
काठमाडौं । स्रष्टा राजबाबु श्रेष्ठ सागरको कथासंग्रह “फिर्दोसको साँचो”को लोकार्पण भएको छ ।
शुक्रबार राजधानीमा उक्त कृतिको लोकार्पण भएको हो ।
कृतिलाई समालोचक प्रा.डा.रामप्रसाद ज्ञवाली,प्रा.डा.अर्चना थापा,समालोचक स.प्राध्यापक अनुपमा रेग्मी,स.प्रा.डा.अशोक थापा र स्रष्टासमेतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
कृतिबारे टिप्पणी गर्दै प्रा.डा.ज्ञवालीले प्रशस्तै श्वैरकल्पनाको प्रयोग भएको कृतिमा सबैभन्दा शसक्त कथा खामभित्रको चिठी भएको बताए ।
अर्का चर्चाकार डा. थापाले कथाहरुले पाठकहरुलाई झसंग पार्ने बताइन् । उनले सिग्मन्ड फ्रायडको झल्को आएको बताइन् ।
रेग्मीले कथाकारले निक्कै गहिरोसँग कथाहरु लेखेको बताउँदै उत्पीडन,जातीय विभेद,लैंगिक विभेदको बारेमा समेत कथाहरु आएको बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य कथाकार तथा समालोचक डा.अशोक थापाले गरेका थिए ।
स्रष्टा श्रेष्ठले लेखकीय मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन डा.हेम भण्डारीले गरेका थिए ।
कृतिलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।








