गर्दै आएको छ । किनभने वेदाङ्गज्योतिषमा बेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथि गणितको प्रावधान नै छैन । अरुले केतकरकोे गणितको प्रयोग गर्न नहुने आफुले चाहीं केतकरकै गणित प्रयोग गरेर पनि वेदाङ्गज्योतिषबाट गरेको दावी गर्न सक्ने यो जस्तो अत्यन्त अशोभनीय भद्दा भ्रम अरु के होला?
अहिले केही मानिसहरु वेदाङ्गज्योतिषको नाउँ अघिसारेर एक महिना काटेर पर्वसुधार गर्ने भन्दै त्यही उद्योगमा लागीरहेका छन् । त्यसरी एक महिना काट्दा प्राकृतिक नियममा के असर पर्छ त्यसको कुनै लेखाजोखा नै नगरी अन्धाधुन्ध लिंडेढीपि गर्दै आइरहेको देखेकै हुनुपर्दछ ।
त्यो अन्धाधुन्ध लिंडेढीपि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वि.सं २०६९ सालमा प्रकाशित “पर्वसुधारका आधारहरु” नामक ५२ पृष्ठको सानो पुस्तिकामा तड्कारो रुपमा देख्न पाइन्छ । किनभने त्यसमा वेदाङ्गज्योतिष समन्वयात्मक पद्धतिमा आधारित भनेर धेरै ठाउँमा उल्लेख गरेको छ भने यसमा ३८ सौरवर्षमा १३८७९ सावनदिन पर्छन् र ३८ सौर वर्षमा १४ वटा अधिमास मानिदियो भने सौर गणना र चान्द्र गणना ट्वाक्क मिल्न आउँछन् । त्यसरी ट्वाक्क मिलेको सौरवर्ष ३६६ दिनको हो कि ३६५ दिनको यसमा उनीहरु आफै अन्यौलमा छन् ।
किनभने वेदाङ्गज्योतिष अनुसार एक सौर वर्षमा २ अयन ६ ऋतु १२ सौरमास तथा ३६६ सावन दिन हुन्छन् भनी धेरै ठाउँमा उल्लेख गरिएको कुरा लिच्छविसंवत्को निर्णयमा पाइन्छ । पाँच वर्षमा २ चोटी अधिमास परेको खण्डमा ३५ वर्षमा १४ चोटी अधिमास र अर्को ३ वर्षमा १ चोटी परेकोलाई छोडे पछि १४ वटा मानिदियो भने सौर गणना र चान्द्र गणना ट्वाक्क मिल्छ भनियो । यसमा मानिदियो भने मात्र यदि मानेन भने केही न केही भन्ने प्रष्ट छ । लिच्छविकालमा अधिमास परेको अभिलेख नियाल्ने हो भने कहिले १८ महिना कहिले २४ महिना कहिले ३६ महिना फरकमा अधिमास परेको प्रमाण दृष्टान्त छन् । यो कुरा पर्वसुधार भनी भौतारिदै आएकाहरुले थाहा पाएको होइन । त्यही भएर पर्वसुधारका आधारहरु नामक पुस्तकमा लिच्छविसंवत्को निर्णयमा छ भनेर आफु सजिलै पन्छिन खोजेको छ । वास्तवमा उनीहरुले वेदाङ्गज्योतिष र लिच्छविसंवत्को निर्णयमा दिइएको भएर उल्लेख गरेको हो , बुझेर उल्लेख गरेको होइन भनेर प्रष्ट देखियो ।
वास्तवमा पर्वसुधारको आधारहरु भन्ने पुस्तिकामा ३६६ दिन भएको, माघ शुरु पौष अन्त महिना हुने वर्षको क्यालेण्डर बनाइ हरेक अढाइअढाई वर्षमा अधिमास आउने त्यसमा एउटा आषाढ र अर्को पौष भएको बनाएको हुनुपर्ने । लिच्छविकालमा १८ महिना ,२४ महिना र ३६ महिनामा दुइचोटी अधिमास आएको लिच्छविकालको अभिलेखमा देखियो जुन गलत हो यसले त्योबेलादेखि पर्व बिग्रेर आएकोले सुधार गर्नु परेको भनी औचित्य सिद्ध गरेको हुनु पर्दथ्यो । जसको कुनै नामो निशान छैन । त्यसकारण अहिले वेदाङ्गज्योतिष र लिच्छवि संवत्को निर्णयको जुन उत्पात प्रशंसा गर्दै आउनेहरुले छेउटुप्पो केही बुझेको होइन अरुले तारिफ गरेको देखेर मात्र आफुले पनि तारिफ गर्न थालेको भन्ने बाहेक अरु होइनन् रहेछ भन्ने स्पष्ट खुल्न आएको छ ।
२.सुमतितन्त्र
“सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पर्दथ्यो ”
यो एक किसिमको उद्गार हो । जुन उद्गार पुस्तकको १२१ पृष्ठमा व्यक्त गरिएको छ । यसमा हाँ मा हाँ मिलाउने मुख्यतः इतिहासकारहरु नै देखापरे । वास्तवमा सुमतितन्त्रमा के छ के छैन? भन्ने कुरा तमाम इतिहासकारलाई राम्ररी थाहा छ तैपनि बूझ पचाउन खोजेको मात्र देखियो ।
लिच्छविसंवत्को निर्णयको पृष्ठ १ मा सुमतितन्त्रको मूल वाक्य दिइएको छ । त्यस मूल वाक्यमा युधिस्थिर दुर्योधन संवत् छ ,नन्दसंवत् ,चन्द्रगुप्तसंवत्,शूद्रकदेवसंवत् छ र शकसंवत् छ भनेर लेख्नेले विक्रमसंवत् छ भनेर किन लेखेनन् ? यसमा शकसंवत् ४९८ सम्म चल्यो भनेर लेखेको छ । यदि सुमतितन्त्र भेटिएकोले साँच्चै खुसी भएको भए शक ४९८ लाई नै साधन बनाउन सक्नु पर्ने हो । जब संवत् ३१ को चाँगुको गरुड कवचको अभिलेखको मितिलाई ६३३ विक्रमसंवत् बनाउन ४९८ मा १३५ जोड्नुको मतलव वि.सं ६६४ बनाउनलाई हो । फेरि त्यही ६६४बाट १३५ घटाएर पुनः शक ५२९ बनाउनु प¥यो किन ? सिधै संवत् ३१ मा ४९८ जोडेपनि शक ५२९ नै हुने हो । किनभने यो गर्नुको उद्देश्य भनेको दुनियाँलाई उल्लू बनाउनु परेकोले हो । यसको कारण छर्लङ्गै छ किनकि अभिलेखको संवत् पनि कार्तिकादि र शकसंवत् पनि कार्तिकादि मानेपछि संवत् ३१ र शक ५२९मा एक लाइन पनि तलमाथि गर्न पाइएन । संवत् ३१ भनेको विसं ६६४ को कार्तिकदेखि ६६५को आश्विनसम्म रहन्छ गरियो भने ६६४।६६५ बाट १३५।१३५ घटाउँदा शक ५२९ र ५३० देखाउन सहज हुने भएर नै हो । तर यो गर्दैगर्दा आफु सिद्धान्तबाट च्यूत भइसकेको चाल पाएनन् । त्यही चाँगुनारायणको स्तम्भलेखमा भने ३८६ लेखिएको संवत्लाई शकसंवत् मान्दा वि.सं ५२१ को कार्तिकदेखि विसं ५२२ को आश्विनसम्म रहने देखाएर त्यहाँ चाहीं शकसंवत् र विक्रमसंवत्मा १३५।१३६ फरक देखाउने,यता संवत् ३१ मा भने १३५।१३५ फरक पारी वि.सं ६६४।६६५ बनाएको देख्दा कसको नाक भाँचियो ?त्यो कुरा निर्णयको समर्थनमा मुक्तकण्ठले तारिफ गर्दै आएका इतिहासकारहरुले ख्याल राख्नु पर्ने कुरा हो ।
तल संव्त ३०१ को सहोत्तर तन्त्रको तिथिमितिको गणना गर्दा सुमतितन्त्रको मूल वाक्यमा शकसंवत् ४९८ सम्म चलेको देखाउने तर सुमतितन्त्रमा हुँदै नभएको ४९९ जोडेर शक ८०० देखाई गणना गर्दा पनि नाक भाँचियो कसको ?भन्दा उनै गणकको हो । यसरी आफुले लगाएको लगौंटी बारम्बार फुस्केको फुस्क्यै हुँदा पनि लाजको महसूस नहुनु भनेको साँच्चै आश्चर्य नै मान्नु पर्ने विषय भएको छ । यो भनेको सुमतितन्त्रलाई केवल देखाउने दाँत सिवाय अरु बनाइएको छैन भन्ने प्रष्ट हुन्छ ।
३.विष्णुपादुका फेदीको अधिमास उल्लेखित मानदेवको अभिलेख
लिच्छविसंवत्को निर्णयको उपोद्घात खण्डमा ५३ पृष्ठ लामो आत्मबृतान्त दिइएको छ । त्यसमा २४ पृष्ठमा उनको आफनो कुरा यसरी व्यक्त गरिएको छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा म बसेको पूरा साढे ६ वर्ष भयो । यस अवधिमा यहाँबाट मेरो विभागले गर्न सकेको अन्वेषण एउटा मात्र छ । मानदेवको विष्णुपादुका फेदीको अभिलेखको संवत् ३९६ भनी संशोधन मण्डलले पढेको थियो ।
शंकरमानले ३९६ होइन ३९५ हो भनी पढे । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको अन्वेषणले ३९६ पनि होइन,३९५ पनि होइन वास्तवमा ३९८ हो भनी निर्णय ग¥यो । साथसाथै अभिलेखको संवत् ३९८ शकसंवत् नै हो भनेर निर्णय गरेको हो । निर्णायक स्वयं र अरु तमाम इतिहासकारहरुलाई थाहा छ कि विष्णुपादुका फेदीको अभिलेखमा प्रथमाषाढे शुक्ल दिव १२ दिइएको मतलव त्यो वर्ष अधिमास परेको रहेछ । यही निर्णयको २९४ पृष्ठ पल्टाएर हेरियो भने शक ३९८ को वर्षमा अधिमास परेको छैन भनेर निर्णायक स्वयं र अरु तमाम इतिहासकारहरुलाई थाहा छ ।
शंकरमान राजवंशीको मत अनुसार ३९८–२२ गर्दा ३७६ हुन्छ । अधिमास सारणीमा ३७६ मा अधिमास छैन । निर्णायकले यसरी अरुको नमिलेको हेर्ने तिर भन्दा पहिले आफ्नो मिलाउनु प¥यो भन्ने कुरा नबुझेको किन? आश्चर्य त यसमा हो । शक ३७६ मा अधिमास छैन भने झैं शक ३९८ मा पनि अधिमास छैन । यसले अरुको आङ्मा जुम्रा हिंडेको चाहीं देख्ने आफ्नो आङ्मा भैंसी चढेको चाहीं नदेख्ने जस्तै भएकोले यो आश्चर्यको पनि पराकाष्ठा भएन र ?अधिमास सारणीमा शक ३७६ मा अधिमास नपरेको देखाउन सक्नेले, शक ३९८ मा अधिमास परेको देखाउन सक्नु पर्दथ्यो । अरुको नमिलेको देख्नेले आफनो नमिलेको पनि अवश्य देखेकै हो । शकसंवत्लाई कोही चैत्रादि मान्ने कोही कार्तिकादि मान्ने कोही चाही माघादि मान्नेहरु पनि देखियो । यहाँ यो माने ठीक उमाने बेठिक भन्ने सवाल छैन । सवाल हो शक ३९८ मा अधिमास परेको देखाउन सक्ने मात्र बहादुर ठहरिने हो । यसरी खुल्लेआम बूझ पचाउनु भनेको निर्णायक स्वयंलाई त अफाप सिद्ध भयो भयो निर्णयलाई समर्थन गरेर मुक्तकण्ठले प्रशंसा गर्दै आउने तमाम इतिहास मर्मज्ञहरुको लागि पनि यो निर्णय अफाप सिद्ध छ भनेर बुझ्न जरुरी छ । साथमा शकसंवत् माघादि भन्नेहरुले पनि बुझ्नु पर्ने जरुरी छ ।
निष्कर्ष
सबै त होइन कतिपय मानिसहरु अहिले आफुलाई ज्योतिष हुँ भनेर पर्वसुधारको पक्षमा भन्दै घाम नापेर हिंद्नेहरुको लागि आदर्शमय ग्रन्थको रुपमा लिच्छविसंवत्को निर्णयलाई नै लिंदै आएको छ भने आफुलाई घघरान इतिहासकार हुँ भन्नेहरुले पनि लिच्छविसंवत्को निर्णय नामक ग्रन्थको नाम नलिई खाएको नपच्ने ठान्दै आइरहेको छ । यसमा ज्योतिषको पक्षधर भएर बोल्नेहरुले वेदाङ्गज्योतिषमा यो छ उ छ नपत्याए लिच्छविसंवत्को निर्णयमा लेखिएको छ भनी हवाला दिने गर्दै आएको छ । त्यस्तै इतिहासको पक्षधर भएर बोल्नेहरुले चाहिं सुमतितन्त्रमा यो छ उ छ नपत्याए लिच्छविसंवत्को निर्णय पल्टाएर हेर भन्दै हवाला दिने गर्दै आएको छ । वास्तवमा त्यसरी हवाला दिन लायकको प्रशंसा योग्य ग्रन्थ त्यो बिल्कुल होइनन् भन्ने कुरा विभिन्न दृष्टिकोणले आद्योपान्त कैफियत नै कैफियतको जालोले बुनिएको निर्णय हो भनी सिद्ध भइसकेको छ । त्यो कुनै कतै क्षेत्रमा पनि उपयोगी ठहर हुन नसक्ने अनुपयोगी सिद्ध भएको ग्रन्थ हो । भलै पुरस्कार र सम्मानले ढपक्कै ढाकिएको देखिएपनि बाहिरबाट हेर्दा मात्र राम्रो देखिएको हो तर भित्रभित्र कुहिएको सडेगलेको फल सिद्ध भएकोले यसको दूर्गन्धले इतिहास र ज्योतिष फाँट आज अपवित्र भइरहेको छ ।




