
काठमाडौं।अस्ट्रेलियाको आम निर्वाचनमा सत्तारूढ दल लेबर पार्टी विजयी भएको छ।
शनिबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको हो।
चुनावी प्रक्षेपणहरुलाई गलत साबित गर्दै दोस्रो कार्यकालका लागि अल्बानिजको सरकारलाई अस्ट्रेलियाका नागरिकहरूले अनुमोदन गरेका हुन्।
लेबर पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत ७६ बढी सिटमा जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अल्बानिज अस्ट्रेलियामा दुई दशक यता पहिलो पटक लगातार दुई कार्यकाल प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विपक्षी दलले अघिल्लो आम निर्वाचनको तुलनामा यसपटक आफ्नो सिटसमेत गुमाएको छ।
विपक्षी नेता पिटर डटनले पराजय स्वीकार गरेका छन्। उनले प्रधानमन्त्री अल्बानिजलाई बधाई समेत दिएका छन्।
चुनाव जितेलगत्तै प्रधानमन्त्री अल्बानिजले पनि आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्।




