
विराटनगर । बरिष्ठ साहित्यकार बलराम पोखरेलको पछिल्लो कृति ‘आत्मवृत्तान्त जीवनी’को लोकार्पण भएको छ ।
विराटनगर– ४, गोग्राहा चोकमा रहेको खोटाङ सामाजिक सेवा मञ्चको सभा हलमा शनिवार आयोजित एक कार्यक्रममा साहित्यकार पोखरेलको यो कृति लोकार्पण गरिएको हो ।
प्रा डा खगेन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ नारायणप्रसाद आचार्य, प्राज्ञ खेम नेपाली, प्राध्यापक कविराज न्यौपाने, लेखनाथ घिमिरे, दिनेशराज सुवेदी, हरि कट्टेल, भरत गुरागाईँ बर्बरिक लगायतका विशिष्ट लेखक तथा स्रष्टाहरूको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले गरेका थिए । ।
लोकार्पित कृतिमाथि समीक्षक प्रा डा हरिहर भण्डारीको टिप्पणी रहेको थियो । कृतिमा स्वअनुभूतिजन्य खुराकहरुका साथमा दार्शनिक चिन्तन मिश्रित भएको कुरा समीक्षक हरिहर भण्डारीले बताए ।
यस कार्यक्रममा प्राज्ञ नारायणप्रसाद आचार्य, प्राज्ञ खेम नेपाली, प्राध्यापक कविराज न्यौपाने, लेखनाथ घिमिरे, प्रा डा रमेश घिमिरे, प्रा डा मेदिनी शर्मा, दिनेशराज सुवेदी, हरि कट्टेल, भरत गुरागाईँ बर्बरिक, डा हेमसागर रिमाल, श्रीप्रसाद पोखरेल, प्रतिमा खतिवडाको शुभकामना मन्तव्य रहेको थियो ।
लक्ष्मी पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य बाबुराम पोखरेलले राखेका थिए ।
१९९७ साल पुस २६ गते साबिकको खार्पा, खोटाङ (हालको रावाबेँसी गाउँपालिका) मा जन्म भई पछिल्लो समय विराटनगर प्रताप मार्गमा स्थायी बसोबास गरिरहेका पोखरेलका यसअघि १४ वटा विभिन्न विधाका साहित्यिक कृतिहरु प्रकाशित भइसकेका छन् ।
यो १५ औँ कृति आफैँले लेखेको आफ्नो जीवनी भएको हुँदा यथार्थ र तथ्यपरक रहेको बताइएको छ।







