
काठमाडौँ । अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ ।
सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ ।
घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार जनाको प्रारम्भिक संख्यामा गोली चलाउने व्यक्ति समावेश भए–नभएको स्पष्ट भइसकेको छैन ।
बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:५९ बजे विद्यालयबाहिर रहेको एउटा कारमा गोली प्रहार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।
