काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बालमन्दिर जग्गा प्रकरणको रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा अघि बढाउने निर्णय गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार महान्यायाधिवक्ताको निर्णयपछि अब आवश्यक प्रक्रिया जिल्ला सरकारी वकिलको कार्यालयले गर्नेछ ।
“यहाँबाट निर्णय भएर फाइल गएको छ । अब आवश्यक प्रक्रिया जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अघि बढाउनेछ,” प्रवक्ता दाहालले भने ।
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।
बालमन्दिरको नाममा रहेको जग्गा मिलेमतोमा संगठनले २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने गरी निर्णय गरेको थियो ।भ्रष्टाचार गरेको फाइलमा सीआईबीले अनुसन्धान गरी पक्राउ पुर्जी समेत जारी भइसकेपछि प्रक्रिया रोकिएको थियो ।
अनाथका लागि सरकारले संगठनलाई उपलब्ध गराएको जग्गा तेस्रो पक्षलाई बद्नियतपूर्ण रुपमा दिइएको भन्दै यसमा ठगी भएको महान्यायाधिवक्ता कार्यालयले किटान गरेको हो ।रिता सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।