
चर्चामा पुस्तक
अग्नि-आलाप
सञ्चारकर्मी एवं कवि मधु पाठकको कवितासङ्ग्रहभित्र विविध शिर्षकका पैतिस थान कथ्यमा विविधता भएका कविताहरु समावेश भएका छन् । जीवनका अनेकौँ अवयवहरु छन् । आशावादी चेत प्रवल छ । जीवनका रहस्यहरु उद्घाटित छन् । प्रेमका विषय पनि कविताले उठान गरेका छन् । भाव,विचार र कलाका त्रिवेणी कविताहरुले मातृत्व, प्रेम ,करुणा, वैदेशिक पीडा,मानवीय संवेदना लगायतका विषयवस्तुहरुलाई टपक्के टिपेर कविता कोरिएका छन् ।
समकालीन कविताको लाइनमा लामबद्ध कविताहरु बिम्बात्मक छन् । अनुभूतिमय छन् । गभ्भीर अर्थबोध हुने कविता छन् । मातृस्नेहको भाव छ । प्रकृतिका सौन्दर्यलाई शब्दका कुँची लगाइएको छ ।
कतिपय कविताहरु दार्शनिकचेतले भरिएका छन् । भोगाइका यन्त्रणाहरु पनि यहाँ पढ्न पाइन्छ । विगतप्रति नोष्टाल्जिक भएर लेखिएका कविताहरु पनि छन् । वर्तमानका विकृतिहरुमा पनि कविता कोरिएका छन् ।
सरल भाषा शैली,बिम्ब र प्रतिकहरुको सुन्दर प्रस्तुति,कलाको मिसावटले कविताको भावको सुन्दरता अझै चम्काएको छ । भावप्रधान कविताहरुको बाहुल्यता भएको कृति पठनीय छ ।
पाठकको अग्नि -आलापलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो । यस कृतिको मूल्य रु.२५०। रहेको छ ।
डङ्की :सपनाको कालबाटो
डा.चन्द्र गिरी विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुमा कार्य गरेको अनुभव भएका लेखक,गीतकार पनि हुन् । उनको यो पहिलो उपन्यास हो । जीवनका महत्वपूर्ण पलहरुलाई सुन्दर बनाउँने लालसाले विदेश भासिएका नेपालीको कथा हो उपन्यास ।
पूर्वी नेपालको कुनोबाट प्रारम्भ हुने उपन्यासले अमेरिका र मेक्सिकोको सीमावर्ती क्षेत्रमा आप्रवासीहरुले सबैको सपनाको देश अमेरिका प्रवेश गर्ने क्रममा झेलेका डायरी शैली जस्तो देखिने उपन्यासले दुख,कष्ट र भोगाइका अनवरत श्रृँखलाहरु कस्ता हुन्छन् भन्ने कुराको सत्यापन गरेको छ । त्यतिबेलाका तिनका सङ्घर्षको गाथा कस्तो हुन्छ भन्ने कुरालाई कृतिले उजागर गरेको छ । जीवनमा सुखका आशावादी सोच बोकेर सपना देख्दै अमेरिका पुग्नका लागि मरिहत्ते गर्नेहरुको दर्दनाक कहानीलाई उपन्यासले समग्र खुलासा गरेको छ । तिनले ज्यानको बाजी लगाएर पर्खाल नाघ्ने मात्र नभएर समुन्द्रमा हेलिने हर्कत समेत गर्छन् भन्ने कुरालाई देखाइएको छ । यो विषय कुनै नयाँ होइन । थुप्रै उपन्यास लेखिएका छन् र पनि यसमा केही कुराहरु फरक पनि छन् ।
सरल छ भाषा,कथानक शैली मीठो छ ।
डङ्की : सपनाको कालबाटो उपन्यासलाई बुक हिलले प्रकाशनमा ल्याएको हो । यसको मुल्य रु.७१७। रहेको छ ।
बासन्ती यायावर
माधव काफ्लेद्धारा लिखित स्मृति निबन्धसङ्ग्रहभित्र २७ थान विभिन्न शिष्र्बाकृत स्मृति निबन्धहरु समावेश छन् । कृतिले चर्चित अग्रज शिल्पी मनु ब्राजाकीको जीवनीलाई प्रकाश पारेको छ । यसमा ब्राजाकीका जीवनका अनेकानेक पक्षहरु उजागर भएका छन् । उनीसँगको अन्तरंङ्गमा निबन्धहरु रचिएका छन् । स्मरणका विभिन्न पलकहरु उधिनिएका छन् । उनीसँग विताएका मीठा यादगर पक्षहरु निबन्धहरुले बताउँछन् ।सदावहार सिर्जन परम्पराका सक्रिय नायकको रुपमा उपमा दिएका छन् काफ्लेले ब्राजाकीलाई । मिठास लेखनका पर्याय ठानेका छन् । उनीसँगका अन्तिमभेटसम्मको स्मृतिहरु कैद भएका छन् ।
काफ्ले कुशल र अग्रज निबन्धकार हुन् । उनको निबन्धकारीता उर्वर छ । क्रियाशीलता पनि बेजोड छ । यसमा पनि उनको लेखनी क्षमता मज्जैले पोखिएको छ ।
सरल भाषा,विभिन्न स्मृति बिम्वहरुको बेजोड प्रयोगले लेखनीमा पाइने सुस्वादु मिठासको सुवासिलो वासना नहुने कुरै भएन् । एउटा स्रष्टाले अग्रज स्रष्टाको बारेमा पर्गेलेर लेख्न कमैले सक्छन् । त्यस्तै कम मध्येका एका हुन् माधव काफ्ले ।
वासन्ती यायावरलाई रचना प्रकाशनले प्रकाशित गरेको हो ।


