
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाएर पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टी आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताउदै पार्टी भित्रका फोहोर सफा गरेर अगाडी बढ्ने बताएका हुन् ।
उनले भने- ‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन। पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ,पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ ।’
थापाले नेपाली कांग्रेसले फरक–फरक पुस्तालाई जोड्दै अघि बढ्नुपर्ने बताउदै सामाजिक सञ्जालमा लोकप्रिय हुने होडमा मात्रै लागेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने बताए । उनले भने- ‘अब कसले सुन्छ, कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन । विभिन्न मुद्दा र विषय छन् । यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ, बहस गर्नुपर्छ ।’कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार र आवाजलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले आफु सभापतिको रुपमा पार्टीको आन्तरिक काममा बढी नअल्मलिने बताउदै देशभर घुमेर जनतासँग भेट्ने र पार्टी बाहिरका काममा बढी समय दिन चाहेको बताए । उनले पार्टीको आन्तरिक काम उपसभापति र महामन्त्रीसहित केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।



