काठमाडौं । साहित्यकार प्रा. डा.गोविन्दराज भट्टराईद्वारा लिखित औपन्यासिक कृति ‘नयाँ मुगलान’ सार्वजनिक गरिएको भएको छ ।
उनको पहिलो उपन्यास ‘मुगलान’ २०३१ सालमा प्रकाशित भएको थियो ।
शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा.डा.अभि सुवेदीलगायत साहित्यकारले ‘नयाँ मुगलान’ लोकार्पण गरे ।प्रा. डा. सुवेदीले प्रा.डा.भट्टराईको यो कृति एउटा गम्भीर विषयको उपन्यास भएको बताए ।
उपन्यासकार भट्टराईले हालको विषम परिस्थितिका कारण नयाँ उपन्यास ल्याएको सुनाए । आफूले यो उपन्यास सात दिनमै लेखेको उनले जानकारी गराए ।
कृतिमाथि पाठकीय टिप्पणी राख्दै प्रा. डा.कुमारप्रसाद कोइरालाले उपन्यासको शैली र शिल्पको चर्चा गरे । उनले देशको पीडाले यो उपन्यास लेखिएको बताए । यसलाई आफूले ‘काव्योपन्यास’ भन्न चाहेको उनले उल्लेख गरे ।
समालोचक महेश पौड्याल र उपन्यासकार जानुका खतिवडाले पाठकीय टिप्पणी राख्दै ‘नयाँ मुगलान’का विविध पक्षको चर्चा गरे ।
कार्यक्रममा साहित्यकार एलबी क्षेत्रीले देशको दुर्गतिको चित्रण भएको यो उपन्यास देशका सबै सांसदलाई पढ्न दिनुपर्ने बताए ।