
काठमाडौं, बैशाख ९ गते । नेपाल र बंगलादेशबीच जारी ५ खेलको महिला कबड्डी श्रृंखलाअन्तर्गत तेश्रो खेलमा बंगलादेशले मंगलबार पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको खेलमा बंगलादेशले नेपाललाई २६–२३ अंकले पराजित ग¥यो ।
बंगलादेशकी कप्तान श्रबोनी ‘वोमन अफ द म्याच’ घोषित हुँदै ५ हजार नगद पुरस्कार पाइन् । श्रबोनीले रेडमा १० अंक जोडिन् ।
श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । यसअघिका दुवै खेलमा नेपालले बंगलादेशलाई हराएको थियो । दुईबीचको चौथो खेल बिहीबार हुनेछ । पाँचौं तथा अन्तिम खेल शुक्रबार हुने आयोजक अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।






