काठमाडौं| हरेक हप्ताको शुक्रबार झैं आज असार ६ गते पनि बुद्ध प्रकाश फाउन्डेसनको नियमित ध्यान शिक्षण कक्षा सञ्चालन हुने भएको छ ।
आजको कक्षामा विश्वप्रसिद्ध नेपाली बौद्ध गुरूहरु मिङ्ग्युर रिन्पोछे र छोक्न्यी रिन्पोछेको सिकाइ परम्परामा आधारित बौद्ध शिक्षा प्रदान तथा ध्यान अभ्यास गराइनेछ । मुल कार्यक्रम साँझ ५ बजेदेखि ६:३० बजेसम्म सञ्चालन हुनेछ भने नयाँ आगन्तुकका लागि प्रारम्भिक जानकारीमुलक कक्षा त्यसभन्दा आधा घण्टाअघि सञ्चालन हुनेछ ।
आजको कक्षा तेर्गार ओसेल्लिङ गुम्बाका प्रमुख खेन्पो ग्यूर्मेले सञ्चालन गर्नुहुने आयोजक संस्थाका कार्यकारी निर्देशक अरुण पौडेलले जानकारी दिए । “यो ध्यान शिक्षण कक्षा आन्तरिक शान्ति, कल्याण र प्रज्ञाको स्रोतसँग जोडिने एक सुन्दर यात्रा हो,” उनी भन्छन्, “शिक्षण नेपाली र अंग्रेजी दुबै भाषामा हुने भएकाले आफ्नो सहजता अनुसार सुन्न पाउने अवसर पनि छ ।”कार्यक्रममा सहभागी हुन आउनेहरुलाई हरित पहलअन्तरगत चिया र पानी पिउन आ आफ्नै कप लिएर आउन फाउन्डेसनले आग्रह गरेको छ ।