दुर्गा लामिछाने
भगवान बुद्धले शिक्षा दिन थालेर संघ स्थापना भएपछि विभिन्न समयमा उत्पन्न भएका विभिन्न समस्याहरुको समाधान खोज्ने क्रममा नियमहरु (विनय) बनाइँदै गएको देखिन्छ । पछि यसरी बनेका विनयहरुको संगालो विनय पिटक बुद्धका समग्र शिक्षाका संकलन (त्रिपिटक)मध्येको एक पिटक बन्न पुगेको छ । विनय निर्माणकै सिलसिलाको एउटा प्रसंग वर्षावासका सम्बन्धमा पनि रहेको छ । सामान्यतयाः भिक्षाटनका लागि दैनिक विभिन्न स्थानमा आवत जावत गर्ने भिक्षु भिक्षुणीहरु वर्षायामका तीन महिना भने निर्धारित स्थानहरुमा बस्ने अभ्यासलाई वर्षावास भनिन्छ ।
भगवान बुद्धको समयमा उहाँ र उहाँका शिष्यहरु जस्तै गृह त्याग गरी प्रव्रजित भएर विहार, आश्रम, वन, कुटीहरुमा एक्ला एक्लै वा समूहमा बसेर मुक्तिको खोजिका लागि विभिन्न प्रकारले अभ्यास गर्नेहरु अरु पनि थिए । मुख्यतः खेती किसानीमा निर्भर अर्थतन्त्र । ग्रामीण वस्ती र खेतबारीका बीचबीचबाट खोलिएका गोरेटो बाटो हुने गर्थे । वर्षायाम यसै पनि धेरै किरा फट्याँग्रा उत्पन्न हुने तथा जमिनमा निस्किने बेला नै हो । त्यसमाथि पनि खेतीपाती भएका ठाउँमा त झन् धेरै नै हुने भइहाले । यसरी टाढाटाढा भिक्षाटन गर्न जाँदा तिनै खेतका गोरेटो पार गर्नै पर्ने हुन्थ्यो । र यसरी पार गर्दा प्राणी हिंसा नगर्ने भन्ने शील तोडेको भन्दै तिर्थंकरको समूहले भगवान बुद्ध र उहाँका शिष्यहरुको विषयमा कुरा गरेको प्रसंग भगवान बुद्ध सामु राखिन्छ । प्राणी हिंसा नगर्नुलाई आफ्नो पनि शीलमा राखेका तिर्थंकरको समूह भने वर्षाका तीन महिना निश्चित ठाउँमा वर्षावास गर्ने गर्थे ।
त्यसपछि भगवान बुद्धले आफू तथा आफ्ना शिष्यहरुका लागि पनि असार पूर्णिमादेखि कार्तिक पूर्णिमासम्मका तीन महिना वर्षावासको प्रचलन शुरु गर्नुभएको आनन्दकुटी महाविहारका भिक्षु धर्ममूर्ति महास्थवीर बताउनुहुन्छ ।
कसरी बसिन्थ्यो वर्षावास ?
वर्षा शुरु हुनुअघि नै भिक्षुहरुले वर्षावासका तीन महिना आफू कुनै विहार, वन वा गाउँको कुनै निश्चित स्थान कहाँ बस्ने हो निधो गर्नुपथ्र्यो । एक्लै बस्ने हो कि कतिजना बस्ने हो त्यो पनि तय गर्नुपथ्र्यो । यसरी बस्नुअघि त्यस वरपरका स्थानीय वासिन्दालाई वर्षावास बस्न लागेको जानकारी गराउनु पथ्र्यो, ता कि उनीहरुले भिक्षुहरुका लागि भोजनको व्यवस्था गर्न सकून् । साथै भिक्षुहरु वर्षावासमा बस्न लागेको चर्चा चल्दा गृहस्थहरुले एक वा एकभन्दा धेरै भिक्षुहरुलाई आफ्नो गाउँ, वन वा बँगैचामा आफूहरुले बस्ने तथा खानपानको व्यवस्था गरिदिन्छौं, आएर वर्षावास बसिदिनुपर्यो भनेर अनुरोध पनि गर्न सक्थे । वर्षावास बस्ने भिक्षुलाई खेतको बाटो नभई एउटा गाउँभित्र मात्रै चाहीँ भिक्षाटन गर्न जान पनि छुट हुन्थ्यो । जसले गर्दा भिक्षु वर्षावास बसेकै स्थानमा गई दान दिन नसक्ने, नभ्याउने दाताका लागि दान दिई पुण्य आर्जन गर्ने अवसर पनि हुन्थ्यो ।
साधनामा जोड
वर्षावासमा जानुअघि भिक्षुहरु भगवान बुद्धकहाँ गई “शास्ता हामी (म) यो वर्षावासमा यहाँ गएर ध्यान भावनाको अभ्यास गर्छौं । हामीलाई ध्यान भावनाको विधि (कर्मस्थान) दिनुस् । तीन महिना अभ्यास गरी पूर्णता प्राप्त गरेर आउँछौं ।” भनेर जाने गर्दथे । भगवान बुद्धले उनीहरुको स्तर हेरी कर्मस्थान दिनुहुन्थ्यो । वर्षका ९ महिना भिक्षुहरु निश्चित समय बुद्धबाट शिक्षा लिने र धेरैजसो समय भिक्षाटन गर्दै मानिसहरुका समस्या समाधानमा सल्लाह दिने गर्दै हिँड्नु पर्दा आफ्नै ध्यान भावनालाई भने धेरै समय दिन भ्याउँदैन थिए । त्यसको परिपूर्ति स्वरुप पनि वर्षावासका तीन महिनालाई उपयोग गरेको देखिन्छ । यी तीन महिना दैनिक छोटो समयमा भिक्षाटन सकी आश्रममा फर्केर अधिकांश समय बुद्धले दिनुभएको विधिमा ध्यान भावना गर्दै आफ्नो अनुभवलाई गहिर्याउँदै जानुपथ्र्यो । भिक्षुले ध्यान भावनाबाट प्राप्त गर्ने ज्ञान उपदेशका माध्यमबाट गृहस्थहरुमा नै प्रवाह गर्ने भएकाले कतिपय व्यक्ति तथा गाउँले नै भिक्षुहरुलाई वर्षावासको समयमा बस्ने, खाने व्यवस्था गरिदिने पनि चलन थियो ।
अन्य देशमा
बौद्ध धर्मावलम्बीहरुमध्ये पनि खासगरी श्रावकयानको हाल जिवित रहेको हाँगा थेरावादको अभ्यास गर्ने थाइल्याण्ड, वर्मा, कम्बोडिया, लाओस लगायतका देशहरुमा अहिले पनि भिक्षुहरु भिक्षाटन गरेरै जिविका चलाउने प्रचलन छ । ति देशहरुमा अहिले घरमा पकाएर दान गर्ने भन्दापनि होटलबाट पाकेका खानेकुरा प्याक गराएर भिक्षुलाई दान गर्ने र आफूपनि खाना लिएर काममा निस्किने गर्दछन् ।
नेपालमा
नेपालमा भिक्षुहरु भिक्षाटन जाने प्रचलन छैन । साथै दान दिन आउने दाताहरुले पनि पकाएको खानेकुरा नभई काँचो चिजहरु दान दिने चलन छ । यसले गर्दा त्यसलाई व्यवस्थापन गर्ने, पकाउने काम पनि कि त दाता आफैं विहारमा गएर गरिदिने वा पकाउने जिम्मा विहारलाई नै दिएर आफू भोजन गराउने समयमा उपस्थित भई पस्किएर दिने गरिन्छ । यो बाहेक घरमै निमन्त्रणा गरेर खुवाउने पनि प्रचलन छ ।
वर्तमानमा वर्षावास अभ्यास
नेपालका साथै थेरावाद परम्पराको अभ्यास रहेका देशहरुमा वर्षावासको अभ्यास समान खालकै छ । भिक्षुहरु आफू बसिरहेकै विहार वा अन्य ठाउँमा गएर पनि वर्षावास बस्ने भगवान बुद्धको समयदेखिकै चलन अझै कायमै छ । यसमा भिक्षुले आफ्नै इच्छाले वा दाताहरुको निमन्त्रणा अनुरुप पनि वर्षावास बस्ने गरिन्छ । दाताहरुको निमन्त्रणामा वर्षावास बस्ने भए यी तीन महिना भिक्षुको बस्ने, खाने सबै व्यवस्था दाताले मिलाउँछन् । वर्षावासमा निमन्त्रणा गरिने भिक्षुका लागि वन, बँगैचा वा वस्तिभित्रै भए पनि अलग्गै कुटी वा अलग्गै घरमा बस्ने व्यवस्था गरिनु पर्ने भिक्षु धर्ममूर्ति महास्थवीर बताउनु हुन्छ । ‘सायद गृहस्थहरुसँग मिसिएर बस्दा उनीहरुको दैनिक घर व्यवहारका कुरा देखिरहँदा, सुनिरहँदा असर पर्ने कुरालाई ख्याल गरेर होला एउटै घरमा राख्न नहुने कुरा विनयमै उल्लेख छ,’ महास्थवीर भन्नुहुन्छ ।
विहारसम्म सधैं गएर दान, सेवा गर्न सहज नहुनाले एकातर्फ गृहस्थहरुले भिक्षुहरुलाई आफ्नै ठाउँमा बोलाएर राखी दान, सेवा गरी पुण्य आर्जनको अवसर प्राप्त गर्दछन् भने अर्कातर्फ भिक्षुहरुबाट धर्म देशना सुनी आफ्नो जीवन सहज ढंगले जिउने मार्गदर्शनका साथै धर्ममा अघि बढ्ने अवसर पनि प्राप्त हुन्छ । गृहस्थहरु नआएको बेलामा भिक्षुलाई आफ्नै अध्ययन, साधनाहरु गहिर्याउने अवसर पनि हो वर्षावास । यसबाट भिक्षु आफैंलाई पनि पुण्य आर्जन हुने भयो । बुद्ध धर्ममा कुशल कर्म सम्बन्धी जे जे गरिन्छ त्यसलाई पुण्य आर्जनको माध्यम मानिन्छ । वर्षावासमा हुने जे जति कार्यहरु हुन्छन्, ति सबै कुशल कार्यहरु नै भएका हुँदा यो तीन महिनाको अवधिलाई पुण्य आर्जनको अवसरका रुपमा लिइन्छ ।
भिक्षु स्वयंको वृत्ति विकासमा पनि वर्षावासको महत्त्व रहेको छ । यदि २० वर्षभन्दा कम उमेरमै प्रव्रजित भएको हो भने त्यस्तो व्यक्तिलाई श्रामणेर र महिला हो भने श्रामणेरिका भनिन्छ । र २० वर्ष पूरा भएपछि उपसम्पदा लिई पूर्ण भिक्षु भिक्षुणी बन्न सकिन्छ । भिक्षु भिक्षुणी भएको पहिलो १० वर्ष अर्थात् १० वर्षावास काटेपछि स्थवीर हुन सकिन्छ भने अर्को १० वर्षावास पूरा गरेपछि महास्थवीर हुन पाउने थेरावादी विनिय नियाम छ ।
यस हिसाबले वर्षावास एक भिक्षु जीवनलाई अघि बढाउने आधार पनि हो भन्दा अत्युक्ति नहोला ।




