सबै प्रकारका सुखका साधन उपलब्ध हुँदा जब सम्पूर्ण जीवन निस्सार प्रतीत हुन्छ भने त्यो बेला मनमा बडा उकुसमुकुस हुन थाल्छ । एक तमासको बेचैनी हावी हुन थाल्छ । न घरमा मन रमाउँछ न बनमा । कुनै कविले भनेका थिए ( बाग में लगता नहीं, शहरा से घबराता है जी । अब कहाँ ले जाके बैठें ऐसे दिवाने को हम । ठीक त्यही अवस्था त्यति खेर मैले महसुस गरिरहेको थिएँ । आइएनजिओको जागिर थियो, सिंहदरबार छेवैमा फ्ल्याट थियो, हरेक साँझ रिसोर्टहरूमा पार्टी जम्ने साथीहरू थिए । सबै थियो तर चैन थिएन । जीवन यन्त्रवत् हुँदै गएको महसुस भएको थियो । म को हुँरु मेरो गन्तव्य कहाँ होरु यो सब मैले किन गरिरहेको छुरु मलाई केही पत्तो थिएन । यी प्रश्नहरूले हरपल घोच्न थालेपछि मलाई अर्को एउटा शायरी सम्झना भएर आयो –
न खुशी खरीद पाता हुँ न गम बेच पाता हुँ ।
न जाने क्यों हर रोज दफ्तर जाता हुँ ।
यो असमञ्जसताबाट गुज्रिरहेको बेला तिब्बती मूलका बौद्ध गुरु छोक्न्यी रिन्पोचेले सञ्चालन गरेको तीन दिने विपस्सना शिविरमा सहभागी हुने निम्ता आयो । यो निमन्त्रणा ठीक त्यतिखेर आयो जतिखेर मलाई जीवनमा केही न केही परिवर्तन चाहिएको थियो । घर(अफिस र अफिस(घर एकोहोरो दैनिकीले मलाई वाक्क बनाइसकेको थियो । सही समयमा सही बुलावा आउनु एक प्रकारले एउटा चमत्कार जस्तै थियो । मानौं अस्तित्वले मेरो मनको पुकार सुनेको थियो । भनिन्छ यदि हामीले मनैदेखि कुनै इच्छा राख्छौं भने समग्र अस्तित्व त्यसलाई पूरा गर्न प्रयत्नशील हुन थाल्छ । वसन्त रञ्जितको आयोजनामा उक्त ध्यान शिविरमा काठमाण्डूका चालीस जना बुद्धिजीवी, कलमजीवी र पेशाकर्मी सहभागी थिए । लुभु लामाटारमा रिन्पोचेले तिब्बती भाषामा कुनै मंगलाचरणसँगै ध्यान शिविर आरम्भ गरे ।
पहिलो र दोस्रो दिनका सत्रहरू सामान्य रहे । एक घण्टा प्रवचन हुन्थ्यो एक घण्टा ध्यानको सेसन चल्थ्यो । बिहानदेखि साँझसम्म साधनामय शिविर थियो । जीवनको पहिलो साधना शिविर । सबै कुरा त्यसैत्यसै रोचक र ज्ञानवर्धक लागिरहेको थियो । ध्यानका निम्ति आँखा चिम्लेर मौन बसिन्थ्यो तर मनमा विचारहरू चलिरहन्थे । एउटा विचारलाई पछ्याउँदै गर्दा समय बितेको पत्तै हुँदैनथ्यो । सेसन सकिएको घण्टी लागेपछि बल्ल विचारको तरंग टुट्थ्यो र हामी फ्रेस हुनका निम्ति बाहिरतिर निस्कन्थ्यौं । लाँकुरी भञ्ज्याङमा चल्ने चिसो बतासले मन तरोताजा हुन्थ्यो । समय आफ्नै गतिमा बितिरहेको थियो । साधनाको तेस्रो दिन भने एकै छिनलाई मन ध्यानस्थ भएको रहेछ । रिन्पोचेले बजाएको घण्टीको टिनिनी आवाजसँगै मैले आँखा खोलें । जीवनमा पहिलो पटक मलाई म कहाँ छु भन्ने ठम्याउन समय लाग्यो । रिन्पोचे अगाडि मञ्चमा सधैं जस्तै मुस्कुराइरहनुभएको थियो । त्यस दिन उहाँको मुहारमा बुद्धको प्रतिबिम्ब झल्किएको थियो । हामी सहभागी साधकहरू सबै उठेर बाहिर आँगनमा ओर्लियौं । आजको बतास अर्कै थियो । बारीमा उभिएका रूखहरू देखेर मलाई अचम्म लागिरहेको थियो । एउटै रुखमा हजारौं हरिया पातरु यो कस्तो आश्चर्यरु न्याना घामका किरणहरू र धीत मर्ने गरी आँखाहरू फैलाउन मिल्ने नीलो आकाश । लामो स्वाससँगै शरीरमा प्राणवायुको जीवनदायी सञ्चार । सबै कुरा अद्भुत लागिरहेको थियो । सँगै साधनामा बसेका साथीहरू देवदूत जस्तै सुन्दर प्रतीत भइरहेका थिए । भित्रैदेखि प्रेम उमडिएर आएको थियो र सबैलाई अँगालो मार्न मन भइरहेको थियो । दृष्टि बदलिएसँगै दृश्य बदलिन्छ भन्ने आहान चरितार्थ भएको थियो । मैले लाँकुरी भञ्ज्याङको त्यस डाँडामा नयाँ जीवन पाएको महसुस गरिरहेको थिएँ ।
भनिन्छ ( मानिसको मन बन्धनको कारण हो र यही मोक्षको कारण पनि हो । प्राप्त नभएको चिज प्राप्तिको चाहना तृष्णा हो । प्राप्त भएको वस्तु नगुमोस् भन्ने चाहना लोभ हो र यी दुवै चाहनाका अन्तरमा क्रोधले टाउको उठाउने अवकाश पाउँछ । संसारका अधिकांश मानिसहरू राग, मोह र क्रोधको अग्निमा जलिरहेका हुन्छन् । म पनि त्यही अग्निमा जलिरहेको थिएँ । मोह समाप्त हुँदा गुमाउने डर पनि समाप्त हुन्छ चाहे त्यो सम्पत्ति होस्, सम्बन्ध होस् या जिन्दगी । विपस्सनाले मोह के हो भन्ने बोध सिकाएको थियो । राग, द्वेष र मोहलाई प्रतिक्रिया नगरी जस्ताको तस्तै हेर्न सके तीबाट मुक्त हुन सकिन्छ । विपस्सनाको परिभाषा यथाभूतदर्शनम् अर्थात् जीवन र जगत्लाई जस्ताको तस्तै अवलोकन गर्नु हो । लाँकुरी भञ्ज्याङमा मुक्तिको एक झलक अनुभूति आश्चर्यजनक र आल्हादकारी थियो ।
थेरी गाथामा प्रजापति गौतमीको एउटा सुन्दर प्रसङ्ग उल्लेख छ । संघ प्रवेशको तीव्र उत्कण्ठा लिएर भगवान् बुद्धलाई भेट्न हिंडेका उनीहरू कैयौं दिन जंगलमा नाङ्गा पाउ आइपुगेका थिए । बुद्धलाई बाल्यकालमा पालनपोषण गर्ने प्रजापति गौतमीले सबै उपासिकाहरूको नेतृत्व गरेकी थिइन् । आफ्नै आमाहरूको पटक पटकको आग्रह र रगतपच्छे भएका पाउहरू देखेपछि एवं भिक्षु आनन्दले समेत माताजीहरूको पक्षमा विनम्र आग्रह गरेपछि बुद्धले अनुमति दिनुभयोस स्त्रीहरूले पहिलो पटक बौद्ध संघमा प्रवेश पाए । प्रवेश पश्चात् प्रजापति गौतमीले विपस्सना ध्यान अभ्यास गर्न थालिन् शुद्ध चित्तले ध्यान गरेकी हुँदा उनका दुःखहरू समूल अन्त्य भए । उनलाई अपार शान्तिको अनुभूति भयो। त्यस अप्रतीम क्षणमा उनको मुखबाट यस्तो उद्गार प्रकट भयो –
अत्तदीपा ततो होथ सतिपठ्ठान गोचरा ।
भावेत्वा सत्तबोज्झङ्ग दुःखस्सन्तं करिस्सथ ।।
स्मृति प्रस्थानको अभ्यास गरी आफ्नो दीप आफैं बन, स्मृति(धर्मविचय(वीर्य(प्रीति(प्रश्रब्धि(समाधि(समता यी सात बोध्यङ्गहरूको भावना गरी दुःखको अन्त्य गर ।ुु महामानव बुद्धले मानव कल्याणको संकल्प सहित ध्यानको अभ्यास गर्नुभएको थियोस बुद्धत्व प्राप्तिपछि बुद्धको करुणा रूपान्तरित भएर महाकरुणा बन्यो । स्वतस्फूर्त करुणा जाग्नु महाकरुणा हो । बुद्धको महाकरुणा आज पर्यन्त दुःख, बेचैनी, अस्थिरता र असन्तोषबाट ग्रसित मानव मात्रको निम्ति कल्याणकारी छ । आफ्नो दीप आफैं बन्ने, आफ्नो कल्याण आफैं गर्न सुझाउने विपस्सना परम्परा उपलब्ध हुनु जीवनको ठूलै सौभाग्य हो यदि हामी देख्न सक्छौं भने । लाँकुरी भञ्ज्याङ ध्यान शिविरमा जीवनमा पहिलो पटक गौतमीका वचनहरूको मर्म अनुभूति भइरहेको थियो ।
भनिन्छ इच्छा बाँकी रहँदै स्वास गयो भने त्यो मृत्यु हो । स्वास रहँदै इच्छा समाप्त भए भने त्यही मोक्ष हो । सबै कुरा अनित्य छ भन्ने बोधसँगै इच्छा र तीप्रतिको आसक्ति बिलीन हुन्छ । तृष्णा नै दुःखको कारण हो भन्ने बोधसँगै दुःख बिलीन हुन्छ । तदनन्तर अनात्म बोध हुन्छ । पञ्चस्कन्धको संघातलाई आफू भन्नु बाल बुद्धि मात्र हो । हामी आफैसँग परिचित नभई मर्न पर्नु ठूलै अभाग हो सायद । कुनै कविले भनेका थिए ( खुद से भी खुलके नहीं मिलते हम । आप क्या खाक जानते हो हमें । विपस्सनाले धेरै गुन लगाएको छ त्यसमध्ये सर्वाधिक प्रिय जीवनलाई वर्तमान क्षणमा रहेर जिउने कला सिकाउनु हो । किनकि जिन्दगी समझ आइ तो अकेले में मेला, समझ नहीं आइ तो मेले में अकेला ।