
काठमाडौँ, २२ असार | भोट बौद्ध धर्मगुरु १४औँ दलाई लामाको आज ९०औँ जन्मोत्सव विश्वभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइँदै छ । नोबेल शान्ति पुरस्कार विजेता लामाको सु–स्वास्थ्यका साथै दीर्घायूको कामना गर्दै भारतको धर्मशालामा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ । शान्ति, करुणा र धार्मिक सहिष्णुताका लागि विश्वभर चिनिने दलाई लामाको जन्मदिनको अवसरमा नेपाल, भुटान, भारत, चिन, अमेरिका, युरोप लगायतका विभिन्न देशका हिमाली बौद्ध धर्मावलम्बीहरु धर्मशाला पुग्नुका साथै उक्त देशहरुका विभिन्न गुम्बाहरुमा विविध धार्मिक र सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएका छन् ।
दलाई लामाको जीवन र योगदान
सन् १९३५ जुलाई ६ मा भोटको ताक्सेर गाउँमा जन्मिएका दलाई लामा (तेनजिन ग्यात्सो) २ वर्षको उमेरमा भोट परम्पराअनुसार १३औँ दलाई लामाको पुनर्जन्मका रूपमा पहिचान गरिएका थिए । बाल्यकालदेखि नै बौद्ध धर्मशास्त्र, दर्शन र ध्यानमा गहिरो अध्ययन गर्दै उनी तिब्बतको धार्मिक तथा राजनीतिक नेता बने ।
१९५९ मा भोटमा चिनियाँ हस्तक्षेपपछि आफ्ना अनुयायीहरु सहित उनले भारतको धर्मशालामा निर्वासित जीवन बिताउन थालेका हुन् । त्यहीँबाट उनले भोट संस्कृति र धर्मको संरक्षण गर्दै विश्वभर अहिंसा र संवादमार्फत तिब्बतको स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएका छन् । जसका कारण उनले सन् १९८९ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरे ।
पुस्तक लेखन
दलाई लामाले मैत्री, करुणा, मानवता र अध्यात्मका विषयमा थुप्रै पुस्तकहरू लेखेका छन् । उनका चर्चित कृतिहरूमा The Art of Happiness, Ethics for the New Millennium, The Universe in a Single Atom, My Land and My People, Freedom in Exile / How to See Yourself As You Really Are / Voice for the Voiceless रहेका छन् । यी पुस्तकहरू विश्वभरका पाठकहरूलाई शान्ति र आत्म–अवलोकनको मार्ग देखाउने प्रेरणादायी कृतिहरू मानिन्छन् ।
उत्तराधिकारी चयनको नयाँ योजना
यस वर्षको जन्मदिन नजिकिँदै गर्दा दलाई लामाले आफ्नो आगामी पुनर्जन्मका सम्बन्धमा महत्वपूर्ण घोषणा गरेका छन् । घोषणामा उनले आफूपछि पनि दलाई लामाको पुनर्जन्म परम्परा कायमै रहने र उत्तराधिकारीको पहिचान परम्परागत धार्मिक भोट प्रक्रिया अनुसार हुने बताएका छन् ।
दीर्घायुको आकांक्षा
दलाई लामाले आफू अझै ३०–४० वर्ष जीवित रहने आशा व्यक्त गर्दै भने, “जबसम्म सेवा गर्न सकिन्छ, जीवन जारी रहन्छ । यदि आवश्यक भए पुनर्जन्म हुनेछ ।” यसले उनी १३० वर्षसम्म बाँच्न सक्ने सम्भावनाबारे अनुमान गर्न थालिएको छ ।
नेपाल र विश्वभर उत्सव
नेपालमा बौद्ध धर्मावलम्बीहरूले ध्यान, प्रार्थना, पाठ र सामाजिक सेवा गरी उनको जन्मोत्सव मनाइरहेका छन् । धर्मशालामा हजारौं भक्तजन, साधक र पर्यटकहरूले सांस्कृतिक कार्यक्रम, ध्यान सत्र र सार्वजनिक प्रवचनहरूमा सहभागी छन् ।





