
धनगढी । नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा शनिबारका दिन स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्व, संस्थाका सचिवालय सदस्य भुवन बोहराको सञ्चालन एवं पूर्व मन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।
पूर्व मन्त्री तारिणीदत्त चटौत, वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत, भाषा आयोगका माननीय सदस्य सुरेश मानन्धर, साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने विशिष्ट अतिथिका तथा साहित्यकार तेजप्रकाश श्रेष्ठ,साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, सुभाषचन्द्र भण्डारी, राजलक्ष्मी चटौत अतिथिका रूपमा रहेका थिए ।
वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीतको विमोचन प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित प्रतिभा लगायत मञ्चमा आसीन व्यक्तित्वहरूबाट भयो ।
कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो । कृतिका बारेमा प्रखर कवि एवं ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले समीक्षा मन्तव्य प्रस्तुत गरेका थिए
कार्यक्रममा वि.सं. २०८० का लागि नेपाली वाङ्मय साधना सम्मानबाट गोपाल अश्क, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाल एवं कर्मयोद्धा सृजना सम्मानबाट राजेन्द्र तारकिणी सम्मानित भए ।
त्यस्तै वि.सं.२०८१ का लागि आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्रा.डा.महादेव अवस्थी, नेपाली वाङ्मय साधना सम्मानबाट प्रा.डा.कपिल लामिछाने, राधिका–गोपालदत्त लघुकथा सम्मानबाट ध्रुव मधिकर्मी, कर्मयोद्धा सृजना सम्मानबाट मेघनाथ खनाल ‘बन्धु’ सम्मानित भएका छन्। यस अघि नै घोषणा गरिएका राधिका–गोपालदत्त लघुकथा सम्मान २०८० का लागि डा.रामनिवास मानवलाई र पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ डा. हरिप्रसाद भण्डारीलाई दिने घोषणा गरिएको थियो ।
आजको कार्यक्रममा प्रा.डा.महादेव अवस्थी, प्रा.डा.कपिल लामिछाने, ध्रुव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल त्यस्तै गरी विशिष्ट अतिथि मनोहर लामिछाने, आरडी प्रभास चटौत, तारिणीदत्त चटौतले आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा सत्या अधिकारी, मन्दिरा चापागाईंं, मनिषकुमार शर्माले लघुकथा एवं सुभाषचन्द्र भण्डारीले कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि शान्ता मानवीले सुदूरपश्चिमबाट आएर राजधानीमा संस्थाका माध्यमबाट महत्वपूर्ण कार्यक्रम गरेकोमा संस्थाका अध्यक्ष एवं संस्थाको प्रशंसा गर्दै भनिन् -“संसार बदल्ने कर्मशील मानिसले मात्र सक्दछ।”
सभामा संस्थाका तर्फबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष तिलकबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।







