
धूलिखेल,काभ्रे।प्रदेश सरकार खारेज गर्न माग गर्दै धुलिखेल नगरपालिकाको सत्रौं नगर सभामा विशेष प्रस्ताव पेश भएको छ।
धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवं सभा सदस्य अर्जुन न्यौपानेले शुन्य समयमा आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बिनियोजित आर्थिक ऐनहरुका विषयमा गम्भिर प्रश्न खडा भएकोले प्रदेश सरकार खारेज गरि प्रदेश सरकारलाई विनियोजित बजेट सिधा स्थानीय तहमा विनियोजन गर्न सभा मार्फत संघिय संसदमा प्रस्ताव पेश गरेका छन् ।
प्रदेश सरकारले स्थानीय सरकारसँग संमन्वय र सहकार्य नगरेको,बजेट नीति सरकारको हैसियतमा संविधान बमोजिम विनियोजन नगरेको,संविधानको सहअस्तित्व सहकार्य र समन्वयको सिद्धान्त विपरीत कार्य गरी स्थानिय सरकारलाई उपेक्षा गरेको,स्थानीय सरकारको अधिकार र जिम्मेवारी लाई कुन्ठित गरेको र व्यक्तीबादी कार्य गरेको,जिल्लास्थित कार्यालय र त्यसको कामले स्थानीय सरकारलाई कुन्ठित गरेको उनको अरोप छ ।यस्तै प्रदेश सरकार खारेज गर्ने वडा अध्यक्ष न्यौपानेको प्रस्तावमा वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले समर्थन गरेका छन् । उनले प्रदेश सरकारले अपेक्षित काम गर्न नसकेको, बजेट माग गर्न जाँदा कार्यालय बन्द हुने गरेको भन्दै उनले आक्रोश पोखेका छन् ।
उनले भने-“जनताको पक्षमा प्रदेश सरकारले काम गर्न सकेन्।”
प्रदेश सरकार खारेजको प्रस्ताव पेश गर्दा नगरसभा सदस्यहरुले समर्थन जनाउँदै ताली बजाएका थिए ।
