
काठमाडौँ । यमनको राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गरेको छ ।
यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि परेका छन् भने अन्य मृतकको पहिचान खुलेको छैन । आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए । तर, सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ ।
राष्ट्रपति भवन परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीको भनाई छ । आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएको बताइएको छ ।
उता हुथी विद्रोहीले भने आफूहरूले दरबार परिसरभित्र रहेको साउदी सैन्य अभियान केन्द्रलाई निसाना बनाइएको दाबी गरेको छ।
यमनका सरकारी सुरक्षा बललाई साउदी अरबले समर्थन गरेको विरोधमा हुथी विद्रोहीले साउदी अरबका विभिन्न विमानस्थल, बन्दरगाह र तेल केन्द्रलाई समेत लक्षित गर्दै ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ ।
