
काठमाडौँ ।दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा शनिबार एक समारोहको आयोजना गरी स्रष्टाहरूलाई सम्मान र पुरस्कारहरू समर्पण गरेको छ ।
समारोहका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले दायित्व वाङ्मय विशिष्ट सम्मानबाट कवि रमेश खकुरेल र समालोचक प्रा.डा.गार्गी शर्मा (काठमाडौँ) लाई सम्मानित गर्नुभयो ।
यसैगरी श्रेष्ठले दायित्व वाङ्मय सम्मानबाट साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे(काठमाडौँ) र जीवनपानी (स्याङ्जा)लाई सम्मानित गर्नुभयो । प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि श्रेष्ठले दायित्व मुरलीदेवी-गुरुदत्त स्मृति पुरस्कार (रु.बीस हजारसहित) साहित्यकार तथा साहित्यसेवी हरि मञ्जुश्री (काभ्रेपलाञ्चोक)लाई, दायित्व सीता पन्त स्रष्टा पुरस्कार (रु.पन्ध्र हजारसहित) रीता न्यौपाने पहारी (कास्की) लाई र हरिकला(गुणाकर दायित्व रचना पुरस्कार (रु.पन्ध्र हजारसहित) सरिता अर्याल (काठमाडौँ) लाई प्रदान गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि कल्याण श्रेष्ठले रामप्रसाद पन्तको संस्मरणसङ्ग्रह ‘उत्कृष्ट सत्ताइस स्रष्टा’ शीर्षकको कृति तथा दायित्व द्वैमासिकको १५२ पूर्णाङ्कको समेत लोकार्पण गर्नुभयो ।

समारोहमा प्रमुख अतिथि कल्याण श्रेष्ठले साहित्यकार र पाठकका बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ भन्नुहुँदै साहित्यसेवा विशिष्ट सेवा हो भन्नुभयो । उहाँले निजीस्तरबाट लामो समयसम्म साहित्यसेवामा लागिरहनु सामान्य कुरा होइन, ठूलो त्यागले मात्रै यो सम्भव हुन्छ भन्नुभयो। साहित्यको विकासका लागि साहित्यिक पत्रकारिताको ठूलो महत्त्व रहेको समेत श्रेष्ठले औँल्याउनुभयो ।
सो अवसरमा सभापति रामप्रसाद पन्तले आफूलाई काम गरिरहन मन लाग्ने बताउँदै सबैको स्नेहले दायित्व वाङ्मय प्रतिष्ठान क्रियाशील हुन सम्भव भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लोकार्पित कृतिका बारेमा कृष्ण प्रधानले समीक्षा गर्नुभएको थियो भने सम्मानित-पुरस्कृत स्रष्टाहरूले सम्मानित-पुरस्कृत भएकामा खुसी व्यक्त गर्दै सम्मान र पुरस्कारले थप दायित्वबोध भएको बताउनुभयो ।
नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल,प्रतिष्ठानका सल्लाहकार प्रह्लाद पोख्रेल, महासचिव यादव भट्टराई,सदस्य डा.नम्रता पाण्डेलगायतले प्रतिष्ठानको गतिविधि एवम् सम्मानित पुरस्कृत प्रतिभाहरूका बारेमा चर्चा गर्नुभएको थियो ।






